३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पर्सामा वर्षाले २ हजार हेक्टरको धान बाली नष्ट

शंकर आचार्य

पर्सा — कृषि ज्ञान केन्द्र पर्साका अनुसार अत्याधीक वर्षाका कारण पर्सा जिल्लाभर करिब २ हजार हेक्टर जमिनको धान बाली नष्ट भएको छ । केन्द्रका प्रमुख मुनिलाल प्रसादका अनुसार मंगलबार र बुधबार गरिएको स्थलगत निरीक्षणका आधारमा उक्त क्षति विवरण संकलन भएको हो ।

पर्सामा वर्षाले २ हजार हेक्टरको धान बाली नष्ट

‘हामीले मंगलबार र बुधबार गरी २ दिन क्षतिको स्थलगत निरीक्षण गर्‍यौँ,’ उनले भने, ‘जिल्लाभर ८ हजार ५ सय हेक्टर क्षेत्रमा लगाइएको धान भदैया बालीमध्ये करिब २ हजार हेक्टरको धान बाली नष्ट भएको हाम्रो प्रारम्भिक अनुमान छ ।’

किसानले बाली भित्र्याउनका लागि काटेर खेतमा राखेको तथा पाकेर भित्र्याउन तयार भइसकेको भदैया बालीसमेत नष्ट भएको उनले बताए । पोखरीया नगरपालिका, पर्सागढी नगरपालिका, जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिकाका अधिकांश जमिनमा भदैया धानको खेती गरिएको थियो ।

यसबाहेक ठोरी गाउँपालिकामा वडा नं ५ र ४ मा सुवर्णपुर, विजयवस्ती क्षेत्रमा लगाइएको तोरी बालीसमेत नष्ट भएको उनले बताए । ‘त्यस भेगका किसानले धान बाली भित्र्याएर तोरी छरेका थिए,’ उनले भने, ‘वर्षाले धानसँगै तोरी बाली पनि नष्ट गरेको पाइयो, के कति नष्ट भएको छ त्यो भने हालसम्म यकिन भइसकेको छैन ।’

पश्चिमी जिल्लाहरुमा जस्तो ठूलो क्षति पर्सामा भने नभएको प्रसादले बताएका छन् । वर्षाले अगहनी जातको धान बालीमा भने क्षति नपुर्‍याएको किसानहरु बताउँछन् । उक्त जातको धान बाली लगाएका किसानहरुका अनुसार वर्षाले यस जातको बालीलाई लाभ नै हुने प्रसौनीका किसानहरुले बताएका छन् ।

प्रकाशित : कार्तिक ३, २०७८ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?