३ महिनामा ९८ महिलाको उद्धार

पछिल्लो समय सामाजिक सन्जालबाट युवतीलाई फसाई भारत पुर्‍याउने प्रवृत्ति बढ्दो
शंकर आचार्य

पर्सा — सामाजिक सन्जालबाट सम्पर्कपछि भारतीय युवकको झुठो प्रेमजालमा परेकी एक युवतीको गत सोमबार वीरगन्जबाट उद्धार गरियो । चेलीबेटी बेचबिखनविरुद्ध सीमामा सक्रिय संस्था आफन्त नेपाल वीरगन्ज शाखाले सशस्त्र प्रहरीको सहयोगमा नुवाकोट घर भएकी २२ वर्षीया युवतीको उद्धार गरेको हो । 

भारत बिहार पूर्वी चम्पारण भुलाहिका ३३ का मुन्ना आलमले उनलाई भारत लग्दै गर्दा वीरगन्ज–१७ अलौंस्थित नाकाबाट नियन्त्रणमा लिइएको थियो । आलमले ती युवतीलाई केही वर्षदेखि फेक फेसबुक आइडीबाट चिनजान गरी प्रेम जालमा पारेका थिए । विवाहित आलमले ती युवतीसंग कुरा गर्दा आफू अविवाहित रहेको बताउथे । युवतीसँग विवाह गर्ने आश्वासन दिँदै आएका थिए । युवती पनि आलमले फोन मार्फत बोलाएपछि भेट्नकै लागि काठमाडौंबाट चितवनमा पुगेकी थिइनु । त्यसपछि दुवै जना वीरगन्ज आएका थिए । आलमले ती युवतीलाई बुर्खा लगाई कसैले पनि नचिन्ने गरी सीमा पार गराउन लागेका थिए । यति भ सक्दा पनि युवतीलाई आलमको वास्तविक नामसमेत थाहा थिएन ।

पछिल्लो समय नेपाली महिला बेचबिखनमा कसरी फसिरहेका छन् भन्ने कुराको उदाहरण हो । युवतीहरूलाई भारत लैजान वीरगन्ज नाकाको प्रयोग पछिल्लो समय बढिरहेको छ । बिशेष गरी कोरोनाकालसंगैको दोश्रो लकडाउन पछि यो प्रवृत्ति बढेको हो । चेलीबेटी बेचबिखन नियन्त्रणको क्षेत्रमा वीरगन्जमा कार्यरत ३ वटा संस्थाले साउन यता मात्र ९८ महिलालाई उद्धार गरिसकेका छन् । माइती नेपाली, आफन्त नेपाल र साना हातहरू नेपाल गरी ३ संस्थाले चालु आर्थिक बर्षको साउनदेखि हालसम्ममा उक्त संख्यामा महिलाहरूको उद्धार गरेको हो ।

माइती नेपालले ५४, आफन्त नेपालले ३५ र साना हातहरू नेपालले ९ जना महिलालाई उद्धार गरेका छन् । माइती नेपाल आवधिक गृह प्रमुख संगीता पुरीले कोरोनाको दोस्रो लहरसँगै लकडाउनको समाप्तिपछि चेलीबेटी बेचबिखनमा संलग्न व्यक्ति तथा गिरोह सक्रिय भएको बताइन् । ‘सार्वजनिक सवारीसाधनहरू निर्बाध रुपमा चल्न थालेको तथा सीमामा आवागमन सहज भएपछि यस्ता व्यक्ति तथा गिरोह सक्रिय भएको हुनुपर्छ,’ उनले भनिन्, ‘उद्धार गरिएका चेलीहरूमध्ये केही सामाजिक सञ्जालबाट दलालको सम्पर्कमा आएका छन् भने केही भारतीय नेटवर्किङ कम्पनीहरूमा आकर्षक लाभको लोभले सीमापारि जान खोज्ने छन् । केही भारतीय युवकहरूको प्रेम जालमा परेर भारत जान खोज्ने छन्, केही अर्केस्ट्रा नृत्य समूहमा नृत्य गर्न जान लागेकाहरू छन, जसरी जुन रूपमा भारतीय भूमिमा गए पनि उनीहरूको जीउज्यान र अस्मिता जोखिममै हुन्छ ।’

यस अवधिमा संस्थाले भारत पुगेरै पनि १७ महिलालाई उद्धार गरी स्वदेश ल्याएको उनले बताइन् । ती मध्ये १० जना १८ बर्ष मुनिका र ७ मात्र १८ बर्ष माथिका छन् । आफन्त नेपाल वीरगन्ज शाखा प्रमुख मनु रानाले पनि पछिल्लो समय सामाजिक सन्जालबाट दलालको सम्पर्कमा आएर जोखिमपूर्ण रुपमा भारत जाने प्रवृत्ति बढेको बताइन् । ‘दोश्रो लकडाउन पछि यो प्रवृत्ति डर लाग्दै रुपमा बढेको छ,’ उनले भनिन्, ‘सामाजिक सन्जालको माध्यमबाट सोझा चेलीबेटीहरू दलालको सम्पर्कमा पर्ने क्रम बढेको छ, नेपालसंगको सीमावर्ती भारतीय गाउ सहरहरूमा अश्लिल नृत्य गर्न बाध्य बनाइने अर्केष्ट्रा तथा डिजेहरूमा पनि चेलीबेटीहरू पुग्ने क्रम बढेको छ ।’

साना हातका वीरगन्ज शाखा प्रमुख बाबुराम क्षेत्रीले साउन यताको अवस्था आफूहरूलाई अत्यन्त चुनौतीपूर्ण भएको बताए । ‘यस अवधिमा दलाल तथा बेचबिखनमा संलग्न गिरोह अत्यधिक सक्रिय भएका छन्,’ उनले भने, ‘चुनौतीपूर्ण समय भएकाले हामीले आफ्नो सक्रियता र सजगता पनि बढाएका छौं ।

प्रकाशित : आश्विन २५, २०७८ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?