३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

रौतहटमा हतियारधारी समूहद्वारा लुटपाट

आमाछोरालाई आक्रमण गरी ३ लाख र ३ तोला सुन लुटियो
शिव पुरी

रौतहट — हतियारसहित आएको समूहले रौतहटको गरुडा नगरपालिका–७ पिपरिया टोलमा शनिबार बिहान १ बजे लुटपाट गरेका छन् । उनीहरुले घरका सदस्यमाथि आक्रमण गरी नगद तथा गरगहना लुटेर लगेको प्रहरीले जनाएको छ ।  

पिपरियाका रामईश्वर यादवको घरमा १०/११ जनाको समूहमा आएका हतियारधारी समूहले घरको भेन्टिलेटरको जाली फुटाई भित्र पसेर लुटेका हुन् । उक्त समूह भित्र प्रवेश गर्नासाथ ४५ वर्षीया चम्पादेवी र उनका छोरा २५ वर्षीय पवन यादवमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएको इलाका प्रहरी गरुडाका डीएसपीका श्रीराम भण्डारीले बताए । ‘हतियारधारी समूहको पहिचान गर्न विभिन्न स्थानमा टोली परिचालन गरेका छौँ,’ उनले भने, ‘चाँडै नै घटनामा संलग्नलाई पक्राउ गर्छौं।’

प्रहरीका अनुसार चम्पादेवीको टाउकोमा ३ वटा र छोरा पवनको ९ वटा टाँका लगाइएको छ । पवनलाई गहिरो चोट लागेकोले थप उपचारका लागि वीरगन्ज पठाइएको डीएसपी भण्डारीले बताए । घरधनी यादवले केही दिनअघि मात्र जग्गा बेचेर राखेको नगद ३ लाख रुपैयाँ र ३ तोला सुनसमेत डाँकाहरूले लुटेर लगेको प्रहरीसमक्ष बताएका छन् ।

घटनाबारे सूचना पाएलगत्तै इलाका प्रहरी चन्द्रनिगाहपुरबाट समेत टोली पठाइएको थियो । बिहान नै प्रहरीले केही स्थानमा सर्च गरेको छ । पर्व नजिकिँदै गर्दा लुटपाटका घटनाहरु हुने गरेको छ ।

प्रकाशित : आश्विन २३, २०७८ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?