कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

नहाय– खायसँगै जितिया पर्व सुरु

श्यामसुन्दर शशि

जनकपुर — नहाय–खाय अर्थात् पवित्र जलाशयहरुमा स्नान तथा पूजा गरी मिथिलाञ्चलको विकटम् पर्व, जितिया सोमबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र कृष्णपक्षको अष्टमी तिथिको दिन जितिया पर्व मनाउने परम्परा भए पनि यसको आरम्भ भने षष्ठी तिथिबाटै हुन्छ ।

नहाय– खायसँगै जितिया पर्व सुरु

तीन दिवसीय यस विकट पर्वको पहिलो दिन व्रतीहरू ‘नहाय खाय’अर्थात नुहाएर खान्छन । दोश्रो दिन विहान सूर्य उदय हुनु पूर्व ‘ अंगुठन ’ गर्छन । अंगुठन यस व्रतको रोचक पक्ष हो । विहान काग कराउनु पूर्व व्रतीहरु घिरौलाको पातमा च्युरा दही, केला, अमोट (आँपको रसबाट बनाएको परिकार) आदि प्रसाद चढाइ सपरिवार प्रसादको रुपमा ग्रहण गर्छन् । पृतिपक्षको मध्यमा आयोजन हुने यस पर्वमा व्रतालु महिलाहरु आ—आफ्ना स्वर्गीय आमा, सासुलगायत मृतक महिला पितृहरुलाई नैवेद्य चढाउँछिन् ।

यो व्रत अत्यन्तै पवित्रतासाथ मनाइने हुँदा व्रतीहरु स–साना बालबालिकालाई यसको प्रसाद पर्यन्तबाट टाढा राख्छन् । व्रत बसेको अवधिमा मुखले सिन्कासम्म टोक्नु हुँदैन । व्रतको विधिविधान गर्न असफल भएकी महिला आजिवन यो व्रत बस्न पाउँदैनन् । पवित्रता बनाई राख्ने नियतिले होला मिथिलाञ्चलमा एउटा उखान प्रचलनमा छ—‘ जितिया पावनी बड भारी , धीया पूताके ठोकि सुतावए । अपने खाय भडि थारी ।’ अर्थात् जितिया पर्व महान हो । व्रतीहरु बालबालिकालाई सुताएर आफै प्रसाद खान्छन् ।

व्रतको दोश्रो दिन व्रतीहरु पवित्र सरोवरहरुमा स्नान गरी जिमुतवाहनको कथा सुन्छन् । कथामा व्रतको फलाफलबारे जानकार पण्डित पुरोहित वा प्रौढ महिलाहरुले व्रतीलाई कथा सुनाउँछन् । कथा सुन्न सयौं ब्रतालु गंगासागर, धनुषसागर तथा महाराजसर लगायतका पोखरी तथा दूधमती, कमला, जमुनी र जलादसदृश्यका पवित्र नदीहरुको डिलमा भेला हुन्छन् ।

अन्य पर्व त्यौहारको पूर्व सन्ध्यामा चोखो खाने चलन भएपनि जितिया पर्वको पूर्व सन्ध्यामा भने ‘माछ— मरुवा’(माछा र कोदोको रोटी) खाने चलन छ । जसलाई ‘माछ—मरुवा ’ पनि भनिन्छ । मंगलबार बिहानैदेखि निराहार बस्ने व्रतालुहरु बुधबार अपराह्न ४ बजेपछि मात्र अन्न जल ग्रहण गर्ने छन् ।

सन्तानको दीर्घायु तथा सुख समृद्धिको लागि गरिने यस पर्वको मिथिलामा विशेष महत्तव छ । ठूलो दुर्घटना वा कुनै विपद्‌बाट जोगिएपछि यहाँ उखन नै छ — तोहर माय खर जितिया कैने छलौ तें बाँची गेले । अर्थात् तिम्रो आमा जितिया व्रत बसेकी थिइन् र तिम्रो ज्यान जोगियो ।

प्रकाशित : आश्विन ११, २०७८ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?