कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्दरगाहमा बढेन चहलपहल

कान्तिपुर संवाददाता

पर्सा — दसैंतिहार, छठजस्ता ठूला चाडपर्व नजिकिए पनि वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा चहलपहल झनै घटेको छ । अघिल्ला वर्ष यी चाड नजिकिँदा लत्ताकपडा, दीपावलीको बत्ति, जुत्तालगायतका वस्तुको आयात बढ्ने गर्थ्यो । 

बन्दरगाहमा बढेन चहलपहल

यस वर्ष भने चहलपहल झनै घट्दो छ । बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत चूडामणि शर्मा कट्टेलले २ सातायता बन्दरगाहको चहलपहल घटेको बताए । ‘अघिल्ला वर्षहरूमा चाडपर्व नजिकिएसँगै पर्व लक्षित वस्तुहरूको आयात बढ्थ्यो, यस वर्ष भने त्यस्तो भएन,’ उनले भने, ‘दुई साता अघिसम्म दैनिक १ सय १० देखि १ सय १५ वटा कन्साइन्मेन्टको घोषणा हुने गरेकोमा, हाल भने त्यो घटेर दैनिक ६० देखि ७५ वटामा झरेको छ ।’

यो तेस्रो मुलुकबाट मालवस्तु आयात हुने मुलुककै मुख्य नाका हो । समुद्री मार्गबाट भारतको कोलकाता, हल्दिया तथा बिशाखापटनम बन्दरगाहसम्म आउने मालबाहक कन्टेनर त्यहाबाट रेलमा ढुवानी गरेर सुक्खा बन्दरगाहसम्म ल्याइन्छ । रेलबाट मालवस्तु ढुवानी सस्तो र भरपर्दो मानिन्छ । कोभिड महामारीसँगै विश्वव्यापी रूपमै कतिपय वस्तुको उत्पादन र मागसमेत घटेकाले त्यसको असर हाल देखिएको हुन सक्ने कट्टेलको अनुमान छ ।

यसबाहेक रसुवा नाका हाल सञ्चालनमा आइसकेको र दसैं लक्षित लत्ताकपडा, जुत्ता तथा अन्य चिनियाँ वस्तुहरू त्यही नाकाबाट भित्रिन थालिसकेकाले आयातकर्ताले यो नाका प्रयोग नगरेको हुन सक्ने उनले बताए ।

असार १५ सम्म राजस्व संकलन लयमै रहेपनि त्यसयता भने ओरालो लाग्दै गएको कट्टेल बताउँछन् । असोज महिनामा ४ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको यो भन्सारले असोज १५ सम्ममा २ अर्ब १७ करोड रुपैयाँ उठाएको छ । जुन मासिक लक्ष्यको ५१ दशमलव ५५ प्रतिशत हो । त्यसपछि भने दैनिक राजस्व संकलन घट्दो क्रममा रहेको र यसै महिनामा दसैंको बिदा पनि पर्ने भएकाले मासिक लक्ष्य भेट्टाउन सम्भव नहुने पनि उनले बताए । हाल पनि यो भन्सारबाट दैनिक २ वटासम्म नयाँ कार/जिप जाँचपास भइरहे पनि राजस्व असुली उत्साहजनक रूपमा हुन नसकेको उनको भनाइ छ ।

नियमित आयात हुने फलाम, गेडागुडी, मदिरा वस्तुको आयात भने नघटेको उनले बताए । यसअघि चालु आवको पहिलो अर्थात् साउनमा यो भन्सारले मासिक राजस्व असुली लक्ष्य भेट्टाएको र भदौमा लक्ष्यभन्दा करिब ३ प्रतिशत मात्र कम राजस्व संकलन भएको उनले जानकारी दिए ।

प्रकाशित : आश्विन १८, २०७८ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?