१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दुर्गम शिकारीबासमा पहिलोपटक पुगे डाक्टर

शंकर आचार्य

पर्सा — शिकारीबास गाउँकै ज्येष्ठ नागरिक ८२ वर्षीय नारायण प्रसाद अर्याल शनिबार निकै खुसी देखिन्थे । तीन महिनादेखि शरीर चिलाउने र छाती पोल्ने समस्या हुँदा पनि उनी स्वास्थ्य परीक्षण गराउन सदरमुकाम वीरगन्जसम्म पुग्न सकिरहेका थिएनन् ।

दुर्गम शिकारीबासमा पहिलोपटक पुगे डाक्टर

तर शनिबार चिकित्सकहरुको एउटा टोली औषधि बोकेर गाउँमै पुगेपछि उनले ३५ किमी टाढा वीरगन्जसम्म धाइराख्नु परेन । ‘डाक्टर साबहरुलाई गाउमै भेट्न पाएपछि मलाई ढुंगो खोज्दा देउता मिले जस्तै भयो,’ उनले भने, ‘आँखाको समस्या पनि थियो, त्यसको पनि यहीँ निदान भयो ।’

अर्यालको जस्तै अनुभव छ ५५ वर्षीया भगवती देवी थरुनीको पनि । ‘धेरै दिनदेखि आँखा धमिलो देख्ने समस्या थियो । गाउँमै चिकित्सकबाट आँखा परीक्षण गराउन पाएँ, धेरै सजिलो भयो ।’ लायन्स क्लव वीरगन्जको आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा करीब १ सय स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए ।

उनीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरको समन्वय गरेका सामाजिक अभियन्ता प्रकाश थारुले विभिन्न औषधि उद्योगहरुले शिविरका लागि निःशुल्क औषधि उपलब्ध गराएको जानकारी दिए ।

शिविरमा फिजिसियनद्वय डा आरके सिंह र डा उदय नारायण सिंह, हाडजोर्नी रोग विशेषज्ञ डा दिलिप चौरसिया तथा दृष्टि आँखा अस्पतालका नेत्र विशेषज्ञ वसन्त पौडेल नेतृत्वको टोलीले विरामीहरुको स्वास्थ्य परीक्षण गरेको हो। डा उदयनारायण सिंहले शिकारीबासका बासिन्दामा अन्य गाउँहरुमा जस्तो उच्च रक्तचाप, मधुमेह आदि समस्या नदेखिएको बताए । ‘यहाँका बासिन्दामा हाल मौसमी ज्वरो, रुघाखोकी आदिको मात्र समस्या देखियो,’ उनले भने, ‘तर अधिकांश वयस्कमा तनावको समस्या भने देखिएको छ ।’

ठोरी गाउँपालिका ३ मा रहेको यो गाउँका स्थानीयले चिकित्सकको टोलीलाई भव्य स्वागत गरेका थिए । चिकित्सकहरुले पनि आफूहरु आजसम्म यति दुर्गम स्थानमा सेवा दिन नआएको प्रतिक्रिया दिए ।

स्थानीय युवा राजेन्द्र चौधरीले शिकारीबासमा यसरी पहिलोपटक स्वास्थ्य शिविर सञ्चालन भएको बताए । ‘शिकारीबास हालसम्म उपेक्षाकै शिकार हुँदैआएको छ,’ उनले भने, ‘यसरी सरकारी स्तर वा कुनै संघसंस्थाद्वारा पहिलो पटक शिकारीबासमा स्वास्थ्य शिविर सञ्चालनमा आएको हो । हाम्रो लागि यो निकै ठूलो उपलब्धि हो । सिटामोल समेत नपाइने गाउँमा चिकित्सकहरुको टोली आएर निःशुल्क स्वास्थ्य जाँच र औषधि पाउनु हाम्रो लागि धेरै ठूलो कुरो हो ।’

ठोरी गाउँपालिका ३ को यो बस्ती चितवन राष्ट्रिय निकुन्ज र पर्सा राष्ट्रिय निकुन्जको सिमानामा पर्छ । यहाँ पुग्न वीरगन्ज–ठोरी हुलाकी सडकबाट करिब ७ किमी घना जंगल छिचोल्नुपर्छ । बाटो जीर्ण छ । बाटोमा जंगली हात्ती, बाघ, भालु जस्ता जनावरले आक्रमण गर्ने त्रास हुन्छ । गाउँमा ५४ घरधुरी छन् । तीनमा करिब २ सय ५० जनाको बसोबास छ।

गाउँमा कक्षा ५ सम्म मात्र पठनपाठन हुने आधारभुत विद्यालय छ । गाउँका बालबालिकाले त्यसभन्दा माथिको कक्षा पढ्न दैनिक १४ किमी पैदल वा साइकल यात्रा गरेर विजय बस्ती वा घ्याङ डाँडासम्म पुग्छन् । बिजुली र स्वास्थ्य चौकी समेत नरहेको यस गाउँका बासिन्दा बालीनाली जंगली जनावरबाट पनि सताइँदैआएका छन् ।

अझै पनि कुलो र खोलाको धमिलो पानी पिउने बाध्यता रहेको स्थानीयहरु बताउँछन् । गाउँका ९९ प्रतिशत घरधुरी अझै पनि सुकुम्बासी नै छन् । रैथाने थारुहरु अधियाँ खेती गरेरै गुजारा चलाउँदैआएका छन् ।

प्रकाशित : आश्विन १०, २०७८ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?