भारतसँगको सम्बन्ध विशिष्ट प्रकृतिको हो, हस्तक्षेप भन्न मिल्दैन : ठाकुर

भारत वा चीनको गुलामी गर्न जरुरी छैन – महतो
अवधेशकुमार झा

राजविराज — लाेकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल–भारतको सम्बन्ध विशिष्ट प्रकृतिको भएको बताएका छन् । नेपालको राजनीतिमा भारतको चिन्तालाई हस्तक्षेप वा प्रभाव भन्न नमिल्ने उनले बताए ।

भारतसँगको सम्बन्ध विशिष्ट प्रकृतिको हो, हस्तक्षेप भन्न मिल्दैन : ठाकुर

सप्तरीको राजविराजमा सोमबार सञ्चारकर्मीहरुसित कुरा गर्दै अध्यक्ष ठाकुरले भने, ‘भारत हाम्रो छिमेकी हो, भारतसँग घरआँगनको विशिष्ट प्रकारको सम्बन्ध छ । नेपाली समस्यामा पर्दा भारतको सहयोग खोज्छौं । भारतले सहयोग पनि गर्छ । त्यसलाई भारतीय हस्तक्षेप वा प्रभाव भन्न मिल्दैन ।’

नेपालमा राजनीतिक वा अन्य कुनै समस्या हुँदा भारतको चिन्ता स्वभाविक भएको पनि उनले बताए । उनले भने, ‘यसअघि पनि विभिन्न आन्दोलनका समयमा नेताहरुले भारतको सहयोग लिएकै हुन् । हामी पनि आन्दोलनमा हुँदा भारतको सहयोग पाएका हौं ।’ नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेको हालै प्रकाशित पुस्तकको सन्दर्भका बारेमा सोधिएको प्रश्नको जवाफमा ठाकुरले उक्त कुरा बताएका हुन् ।

यी पनि पढ्नुहोस् :

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई पनि भागबण्डा मिलेको भन्ने चर्चाबारे अध्यक्ष ठाकुरले भने, ‘न्यायपालिका पनि राज्यकै अंग हो । स्टेटको चरित्रभन्दा न्यायपालिकाको चरित्र पनि भिन्न छैन ।’ आफूहरुको प्राथमिकतामा माग र मुद्दा मात्र रहेको बताउँदै ठाकुरले केपी शर्मा ओली नेतृत्वको चुनावी सरकारमा मात्र आफूहरु सहभागी भएको बताए । ‘हाम्रो माग र मुद्दा समाधान गर्ने तयारीपछि केपी ओली नेतृत्वको चुनावी सरकारमा हामी सहभागी भएका हौं, ’ठाकुरले भने, ‘हाम्रा लागि सबै दल उस्तै हुन् ।’

पत्रकार सम्मेलनमा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालीले भारत वा चीन कसैको गुलामी गर्न जरुरी नरहेको बताए । ‘चीन पनि नेपालको मित्र हो । उससँग पनि मित्रता कायम राख्नुपर्छ । भारतसँग घरआँगनको विशिष्ट प्रकृतिको समबन्ध छ । त्यसलाई कायम राख्नुपर्छ,’ महतोले भने, 'तर चीन वा भारत कसैको गुलामी गर्नु जरुरी छैन ।’

जनता समाजवादी पार्टी मधेसलाई कमजोर गर्ने, खण्डित गर्ने र विभाजन गर्ने पार्टी भएकाले आगामी निर्वाचनमा उक्त पार्टीसँग गठबन्धनको सम्भावना कम रहेको बताउँदै महतोले उपेन्द्र यादवले मधेसको मुद्दालाई कमजोर बनाएको आरोप लगाए ।

प्रकाशित : आश्विन १८, २०७८ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?