१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सडक विस्तारमा व्यवसायीको अवरोध

बाटो अतिक्रमण गरी राखिएको फलफूल पसल हटाउन अटेर
शिव पुरी

रौतहट — पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकमा सडकमै ठेला राखेर फलफुल व्यवसाय गर्नेको अटेरीले सडक बिस्तार प्रभावित भएको छ । उनीहरूले ठेला हटाउन नमाने पछि दुई दिनदेखि काम रोकिएको हो ।

सडक विस्तारमा व्यवसायीको अवरोध

चन्द्रपुर नगरपालिका–४ स्थित मुख्य चोकको उत्तरतर्फ सडकमै लामो समयदेखि फलफूल पसल थापेर बसेकाहरू हट्न मानेका छैनन् । सडक डिभिजन कार्यालयले फलफूल व्यवसायीले ठेला हटाउन नमान्दा काम रोकिएको जनाएको छ । प्रहरी नगरपालिकाले हटाउन अग्रसरता नदेखाएको भन्दै चुप बसेको छ । नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले आइतबारबाट कडा रुपमा प्रस्तुत हुने बताए । ‘मुख्य राजमार्गको दुबैतिर २५/२५ मिटरको क्षेत्र खाली गराउँदै छौं । अब सडकमै ब्यवसाय गर्न दिँदैनौं,’ उनले भने, ‘सडकमै ठेला राख्नु राम्रो होइन । यसले नगरलाई कुरुप बनाएको छ ।’ स्थानीयको प्रतिरोधपछि केही ठेला व्यवसायीले हटाएका थिए ।

एक वर्षअघिसम्म राजमार्गमा फाट्टफुट्ट फलफूल पसल थिए । अहिले लाइनै जस्तो राखिएको छ । पछिल्लो समय व्यस्त सडकमा ठेलामा फलफूल राखेर व्यवसाय बढेको हो । केही यातायात व्यवसायीले काउन्टरसमेत राखेका छन् । यसले सहरलाई अस्तव्यस्त बढाएको भन्दै चौतर्फी आलोचना हुँदै आए पनि नगरपालिका मौन बसेको थियो । राजमार्गमा पसल थापिएपछि त्यही सवारी रोक्ने हुनाले दुर्घटनाको सम्भावना बढेको स्थानीयको भनाइ छ । तर, फलफूल व्यवसायी दिपेश कुमारले ठाउँ नै नभएपछि सडकमै राख्न बाध्य भएको सुनाए । ‘कतै ठाउँ पाइएन,’ उनले भने, ‘जबरजस्ती भए पनि सडकमा राख्नुपरेको हो । अब हटाउँछौं ।’ केही व्यवसायीले सडकको पेटीमा समेत पसल थापेका छन् । उनीहरू राति चारैतिरबाट प्लास्टिकले छोपेर ठेलालाई सडकमै छाड्ने गर्छन् । बिहानबाट व्यवसाय सुरु गर्छन् ।

सडकका प्राविधिक शम्भु थापाले ठेला पसलेका कारण काम गर्न नपाएको बताए । ‘हटाऊ भन्दा मान्दैनन् । जनप्रतिनिधिलाई खबर गर्दा पनि आउँदैनन्,’ उनले भने, ‘यस्तै रबैया रह्यो भने सडक विस्तारको काम अघि बढ्न सक्दैन ।’ सडक कार्यालयले दुवैतिर सडक चौडा गरेर कालोपत्रको काम सुरु गर्न लागेको हो ।

यता गौर–चन्द्रनिगाहपुर खण्डमा सडकमै पसल थाप्ने, पशु बाँध्ने, गोठ बनाउनेजस्ता कार्य भइरहेकोले तत्काल हटाउनुपर्ने माग हुँदै आएको छ । सडक डिभिजनले बेवास्ता गरेको र अतिक्रमण हुँदा पनि चासो नदेखाएको भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन् । सडकका कर्मचारी नरेश केशरीले पटकपटक अतिक्रमण स्थान खाली गर्न सूचना जारी गरेको बताए । ‘हामीले पूर्वपश्चिम राजमार्ग र गौर खण्ड अतिक्रमण धेरै बढेको भन्दै सूचना जारी गरेका थियौं,’ उनले भने, ‘विस्तारै हटाउने अभियान थाल्छौ । जथाभावी सडकमै पशल थाप्न पाइँदैन ।’ यो खण्डको दुवैतर्फ स्थानीयले पशु बाँध्ने, परालका टाल राख्ने र पसलका समान राख्ने गरेका छन् ।

यो मार्गमा सबैभन्दा बढी अतिक्रमण बालचनपुर पडोरिया क्षेत्रमा भएको छ । पशुलाई खुवाउन परालका टालहरू सडककै छेउमा राखिएका छन । चन्द्रनिगाहपुरदेखि गौर (४२ किमि) सम्मका दायाँबायाँ सडकनजिकै पोखरी खनिएका छन् । कतै चिम्नी उद्योगले माटो खनेर इँटा उत्पादन गरिरहेको छ । केही स्थानमा मोटरसाइकलका ग्यारेज राखिएको छ । सडक नै अतिक्रमण गरी यी काम हुँदा सवारी पास हुनै मुस्किल हुने गरेको छ । राष्ट्रिय राजमार्गमा २५ र सहायक मार्गमा १५ मिटर छाडेर मात्र व्यक्तिगत उपभोग गर्नुपर्ने व्यवस्था भए पनि रौतहटका बजार क्षेत्रमा यसको पालना हुन सकेको छैन ।

प्रकाशित : आश्विन १०, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?