लिलाम नहुँदा बिग्रिए महँगा सवारी

कोरोनाका कारण प्राविधिक नआउँदा मूल्यांकनमा ढिलाइ : भन्सार 
शिव पुरी, अवधेशकुमार झा

रौतहट, सप्तरी — लिलाम प्रक्रिया नथाल्दा करोडौं मूल्य पर्ने महँगा सवारीसाधन भन्सार परिसरमै कबाड बनेका छन् । रौतहटका विभिन्न स्थानबाट सुरक्षाकर्मीले बरामद गरी भन्सारमा पठाइका गाडी वर्षाका बेला डुबेर पार्टपुर्जा खिया लागेको हो । 

लिलाम नहुँदा बिग्रिए महँगा सवारी

साना र चारपांग्रे गरी ८ सय ६० वटा सवारीसाधन वर्ष दिनदेखि भन्सार कार्यालय र सशस्त्र प्रहरीको भन्सार परिसरमा थन्किएको छ । लिलाम नगर्दा सरकारको राजस्व पनि गुम्ने देखिएको छ । भन्सार कार्यालय रहेको स्थान डुबान क्षेत्रमा पर्छ । सामान्य पानी पर्दा पनि भन्सार परिसर डुब्छ । जसले त्यहाँ राखिएका सवारीसाधन बिग्रिएर काम नलाग्ने हुन थालेका हुन् । गौर भन्सारका सूचना अधिकारी अभिजितकुमार सिंहले समयमै लिलामी प्रक्रिया हुन नसकेको स्विकारे ।

‘हामीले भन्सार विभागमा लिलामका लागि पत्र पठाएका थियौं । कोभिडले गर्दा प्रक्रिया प्रभावित हुन पुग्यो,’ उनले भने, ‘अब चाँडै प्राविधिकसहितको टोली मगाएर लिलाम गर्छौं । केही सवारीसाधन कामै नलाग्ने गरी कवाड भइसके ।’

कार्यालयका अनुसार सुरक्षा निकायबाट विभिन्न समयमा बरामद र पक्राउ गरिएका जिप, कार, ट्रक गरी ४० थान छन्, बाँकी मोटरसाइकल छन् । भन्सारमा दाखिला भएका यी सवारीसाधनको उत्पादन वर्ष पत्ता लगाउन सम्बन्धित एजेन्सीलाई लेखेर पठाउनुपर्छ । त्यहाँबाट खुलेर आएपछि भन्सार विभागको प्राविधिक इन्जिनियरको टोलीले मूल्यांकन गर्छन् । कवाडमा जाने भए त्यसलाई कम र चल्ने अवस्थाको भए बढी मूल्यांकन गरिन्छ । ‘केही सवारीसाधनको उत्पादन वर्ष खुलेर आइसकेको छ,’ सिंहले भने, ‘प्राविधिक टोली मगाउन पत्राचार भए पनि कोभिडका कारण आउन सकेनन् ।’

सुरक्षाकर्मीले भारत र नेपालबाट चोरी, तस्करीमा प्रयोग भएका मोटरसाइकल र चारपांग्रे सवारीसाधन बरामद गरी भन्सारमा दाखिला गर्दै आएको छ । कतिपय गाडी नयाँ हुन्छन् । भन्सारमा वर्षौं थन्क्याएर राख्दा डुबान र घामले खिया लागेर थोत्रो बन्छ । कतिपय सवारीको पार्टपुर्जा चोरी भएको देखिन्छ । ‘समयमा लिलाम भइदिएको भए सरकारको राजस्व पनि बढ्थ्यो,’ एक सुरक्षा अधिकारीले भने, ‘बर्सेनि पानीमा डुबाएर सबै गाडीको अवस्था कवाड हुन लागिसक्यो । अब पनि लिलाम गरिएन भने कामै नलाग्ने हुन्छ ।’ विगतमा यस्ता सवारीसाधन समयमै लिलाम बिक्री हुन्थ्यो ।

३ सय सवारीसाधन कबाड

लामो समयदेखि लिलामी प्रक्रिया नहुँदा सप्तरीस्थित बेल्ही भन्सार कार्यालयमा थन्काएर राखिएका सवारीसाधन पनि कवाड बनेका छन् । भन्सार छली गरेको आरोपमा विभिन्न समयमा पक्राउ गरिएका चारपांग्रे गाडी, ट्र्याक्टर र मोटरसाइकललगायत बिग्रिन थालेका हुन् । भन्सारका प्रमुख अभिषेक कण्ठका अनुसार लिलामी हुन नसकेका करिब ३ सय सवारीसाधन छन् । २ सय ५० वटा मोटरसाइकल र चारचक्के तथा ट्र्याक्टर गरी ५० वटा सवारीसाधन लिलामी हुन सकेको छैन । ४ वर्षदेखि लिलामी नहुँदा सवारीसाधनको संख्या बढ्दै गएकाले भन्सार कार्यालयमा राख्न स्थान अभाव भएको छ । त्यसैले भन्सार परिसरको खुला स्थानमा राखिएको छ ।

कतिपय सवारीसाधनमा घाँस उम्रेको छ भने पार्टपुर्जाहरूमा खिया लागेको छ । चालु अवस्थामा बरामद गरिएका सवारीसाधनमध्ये केहीमा इन्जिनबाहेक अन्य पार्टपुर्जा कामै नलाग्ने गरी बिग्रिएको छ । प्रहरीले लामो समयसम्म भन्सारमा नबुझाउने, बुझाएपछि मूल्यांकन हुन समय लाग्नेलगायत लिलामीको प्रक्रिया झन्झटिलो भएका कारण लिलाम हुन नसकेको भन्सारले जनाएको छ । ‘केही सवारीसाधन कामै नलाग्ने गरी कवाडी बनेको छ,’ भन्सार प्रमुख कण्ठले भने, ‘प्रहरीले अर्को सवारीसाधनमा हालेर ल्याएर कवाडी नै बुझाएको छ ।’

प्रकाशित : आश्विन १४, २०७८ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?