कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

विश्वासको मत लिँदै मुख्यमन्त्री राउत

चार दलको गठबन्धनले प्रदेश सरकार बलियो स्थितिमा
सन्तोष सिंह

धनुषा — दल विभाजनपछि झन् शक्तिशाली बनेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार प्रदेशसभाको बैठकमा विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री राउतले प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी विभाजन भएको ३० दिनभित्र राउतले विश्वासको मत लिने प्रस्ताव पेस गरेको प्रदेशसभा संसद् सचिवालयले जनाएको छ । 

विश्वासको मत लिँदै मुख्यमन्त्री राउत

तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीको गठबन्धन सरकारमा राउत मुख्यमन्त्री बनेका थिए । पछि, दुवै दल मिलेर बनेको जसपाबाट पनि राउत नै मुख्यमन्त्री रहे । जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि मुख्यमन्त्री राउतले प्रदेशसभा संसद् सचिवालयलाई पत्र पठाएर विश्वासको मतका लागि प्रस्ताव राख्ने जनाएका थिए ।

अहिले मुख्यमन्त्री राउतसँग दुई तिहाइभन्दा बढी मत छ । पार्टी विभाजनसँगै राउतले आफ्ना सरकारमा कांग्रेस र माओवादी (केन्द्र) लाई समावेश गरिसकेका छन् भने छिट्टै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने तयारी भइरहेको छ ।

यी चारैवटा दलसँग प्रदेशको दुई तिहाइभन्दा बढी सांसद छन् । प्रदेशसभामा १ सय ४ जना सांसद रहेकाले मुख्यमन्त्री राउतलाई विश्वासको प्रस्तावको पक्षमा बहुमतका लागि ५३ मत आवश्यक पर्नेछ । प्रदेशसभामा सतापक्ष जसपाको ३८, कांग्रेसको १९, माओवादीको ८ जना सांसद छन् । १३ जना प्रदेश सांसद रहेको एकीकृत समाजवादीले पनि सरकारलाई समर्थन गरेको छ । प्रमुख प्रतिपक्ष दलका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को १६ र प्रतिपक्ष नेकपा एमालेको ८ जना सांसद छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले सातौं अधिवेशन आह्वान गरेपछि अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री राउतको विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची राखिने प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए । त्यसपछि सांसदलाई पक्ष र विपक्षमा हस्ताक्षर गराउने तयारी संसद् सचिवालयको छ । बुधबार अधिवेशनको पहिलो दिन प्रदेशसभाको २ पटक बैठक बस्नेछ । पहिलो बैठकमा शुभकामना र दोस्रो बैठकमा मुख्यमन्त्रीको प्रस्ताव पेस हुने संसद् सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीले संविधानको धारा १८८ अनुसार दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ । निर्वाचन आयोगले भदौ ९ गते जसपा विभाजन भएर लोसपा गठन भएको र प्रदेश सांसदहरू सनाखत गरेको जानकारी भदौ २५ गते प्रदेशसभालाई दिएको छ । दल विभाजनको मिति भदौ ९ लाई मानेको खण्डमा मुख्यमन्त्रीले विश्वासको मत लिने समय असोज ७ गतेसम्म मात्रै थियो । मुख्यमन्त्रीले प्रदेश सांसद सनाखत गरेको विवरण प्रदेशसभालाई पठाएको मितिले ३० दिनभित्र विश्वासको मत लिन लागेका हुन् ।

लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री नेतृत्वको सरकार यही कारणले अवैधानिक रहेको दाबी गरे । ‘यो प्रदेश सरकार संविधानको धारा १८८ को उपधार २ को व्याख्यालाई अपव्याख्या गरी चलेको छ’, नेता सोनलले भने, ‘निर्वाचन आयोगबाट भदौ ९ गते लोसपाले प्रमाणपत्र लिएको थियो । दल विभाजन ९ गते नै भयो । विश्वासको मत असोज ७ सम्म लिनुपर्ने थियो ।’

निर्वाचन आयोगले दल विभाजनको मिति भदौ ९ गतेलाई मानेको प्रदेशसभा संसद् सचिवालयका यादवले बताए । ‘लोसपा रोजेका प्रदेश सांसद भदौ २२ सम्म जसपाकै थिए,’ निमित्त सचिव यादवले भने, ‘२२ गतेअघि त जसपा संसदीय दलकै ह्वीप लाग्थ्यो । प्रदेश सांसदहरू जसपाबाट छुट्टिएर लोसपा रोजेपछि भदौ २५ पछि मुख्यमन्त्रीले विश्वासको मत लिन सक्नुहुन्थ्यो ।’ नेकपा एमालेका सचेतक किशोरी साहले मुख्यमन्त्रीले प्रदेशसभामा राख्ने विश्वसको मत प्रस्तावमा एमालेका सांसदले विपक्षमा मत हाल्ने बताए । ‘मुख्यमन्त्रीको पक्षमा प्रस्ट बहुमत छ,’ साहले भने, ‘प्रदेशसभाबाट मुख्यमन्त्रीज्यूले विश्वासको मत पाउनेछन् ।

प्रकाशित : आश्विन २०, २०७८ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?