कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

अधुरो कक्षाकोठामै पढाइ

झ्यालढोका र भित्ता नै नभएको कक्षाकोठामा पढ्छन् विद्यार्थी, भवन निर्माण सक्न ४४ लाख रूपैयाँ आवश्यक
सुनिता बराल

महोत्तरी — बर्दिवास जनता बहुमुखी क्याम्पसका झन्डै ११ सय विद्यार्थीले जोखिम मोलेर निर्माणाधीन भवनमा पढ्दै आएका छन् । आर्थिक अभावमा भवन निर्माण पूरा गर्न नसकेको क्याम्पसले अधुरो भवनमा पढाइ जारी राखेको हो । 

अधुरो कक्षाकोठामै पढाइ

महोत्तरीको बर्दिवास जनता बहुमुखी क्याम्पसका विद्यार्थी निर्माणाधीन भवनमा पढ्दै । बजेट अभावमा भवन निर्माण पूरा गर्न नसकेको क्याम्पस प्रशासनले जनाएको छ । तस्बिर : सुनीता/कान्तिपुर

गत आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश २ की प्रदेश सांसद सारदादेवी थापाको निर्वाचन क्षेत्र विकास कोषको २० लाख र क्याम्पसको आन्तरिक स्रोतबाट १३ लाख रुपैयाँ लगानीमा भवन निर्माण थालिएको थियो । क्याम्पसले भवनको दोस्रो तलाको ढलान पूरा गरे पनि बजेट सकिएपछि गारो उठाउन सकेको छैन । दुईवटा भवन भएको क्याम्पसको २० वटा कक्षाकोठा सञ्चालनमा रहे पनि बजेट अभावमा दोस्रो तलाको १२ वटा कोठा अलपत्र छन् । अहिले एउटै कक्षाकोठामा ५० जनासम्म विद्यार्थी राखेर पढाइ हुन्छ ।

स्नातक पहिलो वर्षकी छात्रा बर्दिवास–१४ की संगीता साहले इँटा, काठका टुक्रा, किला, कब्जा, रडलगायतका सामग्रीकै बीचमा पढ्नुपर्दा अप्ठ्यारो भइरहेको बताइन् । ‘न झ्याल न ढोका । चारैतिरबाट आवाज आइरहेको हुन्छ,’ संगीताले भनिन्, ‘यस्तो ठाउँमा खाँदिएर बसेर पढ भन्दा निकै गाह्रो भएको छ, पढाइमा ध्यानै जान सकेको छैन ।’ अर्का विद्यार्थी रामदेव महतोले कोभिडलाई ध्यान दिएर स्वास्थ्यको ख्याल गर्न नसकिएको बताए । विद्यार्थी धेरै भएकाले कोचिएरै बस्नुपरेकाले भौतिक दूरी कायम गर्न नसकेको उनको भनाइ छ ।

बर्दिवास जनता क्याम्पसको पढाइ राम्रो भन्दै टाढाबाट पनि विद्यार्थी आउने गर्छन् । तर, भवन अभावले पढाइमा समस्या भएको क्याम्पस प्रमुख टोपबहादुर ठकुरीले बताए । महोत्तरीसहित अन्य जिल्लाबाट पनि स्नातक पहिलो वर्षमा भर्ना हुन आउनेको संख्या बढेपछि कक्षाकोठा नपुगेको ठकुरीले बताए । उनका अनुसार भवन निर्माण सक्न ४४ लाख रुपैयाँ आवश्यक पर्छ । उक्त रकम बर्दिवास नगरपालिकासँग माग गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।

अन्य प्रदेशमा साधारण खर्च भनी सामुदायिक क्याम्पसलाई प्रत्येक वर्ष १५ देखि २० लाख बजेट दिइएको भए पनि प्रदेश २ मा सामुदायिक कलेजलाई प्रदेश सरकारले वास्ता नगरेको क्याम्पस प्रमुख ठकुरीले बताए । पब्लिक क्याम्पस संघ प्रदेश २ ले सामुदायिक क्याम्पस सञ्चालनमा सहयोग गर्न धेरैपटक प्रदेश सरकारलाई आग्रह गरे पनि सुनुवाइ नभएको जनाएको छ ।

हाल क्याम्पसको मुख्य आम्दानीको स्रोत विद्यार्थीको शुल्क नै हो । क्याम्पस सञ्चालनका लागि नदी उकास जग्गा दिन नगरपालिकासमक्ष माग गर्दै आए पनि नपाएको ठकुरीले बताए । ४० बिघा माग गरे पनि २० बिघासम्म क्याम्पसलाई स्थानीय तहले उपलब्ध गराएमा आन्तरिक स्रोत बढाउन सकिने उनको भनाइ छ । ‘जग्गा पाए त्यसमा क्याम्पसले उत्पादनमूलक व्यवसाय गराई स्रोत बढाउने लक्ष्य लिएको छ,’ उनले भने ।

विद्यार्थी राख्ने पर्याप्त र उचित ठाउँसम्म व्यवस्थापन गर्न नसकेपछि भौतिक दूरी कायम गराएर पढाउन सम्भव नभएको क्याम्पस प्रशासनले जनाएको छ । २०६४ सालमा स्थापना भएको उक्त सामुदायिक क्याम्पसमा अहिले ३० जना शिक्षक र ६ जना कर्मचारी छन् । क्याम्पसमा १ हजार ६५ जना स्नातक तहमा र ५९ जना स्नातकोत्तर तहमा अध्ययनरत छन् ।

प्रकाशित : आश्विन ९, २०७८ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?