कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वन्यजन्तुको आक्रमण बढ्यो

शिव पुरी

रौतहट — राष्ट्रिय वन क्षेत्रभित्र बाघलगायत वन्यजन्तु बढेसँगै लगातार आक्रमण हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । डिभिजन वन कार्यालयले स्थानीयलाई घाँसदाउरा गर्न जंगल प्रवेशमा रोक लगाए पनि अवज्ञा गर्दै आएका छन् । यही कारण आक्रमणको सिकार बनेका हुन् । 

वन्यजन्तुको आक्रमण बढ्यो

चन्द्रपुर–६ स्थित लमाह खोला नजिकको जंगलमा बिहीबार घाँस लिन गएका चन्द्रपुर–६ का यज्ञबहादुर रायमाझीलाई पाटेबाघले आक्रमण गर्‍यो । उनको दुवै हातमा चोट लागेको छ । बाघले आक्रमणको प्रयास गर्दा नङ्ग्राले चिथोरेर हातमा गहिरो चोट लागेको हो । साइकलमा ७ जनाको समूहमा घाँस/दाउरा गर्न गएका रायमाझीसहितको टोलीले लमाहा पुल पारी कालिखोला नजिकै पुग्दा बाघ कराएको सुने । त्यसपछि उनले दाउरा काट्न लगेको बन्चरो तयारी अवस्थामा राखे । अचानक बाघ अगाडि आएपछि उनले बन्चरो प्रहार गरे । र, भुइँमा लडे । उनी लडकै बेला बाघले नङ्ग्राले हानेर भागेको रायमाझीले बताए । ‘सुरुमै मैले बन्चरो प्रहार गरेको भएर बाघ पछि हट्यो,’ उनले भने, ‘बाघको पनि मुखमा चोट लागेको हुनुपर्छ । कालको मुखबाट जोगिएँ ।’ बन्चरो प्रहारपछि बाघ केही पछि हटेको थियो ।

२०७७ असोज १३ गते साँझ चन्द्रपुर नगरपालिका–६ चिम्निटोलका संगम भण्डारीको घरनजिकैको जंगलमा बाघले आक्रमण गरेपछि ज्यान गयो । घाँस लिन जंगल गएका भण्डारी, उनका साथी प्रविन श्रेष्ठ र अशोक थापालाई बाघले आक्रमण गरेको हो । बाघको पन्जाले चिथोरेर दुवै कान, छाती, गालामा चोट लागेको थियो । भण्डारीलाई बाघले घिसारेर लगेको थियो । पछि मृत अवस्थामा फेला पारेको थियो । एक महिनाअघि गैंडाटारका स्थानिय कान्छा भोलन बाघको आक्रमणबाट जोगिए । जंगलमा बाख्रा चराउन गएका उनी बाघको नजिकै पुगेका भएपनि जसोतसो भाग्न सफल भएका थिए । चन्द्रपुर–१ पौराईका हीरालाल

खड्कालाई तीन साताअघि बाघले आक्रमण गरी घाइते बनाएको थियो । जंगलमा घाँस लिन गएका खड्का बाघको आक्रमणमा परे पनि ज्यान जोगाउन सफल भए ।

डिभिजन वन चन्द्रनिगाहपुरका निमित्त प्रमुख अमरदेव यादवले पछिल्लो समय राष्ट्रिय वनभित्र वन्यजन्तुको संख्या बढेसँगै स्थानीयमाथि आक्रमणका घट्ना बढेका जनाए । ‘पाटे बाघको संख्या पनि बढेको छ । चितुवा, भालु लगायतका वन्यजन्तु जंगलमा छन्,’ उनले भने, ‘केही समय जंगल प्रवेशमा रोक लगाइएको भए पनि स्थानीयले टेरेका छैनन् ।’ पछिल्लो ६ महिनामा बाघको आक्रमणका ४ वटा घटना भएका उनले जनाए ।

वन कार्यालयले विभिन्न एफएम र स्थानीय पत्रपत्रिकामा सूचना निकालेर वन्यजन्तुको चहलपहल बढेकाले आक्रमणको जोखिमबाट बच्न वनभित्र नपस्न आग्रह गर्दै आएको छ । तर स्थानीयले टेरेका छैनन् । एक वर्षअघिदेखि सुरु गरिएको गणनामा रौतहटको वनभित्र ४ वटा वयस्क बाघ भेटिएका थिए ।

प्रकाशित : आश्विन २४, २०७८ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?