२० विद्यालयमा खेल मैदान र प्रशिक्षक- प्रदेश २ - कान्तिपुर समाचार

२० विद्यालयमा खेल मैदान र प्रशिक्षक

हरेक मैदानलाई ५० लाख बजेट
सन्तोष सिंह

धनुषा — प्रदेश २ सरकारले ८ जिल्लाका २० विद्यालयमा खेलकुद मैदान बनाउने भएको छ । महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले ती विद्यालयमा खेलकुद प्रशिक्षक राख्ने तयारी पनि गरेको छ ।

मैदान नहुँदा खेलकुद गतिविधि कम भएकाले विद्यालय र जिल्लास्तरमा मैदान बनाएर प्रदेशस्तरको खेलकुद गतिविधि बढाउन मन्त्रालयले योजना बनाएको हो । ती खेलकुद मैदानका लागि डीपीआर बनाउने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

हरेक खेल मैदानका लागि ५० लाखको दरले बजेट छुट्याएको महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले बताए । ‘खेलकुदको गतिविधि फर्मालिटिमा सीमित भएको छ । खेल मैदान र कभर्डहल प्रयोगविहीन छ । खेलकुद प्रशिक्षक फुर्सदिला छन्,’ मन्त्री सिंहले भने, ‘त्यसैले खेलकुदको विकास र उत्थानका लागि विद्यालय तहबाटै प्रतिभाशाली खेलाडी छनोट गर्न खेलकुद गतिविधिलाई अगाडि बढाउने योजना ल्याएको छु ।’

प्रदेशका कर्भडहल गोदाममा परिणत भएको र खेलकुद मैदान लागूऔषध सेवनकर्ताको कब्जामा रहेको उल्लेख गर्दै मन्त्री सिंहले खेलकुद गतिविधि बढाउनुपर्ने बताए । पहिलो वर्षमा विद्यालयको २० खेल मैदान, ८ जिल्लामा रहेको पुरानो १२ कर्भड हल मर्मत, मधेस भवनमा रहेको खेल मैदान मर्मतसम्भार, प्रदेशको ८ जिल्लामा ११ वटा जिम सेन्टर र योग केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाएको उनले बताए । प्रदेशस्तरीय महिला/पुरुषको १० वटा टिमका लागि खेलाडी छनोट, प्रशिक्षक नियुक्त गरी प्रदेशस्तरीय महेन्द्रनारायण निधि प्रदेशस्तरीय क्रिकेट, रामनरायण मिश्र स्मृति फुटबल, मुख्यमन्त्री रनिङ सिल्ड र युवा महोत्सवका लागि मन्त्रालय प्रक्रिया अगाडि बढाएको छ ।

खेलकुद परिषद् ऐन निर्माण अन्तिम चरणमा रहेको र प्रादेशिक खेलकुद रणनीतिसमेत बनाउने क्रममा रहेको मन्त्रालयका उपसचिव ठूलोबाबु दाहालले बताए । खेलकुद सामग्री वितरण गरी खेलकुदको गतिविधि बढाउनुका साथै मन्त्रालयले प्रदेशस्तरीय क्रिकेट र फुटवल खेल आयोजना गर्ने योजना बनाएको छ । २० विद्यालयमा एकैखालको खेल मैदान बनाउन डीपीआर बन्ने क्रममा रहेको र एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने योजना रहेको उपसचिव दाहालले बताए ।

राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) स्थित खेल मैदानमा भने अहिले प्रदेश सरकारको कब्जा छ । जचुकालि प्रदेश २ सरकारको सचिवालय बनेको छ भने कारखानाको खेल मैदानमा प्रदेश सरकारले सवारीसाधन, निर्माण सामग्री थन्क्याउने र सभासम्मेलन आयोजना गर्ने गरेको छ ।

राष्ट्रियस्तरको खेलकुद गतिविधि हुने जचुकालिको खेल मैदान अहिले प्रयोगविहीन हुन सकेको छ । यो मैदानलाई पनि प्रयोग गर्ने र खेलकुद गतिविधि थाल्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : आश्विन १६, २०७८ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश २ मा १६ जेष्ठ नागरिक सम्मानित

सन्तोष सिंह

धनुषा — प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले जेष्ठ नागरिकलाई घरेलु अपहेलनामुक्त गराउने बताएका छन् ।अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार जनकपुरमा महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री सिंहले जेष्ठ नागरिकलाई घरेलु अपहेलाबाट मुक्त गर्न ठोस नीति ल्याउने बताए ।

'घर र समाजमा वृद्धवृद्धालाई अपमान हुनेक्रम बढेको छ', मन्त्री सिंहले भने, ‘जीवनको उतरार्द्ध समयमा जेष्ठ नागरिकलाई अपमानित हुन नदिन अगामी दिनमा ठोस कार्यक्रम ल्याउने छौं ।’ मन्त्री सिंहले जेष्ठ नागरिक भगवानसरह भएको उल्लेख गरे । कार्यक्रममा प्रदेश २ का ८ जिल्लाका १६ जना जेष्ठ नागरिकलाई महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको छ ।

दिवसको अवसरमा प्रदेशको ८ जिल्लाबाट २/२ जनालाई दोसल्ला, सम्मान पत्र र नगद ५ हजार रुपैयाँ दिएर सम्मान गरेको मन्त्रालयको महाशाखा प्रमुख देवकुमारी खत्रीले बताइन् । कार्यक्रममा तीन वृद्धा आश्रमलाई २५ हजार नगद र २५ हजार रुपैयाँको खाद्यान्न सामग्री उपलब्ध गराइएको थियो । जनकपुरको जानकी वृद्धाश्रम, सर्लाहीको पद भुवनेश्वी नमुना वृद्धाश्रम र बाराको जेष्ठ नागरिक सम्मान वृद्धाश्रमलाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित : आश्विन १५, २०७८ १६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×