कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

नयाँ सवारी चालकलाई परीक्षणकालीन कार्ड

भूषण यादव

वीरगन्ज — यातायात व्यवस्था कार्यालय वीरगन्जले सवारी चालक अनुमतिपत्र वाहकलाई बिहीबारदेखि परीक्षणकालीन कार्ड वितरण सुरु गरेको छ । ट्रायल परीक्षा पास गरेका सेवाग्राहीले लामो समयसम्म स्मार्ट कार्ड नपाउँदा सास्ती खेप्दै आएका छन् ।

नयाँ सवारी चालकलाई परीक्षणकालीन कार्ड

यसअघि पास भएका चालकलाई यातायात कार्यालयले रसिद दिँदै आएको थियो । कतिपय ट्राफिक प्रहरीले रसिद देखाउँदा पनि जरिवाना काट्ने गरेको गुनासो बढ्दो थियो । कार्यालयमा आयोजित एक कार्याक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले ५ जना नयाँ सवारी चालक अनुमतिपत्र वाहकलाई परीक्षणकालीन कार्ड वितरण गरेका थिए । सीमित स्रोत साधनका कारण माग बमोजिम स्मार्ट लाइसेन्स वितरण गर्न नसकिएकाले एक वर्षका लागि परीक्षणकालीन कार्ड वितरण गरिएको प्रजिअ घिमिरेले जनाए ।

यातायात कार्यालयका प्रमुख सुशील साह कानुनले परीक्षणकालीन कार्डमा क्यूआर कोड जडान गरिएको बताए । नयाँ सवारी चालक अनुमतिपत्र वाहकले लिखित र ट्रायल परीक्षा पास गरेपछि राजस्व दाखिला गरी रसिद काटेकै दिन परीक्षणकालीन कार्ड उपलब्ध गराइने साहले जनाए ।

‘क्यूआर कोड जडित कार्ड नक्कली हो कि सक्कली हो त्यस परीक्षण गर्न सकिन्छ,’ साहले भने, ‘विभागको एपमा कार्डको क्यूआर कोड स्क्यान गर्ने बित्तिकै त्यसको विवरण देखाउँछ, नक्कली हो भने विवरण देखाउँदैन ।’ वीरगन्ज कार्यालयमा विगत ८ महिनादेखि नयाँ स्मार्ट कार्ड विभागबाट आएको छैन । ‘हाल विभागमा कार्डको अभाव छ,’ कार्यालय प्रमुख साहले भने, ‘सेवाग्राहीले थप सास्ती खेप्नु नपरोस् भनेर परीक्षणकालीन कार्ड वितरण सुरु गरिएको हो ।’

प्रकाशित : आश्विन ७, २०७८ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?