अतिक्रमण रोक्न खोज्दा अवरोध

शिव पुरी

रौतहट — डिभिजन वन कार्यालय रौतहटले चुरे क्षेत्रमा अतिक्रमण रोक्न पहिलो चरणमा अतिक्रमणकारीले लगाएको तारबार हटाउने अभियान थालेको छ । असोज ३ गतेदेखि कार्यालयले यो अभियान थालेको हो । तर, अतिक्रमणकारीको अवरोधले अभियान सञ्चालनमा समस्या भइरहेको वन कार्यालयले जनाएको छ ।

अतिक्रमण रोक्न खोज्दा अवरोध

वन कार्यालयको टोलीले चुरेस्थित राष्ट्रिय वन क्षेत्र अतिक्रण गरेर लगाइएको तारबार हटाए पनि अतिक्रमणकारीले रातारात लगाउने गरेका हुन् । वनको टोली घेराबेरा भत्काएर नफर्किंदै अतिक्रमणकारी लगाइसक्छन् । दुई सातादेखि वनको टोली र अतिक्रमणकारीबीच यस्तै दोहोरी चलेको छ । पछिल्लो केही समययता आफूलाई सुकुम्बासी भन्नेहरू चुरे क्षेत्रमा तारबार लगाउँदै ठूलाठूला पक्की घर बनाउन थालेपछि वन कार्यालयले हटाउने अभियान थालेको हो ।

सुरक्षा दस्तासहित चुरे क्षेत्रमा पुगेर दुई सातादेखि अभियानकै रूपमा अतिक्रमण हटाउँदै आए पनि उनीहरूले हैरान पारेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका निमित्त प्रमुख अमरदेव यादवले बताए । ‘दिनभर खटेर तारबार उखेलेर आउँछौं । अर्को दिन पुग्दा रातभर लगाएर जस्ताको त्यस्तै बनाउँदा रहेछन्,’ उनले भने, ‘लामो समयदेखि संस्थागत रूपमा माफियाहरू चुरे क्षेत्रमा अतिक्रमणका लागि सक्रिय छन् । उनीहरूलाई अतिक्रमणबाट पछि हटाउने अभियान चलाएका छौ ।’

वन कार्यालयको टोलीमाथि जाइलाग्न महिलाहरू अग्रसर हुन्छ । यही कारण वन कार्यालयले नेपाल प्रहरीको महिलालाई टोलीमा समावेश पनि गरेको छ । पछिल्लो समय वनले तार र बेरामा प्रयोग हुने काठ उठाएर ल्याइरहेको छ । टोली पुगेपछि अतिक्रमणकारी भाग्ने गरेको वन कार्यालयले जनायो । ‘अब धमाधम मानिस पक्रेर कारबाही गर्छौं,’ वन प्रमुख यादवले भने, ‘राष्ट्रिय वन क्षेत्र मासेर घर बनाउने अनि उल्टै दुःख दिने ? अब खोजीखोजी मानिस पक्रन्छौं ।’ पछिल्लो समय चुरे अतिक्रमण गरी बसेकाले राष्ट्रिय वनभित्रै पक्की घर बनाएका छन् । उनीहरू निर्धक्क र निर्वाध रूपमा भौतिक संरचना निर्माण गरिरहेका छन् ।

चुरे क्षेत्रको भोलनटार, अरुणबस्ती, इपिलिघारी, महादेवडाडा, स्वस्तीलगायत क्षेत्रमा सुकुम्बासी भनाउँदाहरू रातारात अक्रिमणमा सक्रिय रहेको वन कार्यालयले जनाएको छ । त्यस क्षेत्र पुग्यो भने सुकुम्बासी बस्ती जस्तो देखिँदैन । त्यहाँ थुप्रै पक्की घर छन् । डिभिजन वन कार्यालयका अनुसार १ हजार ४ सय २५ हेक्टर चुरे क्षेत्र अतिक्रमणमा परेको छ । त्यस क्षेत्रमा बसोबास गर्ने सुकुम्बासीले चुरे कब्जा गरी रुख काटेर खेती लगाउँदै आएका छन् । सरकारले अघि सारेको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमसमेत त्यस क्षेत्रमा गर्न दिएका छैनन् ।

वन मन्त्रालय, स्थानीय प्रशासन र नगरपालिकालाई अतिक्रमण हटाउने अभियानबारे वन कार्यालयले जानकारी गराएको छ । रौतहट र मकवानपुर सीमा भएकाले अतिक्रमणमा छिमेकी जिल्लाका मानिसको संलग्नता रहेको वनको बुझाइ छ । यस क्षेत्रमा वनका कर्मचारी एक्लै जान डराउँछन् । समूह र दलबलसहित पुगे भने मात्र उनीहरू पछि हट्छन् । वनका थोरै कर्मचारी देखे दुर्व्यवहार गर्न अघि सर्छन् । ७ वर्षअघि वन कार्यालयले चुरे क्षेत्रको अतिक्रमण खाली गराउने अभियान थालेको थियो । राजनीतिक दबाबका कारण त्यस बेला हटाउन सकेन् । अतिक्रण तीव्र बनाउँदै गएको बेला वन कार्यालयले केही मानिसलाई पक्रेर कारबाही समेत गर्‍यो । केही समय त्यस भेगका मानिस चुप बसे । फेरि राष्ट्रिय वन क्षेत्रको सिमाना बढाएर अतिक्रमण गर्ने, पक्की घर बनाउने, अन्नबाली लगाउने जस्ता हर्कत गर्न थालेका छन् ।

डिभिजन वन कार्यालयअन्तर्गतको धन्सार, गैंडाटार र पौराईको चुरे भेग सबैभन्दा बढी अतिक्रमणको चपेटामा परेको छ । रौतहटको कुल २९ हजार ४ सय हेक्टर वन क्षेत्रमध्ये ३ हजार १ सय ९० हेक्टर अतिक्रमणमा परेको छ । चन्द्रपुर ३ गैंडाटार पारी मोरङेदेखि भोलनटारसम्म झन्डै १३ किलोमिटर चुरे क्षेत्रमा बाक्लो बस्ती छ । अहिले चुरेको घरघरमा विद्युत् पुर्‍याइएको छ । स्थानीयले चुरेको ढिस्का भत्काएर बाटोसमेत बनाउन थालेका छन् ।

अरुण बस्तीका सुकमान तामाङले मकवानपुरको धियालबाट खेदिएपछि रौतहटको सीमा क्षेत्रमा वन मासेर घर बनाएको सुनाए । ‘आफ्नो नम्बरी जग्गा छैन । वन मिचेर अन्नबाली लगायौं । सानो झुपडी पनि बनायौं,’ उनले भने, ‘वनले आएर हट भन्छ । अब कहाँ जाने ?’

प्रकाशित : आश्विन २१, २०७८ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?