३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

संघ–प्रदेश कर्मचारी विवाद

कार्यालयका सामान आफ्नो भएको दाबी गर्दै प्रदेशमातहतका कर्मचारीले ३ संघीय कर्मचारीलाई २ घण्टा कार्यकक्षमै थुने
भरत जर्घामगर

सिरहा — लहानस्थित भूमिगत जलस्रोत कार्यालयमा कार्यरत संघ र प्रदेश सरकारमातहतका कर्मचारीबीच सामान बरबुझारथ नगरेको विषयमा विवाद भएको छ । संघमातहतको भूमिगत जलस्रोत विकास समिति र प्रदेशमातहतको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनका कर्मचारीबीच विवाद हुँदा समितिका ३ कर्मचारी बुधबार साँझ करिब दुई घण्टासम्म कार्यालयमै थुनिन बाध्य भएका हुन् । हाइड्रोजियोलोजिस्ट अर्पण पराजुली, नायब सुब्बा सुरेन्द्र पौडेल र कार्यालय सहयोगी मधुसुदन महतो कार्यालयमा काम गरिरहेकै बेला साँझ साढे ५ बजेदेखि प्रदेश मातहतका कर्मचारीहरुले ताला लगाइदिएका थिए ।

संघ–प्रदेश कर्मचारी विवाद

यी दुवै कार्यालय एउटै भवनमा सञ्चालित छन् । कार्यालयमा भएका समानहरु संघ र प्रदेशका कर्मचारीहरुले आ–आफ्नो दाबी गर्दा विवाद भएको हो । केही दिनअघि प्रदेशमातहत रहेको डिभिजनका हाइड्रोजियोलोजिस्ट पुष्पराज दाहाल सरुवा भएका थिए । दाहालले समितिबाट पछि फिर्ता गर्ने गरी मेसिन, फ्रिजलगायतका सामान लगेर प्रयोग गर्दै आएका थिए । तर बुधबार रमाना लिएर जानुअघि ती सामान समितिलाई हस्तान्तरण गरेनन् । त्यसपछि ती सामान भएको कक्षमा बुधबार दिउँसो समितिका कर्मचारीले ताला लगाइदिए । तर ती सामानको उपयोग आफूले गर्न पाउनुपर्ने भन्दै डिभिजन कार्यालयका कर्मचारीले समितिको कार्यकक्षमै ताला लगाइदिएका हुन् । डिभिजन कार्यालयका कर्मचारीहरु मन्तलाल श्रेष्ठ, नसिबलाल यादव, बैजनाथ पासवान, मनोज गिरी, भगवानदत यादवलगायतले कार्यालय प्रमुख सुदर्शन अधिकारीको इसारामा आफूहरुलाई थुनेको नासु पौडेलको आरोप छ ।

तर डिभिजन प्रमुख अधिकारी भने सम्पत्ति सबै प्रदेशमातहत आउने गरी हस्तान्तरण भइसकेको दाबी गर्छन् । ‘कार्यालयमा हामी प्रमुखबीच कुनै विवाद छैन तर तल्लो तहका कर्मचारीबीच तँछाडमछाड हुने गरेको छ,’ उनले भने, ‘स्रोतसाधन प्रयोगमा संघीय सरकारका केही कर्मचारीले बदमासी गर्दै आइरहेका छन् ।’ ती सामग्री भएको कोठामा दुवै पक्षले ताला लगाएको तर अहिले खुलिसकेको उनले बताए ।

सिँचाइ कार्यालय पहिले एउटै थियो । संघीयता कार्यान्वयनपछि संघ र प्रदेशका गरी दुई कार्यालय भए । दुवै कार्यालयको जिम्मा सुरुमा उनै अधिकारीलाई थियो । संघीय कार्यालयमा पहिले विकास बजेट थिएन । कर्मचारीलाई तलब खुवाउने कार्य मात्रै हुन्थ्यो । गत असारमा बजेट विनियोजन भएपछि कार्यालय प्रमुखका रूपमा विश्वबन्धु केसी आए । केसीका अनुसार कर्मचारीबीच विवाद भएर तालाबन्दी भएको र डिभिजन प्रमुख अधिकारीसँगको समन्वयमा तालाबन्दी खुलेको बताए । सम्पत्ति सबै समितिकै नाममा रहेको र हस्तान्तरणको प्रक्रियामा गएको उनको भनाइ छ ।

प्रकाशित : आश्विन ७, २०७८ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?