२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

माग सकिएपछि मल आउँदै

३० हजार मेट्रिक टन युरिया मल तीन साताभित्र आइपुग्ने
शंकर आचार्य

पर्सा — धानमा मल हाल्ने समय बितेपछि कृषि सामग्री कम्पनीले युरिया मल भित्र्याउने भएको छ । ग्लोबल टेन्डरमार्फत आयात गर्न लागेको ३० हजार मेट्रिक टन युरिया मल तीन साताभित्र आइपुग्ने कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जले जनाएको हो । तर किसानले जसोतसो जोहो गरेर धानमा मल हालिसकेका छन् ।

माग सकिएपछि मल आउँदै

कम्पनीका प्रमुख गोरखनाथ केसीका अनुसार ठेकेदार दुबइको स्विस सिंगापुर कम्पनीले चिनबाट मल ल्याउन लागेको हो । हाल भारतको कोलकाता बन्दरगाहमा आउने क्रममै रहेको उनको भनाइ छ । ‘चीनबाट मल बोकेर हिँडेको पानीजहाज हाल समुद्री मार्गमा छ,’ उनले भने, ‘यसै साताभित्र कोलकाता बन्दरगाहमा आइपुग्ने भए पनि नेपालमा ल्याउन कम्तीमा तीन साता लाग्नेछ ।’ केसीले दसैंअघि मल आइहाले पनि त्यसपछि मात्र बिक्रीवितरण हुने सम्भावना रहेको बताए ।

आउँदो डेढ साताभित्र युरिया मलको माग करिब सकिने भएकाले धान किसानका लागि भने उपयोगी नहुने उनले जानकारी दिए । ‘किसानकै कुरो सुन्दा अबको डेढ सातापछि धान बालीका लागि युरिया मलको आवश्यकता छैन,’ उनले भने, ‘तर, किसानको माग आएमा वितरण गर्न कुनै समस्या हुने छैन ।’ उनका अनुसार चीनबाट आएको मल गहुँ बालीका लागि भने काम लाग्नेछ । उक्त मल मध्ये १० देखि १२ हजार मेटन वीरगन्ज र बाकी बिराटनगर तथा भैरहवा प्रादेशिक कार्यालयले पाउने सम्भावना रहेको उनले बताए । ‘अहिले तालिका आइसकेको छैन,’ केसीले भने, ‘तर विगतको अभ्यास र मागअनुसार केन्द्रले यसरी नै मल उपलब्ध गराउने सम्भावना छ ।’

यस वर्ष मलको मौज्दात भदौ २५ गते सकिएको उनले बताए । भदौमा मात्र पर्सामा ३ हजार ५ सय १२ मेटन युरिया, १ हजार ३८ मेटन डीएपी र ६५ मेटन पोटास मल विभिन्न सहकारीमार्फत बिक्रीवितरण भएको उनको भनाइ छ । किसान संघ पर्साका अध्यक्ष असर्फी साह हाल युरिया मलको अत्यधिक माग रहेको बेला मल नपाउने र माग सक्किएपछि मात्र मल आउने भएपछि त्यसको किसानलाई कुनै उपयोग नहुने बताए । उनले झन्डै एक महिनादेखि नै जिल्लामा युरिया मलको हाहाकार रहेको बताए ।

प्रकाशित : आश्विन १०, २०७८ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?