कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अख्तियारले प्रदेश सरकारलाई बद्‍नाम बनाउन खोज्यो : मुख्यमन्त्री राउत

सन्तोष सिंह

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश सरकारलाई बद्नाम गर्न जालझेल गरेको टिप्पणी गरेका छन् । प्रदेश सभालाई समबोधन गर्दे मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई बदनाम हुने षड्यन्त्र भएको बताए ।

अख्तियारले प्रदेश सरकारलाई बद्‍नाम बनाउन खोज्यो : मुख्यमन्त्री राउत

मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत साइकल वितरण कार्यक्रमलाई विवादित बनाउने राजनीति षड्यन्त्र भएको उनले आरोप लगाए । प्रदेश सभाबाट पारित बजेट कार्यान्वयन मुख्यमन्त्रीले गर्ने होइन, राउतले भने, ‘मुख्यमन्त्री र प्रदेश सरकारलाई जालझेल गरी बद्नाम गरिएको छ । सरकारविरुद्ध षड्यन्त्र भएको छ ।’

मुख्यमन्त्री कार्यालयले प्रक्रिया पूरा गरी साइकल खरिद गरेको कागजात प्रदेश सांसदलाई देखाउँदै मुख्यमन्त्री राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर प्रदेश सरकारको गरिमामाथि प्रहार गरेको बताए । ‘अख्तियारको छापा संस्था माथिको आक्रमण हो,’ राउतले भने, ‘अख्तियारले पत्र नै नपठाइ छापा मारे । यो व्यवहार ठीक हो त ? प्रदेशको सिंहदरबारको अख्तियारले छापा मार्न मिल्छ ?’ आयोगले समन्वय गरेको भए आफै सबै कागजात उपलब्ध गराउने पनि उनको भनाइ थियो ।

साइकल खरिदको लागत र कम्पनी सार्वजनिक

प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले वितरण गरेको साइकलले प्रदेशको छोरीको सुरक्षा र शिक्षामा सहयोग भएको बताए । इबिडिङ गरी न्यूनतम मूल्यमा साइकल खरिद गरिए पनि साइकल खरिदलाई विवादित बनाएको आरोप लगाए । ‘सुशासनका लागि प्रतिबद्ध म आफै अनुसन्धानमा सहयोग गर्न तयार छु,’ मुख्यमन्त्री राउतले भने, ‘जालझेल गरी प्रदेश सरकारमाथि आक्रामण भयो । मुख्यमन्त्री कार्यालयमा आउँदा समन्वय हुनुपर्थ्यो । कार्यालयमा अपनाएको प्रक्रिया सही भएन ।’

कर्मचारीको असहयोग र जनशक्ति अभावका कारण प्रदेश सरकारका चर्चित अभियानहरु प्रभावित भएको राउतले आरोप लगाए । ‘कर्मचारीबाट पाउनु पर्ने सहयोग नपाउनु र न्यून कर्मचारीका कारण सरकारलाई सिस्टम बसाल्न समस्या भएको छ,’ मुख्यमन्त्री राउतले भने, ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ कर्मचारीकै असहयोगका कारण प्रभावित भएको छ ।’

अभियानअन्तर्गत प्रदेशमा जन्मिने छोरीहरुको बिमा कार्यक्रम कर्मचारीकै कारण अवरुद्ध भएको राउतले आरोप लगाए । प्रदेश सरकारले ल्याएको ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ले अन्य प्रदेशलाई समेत पाठ सिकाएको बताउँदै छोरी बिमा कार्यक्रम प्राविधिक कारणले अगाडि बढ्न नसकेको बताए । एक लाखबाट सुरु भएको छोरी बिमा कार्याक्रम तीन लाख पुगेको जानकारी गराउँदै प्राविधिक कारणले अभियान रोकिएको बताए । साढे तीन वर्षमा प्रदेश सरकारले सीमित स्रोत साधनबाट उदाहरणीय काम र प्रदेशका लागि आवश्यक उत्कृष्ट कानुन बनाएको राउतले दाबी गरे ।

प्रदेशसभाको सातौ अभिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले पठाएको पत्र पढेर सभामुख सरोजकुमार यादवले जानकारी गराएका थिए । प्रदेश प्रमुखको कार्यालयबाट प्रदेशसभामा प्राप्त छैटौं अधिवेशन अन्त, सातौँ अधिवेशन आह्वान, मन्त्रिपरिषद पुनर्गठन बारेको पत्र सभामुखले वाचन गरेका थिए । प्रदेशसभामा मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदैछन् । सातौँ अधिवेशनको पहिलो बैठकमा दलका सांसदहरुलाई बोल्ने समय दियएको छ । दोस्रो बैठकमा राउतले विश्वासको मत लिने छ ।

प्रकाशित : आश्विन २०, २०७८ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?