२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

दसैंको रमझममा रमाउँदै छ जनकपुर

श्यामसुन्दर शशि

जनकपुर — दसैंको नवौं दिन बिहीबार यहाँको प्रसिद्ध शक्तिपीठहरुमा श्रद्धालुको उल्लेख्य जमघट भयो । बुधबार अबेर राति प्रसिद्ध राजदेवी मन्दिरमा १४ हजार २ सय ९९ बोका बलि चढाइयो । साँझ ८ बजेदेखि सुरु भएको बलि प्रदान बिहीबार बिहान साढे ३ बजे सम्पन्न भएको थियो ।

दसैंको रमझममा रमाउँदै छ जनकपुर

तिथिसम्बन्धी अन्योलका कारण यस वर्ष महिलाहरुले दुई दिन खोईंछ भरे । सप्तमी तिथिमा महिलाहरु आफ्नो सन्तानको दीर्घायू तथा घर परिवारको सुख शान्तिको लागि शक्तिपीठहरुमा फल, फूल, चनाको अंकुरी, मिष्ठान्न, चुनरी तथा भगवतीको शृंगार अर्पण गरेर विशेष पूजा गर्छन् । जसलाई खोइंछ भडब भनिन्छ । यस वर्ष मंगलबार र बुधबार गरी दुई दिन खोंइछ भरिएको थियो ।

महाष्टमीको दिन राजदेवी मन्दिरमा मध्यान्हसम्म प्रसाद चढाउने परम्परा छ । श्रद्धालुहरु घन्टौ लाइनमा बसेर प्रसाद चढाएका थिए । महावीर युवा कमिटीका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादका अनुसार राति १ बजेदेखि मध्यान्हसम्म करिब ५० हजार श्रद्धालुले प्रसाद चढाएका थिए ।

मंगलबार राजदेवी मन्दिरसहितका अन्य शक्तिपीठ तथा दुर्गा प्रतिमा निर्माण गरिएगाा पूजा स्थलहरुमा फूलपाती भित्र्याइएको थियो । राजदेवी मन्दिरबाट निस्केको बाजा गाजासहितको शोभा यात्रा जनकपुर ५ पेठिया बाजारस्थित वेलको रुखबाट वेल तथा बुट्यान टिपेर मन्दिरमा भित्र्याका थिए ।

राजदेवी मन्दिरबाट सोमवार गएका गुरु पुरोहितहरु उक्त वेलको रुखलाई निम्तो दिएका थिए । स्थानीय भाषामा जसलाई बेलनौती तथा फूलपाती भित्र्याउने विधिलाई बेलतोडी भनिन्छ ।

बलिप्रदानसँगै राजदेवी मन्दिरको चहलपहलमा थोरै कमी आएको छ । १४ हजार अधिक बोका बलि प्रदान गरिएकोले मन्दिर परिसर दुर्गन्धित बनेको छ । यद्यपि मेला आयोजक महावीर युवा कमिटी र राम युवा कमिटीका स्वयंसेवक तथा जनकपुरधाम उपमहानगर पालिकाको सफाईकर्मीहरु बिहानैदेखि सफाईमा जुटेका छन् ।

राजदेवी मन्दिरको चहलपहलमा कमि आएपनि दुर्गा प्रतिमा निर्माण गरिएको रमानन्द चोक, विद्यापति चौकसहित ग्रामीण क्षेत्रमा भने आज भव्य मेला आयोजना गरिएको छ । जसमा भलिबल, फुटबल, कपर्दीलगायतका खेलहरुको प्रतियोगितासँगै सन्ध्या रंगारंग सांस्कृतिक कार्यक्रम आयोजना पनि गरिएको छ ।

यस क्रममा बुधबार राति रमानन्द युवा क्लबको आयोजनमा चर्चित मिथिला नाट्यकला परिषदका कलाकारहरुले प्रस्तुत गरेको रंगारंग कार्यक्रम अत्यन्तै मनोरम थियो । कार्यक्रममा भगवति वन्दनाका पारम्परिक, लोक तथा आधुनिक गीत र नृत्य प्रस्तुत गरिएको थियो ।

मिनापका कलाकारहरुले प्रस्तूत गरेको पारम्परिक डोमकच नृत्य प्रभावकारी थियो । सुनिल मल्लिक, ललित कामत र संगीता देवको स्वरमा सन्नी राउत, धीरज ठाकुर र सुनिताको समूहले गरेको नृत्यलाई कार्यक्रममा प्रथम दर्शक नेपाली काग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रशंसा गरेका थिए ।

प्रकाशित : आश्विन २८, २०७८ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?