१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रदेश २ का मन्त्री शर्मा भन्छन्- 'आफ्नै कामबाट पनि सन्तुष्ट छैन'

शंकर आचार्य

पर्सा — प्रदेश २ सरकारका खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माले आफ्नो सरकारको क्रियाकलापबाट असन्तुष्ट रहेको बताएका छन् । बिहीबार वीरगन्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले असन्तुष्टि पोखेका हुन् । ‘हामीले जनतालाई धेरै आशा, विश्वास, सपना देखाएका थियौं,’ उनले भने, ‘झण्डै साढे तीन वर्ष भयो हामी संसद्‌मा गएको, न म आफ्नै कामले सन्तुष्ट छु, न सरकारको क्रियाकलापले ।’

प्रदेश २ का मन्त्री शर्मा भन्छन्- 'आफ्नै कामबाट पनि सन्तुष्ट छैन'

मन्त्री शर्माले बाराको अमलेखगन्जमा रहेको खानेपानीको समस्या समाधान गर्न पथलैयादेखि अमलेखगन्जसम्म पाइपलाइनमा पानी लान प्रयास जारी रहेको बताए । ‘मोतिहारीबाट इन्धन अमलेखगन्जसम्म लग्न सकिन्छ भने १० किमि टाढा रहेको पथलैयाबाट पानी किन अमलेखगन्ज लग्न सकिँदैन,’ उनले भने, ‘यसको लागि डीपीआर तयार गर्ने काम भइरहेको छ, अमलेखगन्जवासीको समस्या हल गर्ने हरसम्भव प्रयास जारी छ ।’

संघीय सरकारले प्रदेश २ सरकारलाई २० मेगावाट बिजुली उत्पादन गर्न बजेट दिने घोषणा गरेको लामो समय बित्दा पनि बजेट नपाएको उनले गुनासो गरे । ‘हामीले प्रदेशका विभिन्न स्थानमा सौर्य उर्जाबाट बिजुली उत्पादन गर्न ठाउँको चयन पनि गरिसकेका छौं,’ उनले भने, ‘विद्युत् प्राधिकरणको नियमावलीले प्रदेश सरकारलाई रोकेर राखेको छ ।’

मन्त्री शर्माले चुरे दोहन नरोकिए मधेसमात्रै नभई देशै नरहने चेतवानीसमेत दिए । ‘चुरे नरहे मधेसमात्र होइन’, उनले भने, ‘देशकै अन्न भण्डार मधेस तहस-नहस भएरै देशै रहने छैन ।’ उनले प्रदेशका सबै विद्यालय र एफएमहरुलाई नि:शुल्क बिजुली उपलब्ध गराउने आफ्नो प्रयास जारी रहेको समेत बताए ।

प्रदेश २ सरकारका निवर्तमान भौतिक पूर्वाधारमन्त्री तथा प्रदेशसभा सांसद जीतेन्द्र सोनलले चुरे संरक्षण केन्द्रीय सरकारको दोहोरो मापदण्ड रहेसम्म सम्भव नरहेको बताए । ‘संघीय सरकार एकातिर चुरे जोगाउ भन्छ, अर्कोतिर चुरेमा बिजुली बत्ती, खानेपानी, मेसिनरी उपकरण लगाएर सडक तथा अन्य भौतिक विकासको काम गर्छ ।’



प्रकाशित : आश्विन ७, २०७८ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?