१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

विदेश पठाउने भन्दै लाखौं ठगी

गाउँ फर्किएका पीडितलाई उल्टै धम्क्याउँदै एजेन्ट
सुनिता बराल

महोत्तरी — तीन वर्ष मलेसियामा काम गरेर फर्किएका महोत्तरी गौशाला ३ नवराजपुरका २५ वर्षीय अनिल महतोले फेरि खाडी मुलुक जाने योजना बनाए । विश्वासिलो एजेन्ट खोजिरहेका उनलाई गाउँका साथीभाइले आफूहरू जान लागेकै एजेन्टमार्फत जान सल्लाह दिए । महतोले सर्लाही धनकौलका राजाबाबु भनिने कुन्दन मिश्र एजेन्टमार्फत दुबई जाने प्रक्रिया थाले । 

विदेश पठाउने भन्दै लाखौं ठगी

२०७७ फागुन ४ गते नवराजपुरका ७ जना र रामगोपालपुर ५ कञ्चनपुरका चार जनाले दुबई जान एजेन्ट मिश्रलाई जनही ३०–३० हजार रुपैयाँ र राहदानी बुझाए । मिश्रले अरू एक लाख रुपैयाँ ठीक पारेर राख्नु भन्दै महिना दिनमै सबैलाई दुबई उडाइदिने आश्वासन दिए । चर्को ब्याजमा ऋण लिएका उनीहरूलाई मिश्रले भिसा लागिसकेको र उड्ने गरी पैसा लिएर काठमाडौं आउन भने । उनीहरू परिवारसँग बिदा भएर फागुन २४ मा काठमाडौं पुगे ।

‘अबको एक/दुई दिनमै उडाउँछु, पैसा दिनुस्’ भन्दै मिश्रले उनीहरूलाई काठमाडौंको एक होटलमा राखे । फागुन २८ मा उडाउने भन्दै २७ गते बिहान सबैबाट एक/एक लाख रुपैयाँ बुझे । मिश्रले मोबिल प्याकिङ गर्ने काममा राम्रो कम्पनीमा हाल्दिएको भन्दै प्रलोभन देखाइरहे । उनले २७ गते बेलुका भिसा देखाएपछि ११ जनामध्ये अनिल मिश्रले भिजिट भिसा भएको थाहा पाए । ‘यो त भिजिट भिसा हो । हामी यो भिसामा जाँदैनौं भनेपछि मिश्रले त्यसो भए एक महिना पर्ख कतार पठाइदिन्छु भन्दै निस्किए,’ अनिलले भने, ‘त्यसपछि विदेश पठाउनु त कहाँ अहिलेसम्म पैसा र पासपोर्ट पनि फिर्ता दिएन ।’

पीडितहरू काठमाडौंमै प्रहरीलाई उजुरी दिए । प्रहरीले मिश्रका साथी र सहयोगी रहेका एक व्यक्तिलाई पक्राउ गर्‍यो । ती व्यक्तिले १५ दिनभित्र मिश्रलाई झिकाउने र ११ जनाको १४ लाख ३० हजार रुपैयाँ फिर्ता गराएरै छाड्ने लिखित सम्झौता गरेपछि भोलिपल्ट नै छाडियो । अहिले त्यो सम्झौता पूरा गर्न र आफूहरूको पैसा फिर्ता गर्न अस्वीकार गर्दै एजेन्टले उल्टै मार्नेसम्मको धम्की दिइरहेको पीडितले बताएका छन् ।

‘केही दिन्न जे गर्छस् गर, जहाँ भेट्यो त्यही सिध्याउँछु, धेरै पैसाको पछि नलाग भन्दै मिश्रले धम्की दिइरहेको छ,’ अनिलले भने । गौशाला ५ का ३१ वर्षीय छटु राय, ४० वर्षका सुरेन्द्र सहनी, ३४ वर्षका सिक्रिन सहनी, ३५ वर्षका सुरेन्द्र महरा, २५ वर्षका अनिल महतो, १९ वर्षका सुनिल महतो, रामकिशोर मुखिया तथा रामगोपालपुर ५ का ३५ वर्षका शिरिया महतो, ४० वर्षका शिवशंकर महतो, वर्ष ३० का बद्रि मुखिया र २० वर्षका कारी मुखियालाई खाडी मुलुक पठाइदिने भन्दै एजेन्ट मिश्रले ठगेका हुन् ।

‘दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्नै धौधौ छ । सयकडाको ऋण बढेको बढ्यै छ । साहुले पैसा मागेर उठिबास लगाउन खोजेका छन्,’ पीडित सुरेन्द्र महराले भने, ‘पैसा नदिए पासपोर्ट मात्रै देऊ भन्दासम्म पाएका छैनौं ।’ सर्लाहीको धनकौलमा राजाबाबु, काठमाडौंमा राजन मिश्र भनेर धेरै नामले चिनिने एजेन्ट कुन्दन मिश्रले सर्लाही, महोत्तरी र धनुषाबाट विदेश पठाउने आशामा धेरैलाई ठगी गरेको महोत्तरी प्रहरीको भनाइ छ ।

मिश्रले महोत्तरीकै जलेश्वरका ३० जना युवालाई ३ वर्षअघि यसैगरी ठगेका थिए । पीडितहरू महोत्तरीको गौशाला चौकीमा पुगे पनि जाहेरी भने नदिएको एसपी दिनेश आचार्यले बताए । उनले मिश्रविरुद्ध वैदेशिक रोजगार विभागमा धेरै उजुरी परेकाले प्रहरीले पक्राउ पुर्जी जारी गरेको जानकारी दिए ।

प्रकाशित : आश्विन ९, २०७८ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?