साइकल खरिदको लागत र कम्पनी सार्वजनिक

मुख्यमन्त्री राउतले भने, 'साइकल खरिदमा कुनै अनियमितता छैन । मेरो छवि बद्‍नाम गराउन छापा मारियो ।' 
अजित तिवारी

जनकपुर — प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिद प्रक्रियामा कुनै अनियमितता नभएको दाबी गर्दै खरिद प्रक्रिया र कम्पनीको नाम सार्वजनिक गरेको छ ।‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रालाई वितरणका लागि खरिद गरिएको साइकलमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको एक सातापछि साइकल खरिदसम्बन्धी सबै कागजात सार्वजनिक गरिएको हो ।

साइकल खरिदको लागत र कम्पनी सार्वजनिक

मुख्यमन्त्री लालबाबु राउतले बुधबार बस्ने प्रदेश सभाको बैठकमा विशेष समय लिएर साइकल खरिद प्रकरणमा आफ्नो धारणा राख्दै छन् ।

साइकल खरिदका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा दुई खेपमा २७ हजार २ सय ३८ साइकल खरिद गरेको थियो । मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणमा पहिलो लटको १७ हजार २ सय ३८ साइकल खरिदका लागि ५ वटा कम्पनीले टेन्डर कबोल गरेको थियो । ओम सत्य साई प्रालि पर्साले प्रति थान ५ हजार ७ सय, सान्यो इन्टरनेसनल जेभी काठमाडौंले ७ हजार ५ सय ७६ रुपैयाँ, द डिजाइनर्स नेपाल भरतपुरले ६ हजार ८ सय ३१ रुपैयाँ, म्याप इन्टरप्रिन्युर्स काठमाण्डौंले ६ हजार १ सय ५० र विकास जेनरल ट्रेडिङ जनकपुरले ८ हजार ५ सय १ रुपैयाँ प्रतिसाइकल खरिद गर्ने टेन्डर हालेका थिए ।

‘बेटी’का नाममा समेत अनियमितता

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबैभन्दा कम कबोल गरेका ओम सत्य साई प्रालिलाई साइकल खरिदको सहमति दिएको थियो । प्रालिले भारतीय कम्पनी अम्बिकामार्फत ९ करोड ८२ लाख ५६ हजार ५ सय ४८ रुपैयाँमा १७ हजार २ सय ३८ साइकल खरिद गरेको थियो । यस्तै, दोस्रो लटमा खरिद गरिएको १० हजार साइकलको इबिडिङमा तीनवटा कम्पनीले टेन्डर कबोल गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

पहिलो लटमा साइकल खरिदको ठेक्का पाएका ओम सत्य साई प्रालिले दोस्रो लटको साइकल खरिदको ठेक्कामा प्रतिसाइकल ७ हजार ५ सय, सान्यो इन्टरनेसनलले प्रतिसाइकल ७ हजार ४ सय ७५ रुपैयाँ र म्याप हेलिक्स जेभी काठमाडौंले पनि टेन्डर हालेकोमा उनको कागजी प्रक्रिया नपुग्दा रद्द गरिएको थियो । दोस्रो लटको साइकल खरिदमा कम मूल्य कबोल गरेका सान्यो इन्टरनेसनलले भारतीय कम्पनी हाई इन्ड ब्राण्डको साइकल खरिद गरेको थियो ।

‘साइकल खरिदको सबै प्रक्रिया कानुनबमोजिम नै भएको हो । कहीँकतै खरिदमा समस्या देखिन्न,’ मुख्यमन्त्री राउतले इकान्तिपुरसँग भने,‘मेरो छविलाई बद्नाम गराउन नियतवश अख्तियारको छापा मार्न लगाइयो ।’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा पहिलो लटभन्दा दोस्रो लटको साइकल एक केजी हेभी र अत्याधुनिक रहेकाले प्रतिसाइकल खरिद मूल्य बढेको दाबी गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिद गर्दा प्रचलित खरिद कानुन पूर्णरुपमा पालना गरी प्राविधिकबाट तयार गरिएको स्पेसिफिकेसन र लागत अनुमानका आधारमा विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरिएको दाबी गरेको छ । ‘दोस्रो लटमा खरिद गरिएको साइकलको खरिद मूल्य बढनुको ३ कारण छ,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको कागजातमा भनिएको छ,‘प्राविधिक स्पेसिफिकेशसनमा साइकलको नेट कुल तौल १९ किलो छ ।

उत्पादन कम्पनीको ब्रान्ड अनिवार्य उल्लेख गर्नुपर्दा स्पेसिफिकेसनस्तरीय बनाइको छ । र, तेस्रो कारण, अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य ४० प्रतिशतभन्दा बढी बढेकाले साइकल खरिदको लागत बढेको हो ।’

प्रकाशित : आश्विन २०, २०७८ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?