१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लागूऔषध राखेर साथीलाई फसाउन खोज्दा...

उमाशंकरले पहिला लागूऔषध किने र साथीको बाइकमा राखिदिए, त्यसपछि प्रहरीलाई खबर गरेका थिए
शिव पुरी

रौतहट — इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा शुक्रबार साँझ एउटा फोन आउँछ । फोनमा सुराकी दिनेले भन्छ, ‘एक जनाको घरमा आपराधिक क्रियाकलाप हुँदै छ ।’ त्यसपछि डीएसपी लीलाराज लामिछानेको कमान्डमा टोली ‘मुभ’ हुन्छ र सुराकीले भनेको घरमा तत्कालै पुग्छ । प्रहरीले त्यहाँ रहेको मोटरसाइकलमा पोका देख्छ ।

खोलेर हेर्दा लागूऔषध फेला पार्छ । त्यसपछि मोटरसाइकल धनीलाई पक्राउ गर्छ । उनीहरू पनि आश्चर्यमा पर्छन् र सोध्छन्, ‘सर हामीले के अपराध गरेका छौं र पक्रनुभयो ।’ प्रहरी भन्छ, ‘तपाईंहरूको सवारीमा लागूऔषध फेला परेको छ ।’

फिल्मको दृश्यजस्तै लाग्ने यो घटना वास्तविक हो । सुराकीले भनेअनुसार डीएसपी लामिछानेको टोलीले चन्द्रपुर–४ टेकान टोलस्थित डाक्टर अन्जुम तैयवको घरमा पार्किङ गरिराखेको ना१९प ६४२४ नम्बरको मोटरसाइकलबाट लागूऔषध फेला पारेको थियो । प्रहरीले गुजरा–३ सिमरा टोलका २३ वर्षीय विजयशंकर तिवारी र कटहरिया–१ भसेडवाका ४२ वर्षीय रामलाल कुशवाहलाई पक्राउ पनि गर्‍यो ।

तर, आरोपितहरूसँग बयान लिएपछि भने घटना मोडियो । त्यसपछि प्रहरीले सुराकी दिने स्थानीय उमाशंकर तिवारीलाई पक्राउ गर्‍यो । बयानपछि उनले नै लागूऔषध राखिदिएर रामलाल र विजयशंकरलाई फसाउन खोजेको खुलेको छ । प्रहरीका अनुसार दुवै जना उमाशंकरलाई भेट्न चन्द्रनिगाहपुर आएका थिए । विजय र रामलाल खाजा खान बाहिर निस्केका बेला पार्किङमा राखिएको मोटरसाइकलमा लागूऔषध झुन्ड्याइएको थियो । लागूऔषध राखेकी स्थानीय नैनाकुमारी महतो मण्डलले उमाशंकरले ७० हजार दिएर लागूऔषध किनी राख्न लगाएको प्रहरीसमक्ष बताएकी छन् ।

त्यसपछि भने नियतवश लागूऔषध राखेको निष्कर्षमा प्रहरी पुगेको छ । लागूऔषध राख्ने मुख्य योजनाकार उमाशंकरका साथै उनलाई सहयोग गर्ने स्थानीय पुनम उपाध्याय, पर्सा बहुदरमाई नगरपालिका–४ बहुअरीकी सुनिता यादवलाई पक्राउ गरेको डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार आर्थिक लेनदेनको विषयमा विजयशंकर र रामलाललाई फसाउन खोजिएको थियो । उमाशंकर र रामलाल बिजनेस पार्टनर हुन् ।

‘पक्राउ परेकाहरूलाई आपराधिक षड्यन्त्र तथा लागूऔषध शीषर्कमा मुद्दा दर्ता गरेका छौं,’ उनले भने । प्रहरीले मोटरसाइकलबाट प्रतिबन्धित लागूऔषध नाइट्रोपाम ट्याब्लेट १ सय २० वटा, नाइट्रोपाम आईपी निटाभेट १ सय ८० वटा र डाइजेपाम इन्जेक्सन बरामद गरेको थियो । सुरुमै पक्राउ गरेका विजय र रामलाललाई प्रहरीले छाडिसकेको छ ।

स्थानीय पत्रकार मोजिबुल्लाहलाई प्रहरीकै संलग्नतामा लागूऔषध राखेर फसाइएको घटना सेलाउन नपाउँदै जिल्लामा सोही प्रकृतिका घटनाहरू बाहिरिन थालेका छन् । गत साउन ३२ गते पत्रकार मोजिबुल्लाहलाई प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साहको संलग्नतामा पार्किङ गरिराखेको मोटरसाइकलमा लागूऔषध राखेर फसाउने प्रयास गरिएको थियो । उक्त घटनामा यादव र साहलगायत ५ जनामाथि मुद्दा चलाइएको छ ।

प्रकाशित : आश्विन २५, २०७८ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?