१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

२० विद्यालयमा खेल मैदान र प्रशिक्षक

हरेक मैदानलाई ५० लाख बजेट
सन्तोष सिंह

धनुषा — प्रदेश २ सरकारले ८ जिल्लाका २० विद्यालयमा खेलकुद मैदान बनाउने भएको छ । महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले ती विद्यालयमा खेलकुद प्रशिक्षक राख्ने तयारी पनि गरेको छ ।

२० विद्यालयमा खेल मैदान र प्रशिक्षक

मैदान नहुँदा खेलकुद गतिविधि कम भएकाले विद्यालय र जिल्लास्तरमा मैदान बनाएर प्रदेशस्तरको खेलकुद गतिविधि बढाउन मन्त्रालयले योजना बनाएको हो । ती खेलकुद मैदानका लागि डीपीआर बनाउने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

हरेक खेल मैदानका लागि ५० लाखको दरले बजेट छुट्याएको महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले बताए । ‘खेलकुदको गतिविधि फर्मालिटिमा सीमित भएको छ । खेल मैदान र कभर्डहल प्रयोगविहीन छ । खेलकुद प्रशिक्षक फुर्सदिला छन्,’ मन्त्री सिंहले भने, ‘त्यसैले खेलकुदको विकास र उत्थानका लागि विद्यालय तहबाटै प्रतिभाशाली खेलाडी छनोट गर्न खेलकुद गतिविधिलाई अगाडि बढाउने योजना ल्याएको छु ।’

प्रदेशका कर्भडहल गोदाममा परिणत भएको र खेलकुद मैदान लागूऔषध सेवनकर्ताको कब्जामा रहेको उल्लेख गर्दै मन्त्री सिंहले खेलकुद गतिविधि बढाउनुपर्ने बताए । पहिलो वर्षमा विद्यालयको २० खेल मैदान, ८ जिल्लामा रहेको पुरानो १२ कर्भड हल मर्मत, मधेस भवनमा रहेको खेल मैदान मर्मतसम्भार, प्रदेशको ८ जिल्लामा ११ वटा जिम सेन्टर र योग केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाएको उनले बताए । प्रदेशस्तरीय महिला/पुरुषको १० वटा टिमका लागि खेलाडी छनोट, प्रशिक्षक नियुक्त गरी प्रदेशस्तरीय महेन्द्रनारायण निधि प्रदेशस्तरीय क्रिकेट, रामनरायण मिश्र स्मृति फुटबल, मुख्यमन्त्री रनिङ सिल्ड र युवा महोत्सवका लागि मन्त्रालय प्रक्रिया अगाडि बढाएको छ ।

खेलकुद परिषद् ऐन निर्माण अन्तिम चरणमा रहेको र प्रादेशिक खेलकुद रणनीतिसमेत बनाउने क्रममा रहेको मन्त्रालयका उपसचिव ठूलोबाबु दाहालले बताए । खेलकुद सामग्री वितरण गरी खेलकुदको गतिविधि बढाउनुका साथै मन्त्रालयले प्रदेशस्तरीय क्रिकेट र फुटवल खेल आयोजना गर्ने योजना बनाएको छ । २० विद्यालयमा एकैखालको खेल मैदान बनाउन डीपीआर बन्ने क्रममा रहेको र एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने योजना रहेको उपसचिव दाहालले बताए ।

राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) स्थित खेल मैदानमा भने अहिले प्रदेश सरकारको कब्जा छ । जचुकालि प्रदेश २ सरकारको सचिवालय बनेको छ भने कारखानाको खेल मैदानमा प्रदेश सरकारले सवारीसाधन, निर्माण सामग्री थन्क्याउने र सभासम्मेलन आयोजना गर्ने गरेको छ ।

राष्ट्रियस्तरको खेलकुद गतिविधि हुने जचुकालिको खेल मैदान अहिले प्रयोगविहीन हुन सकेको छ । यो मैदानलाई पनि प्रयोग गर्ने र खेलकुद गतिविधि थाल्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : आश्विन १६, २०७८ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?