१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सीमामा नक्कली नोटको कारोबार

मेला, हाटबजारदेखि अवैध मोबाइल र लागूऔषध खरिदबिक्रीमा प्रयोग
लक्ष्मी साह

बारा — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत शनिबार बाराको निजगढ–८ को ताराइन होटलबाट पाँच जनालाई नक्कली नोटसहित पक्राउ गर्‍यो । पक्राउ पर्नेमा रौतहट गुजरा–३ का २४ वर्षीय सुनिलकुमार राम, ३६ वर्षीय रवीन्द्रकुमार चौधरी, बाराको करैयामाई–५ का ३६ वर्षीय विशेश्वरप्रसाद चौधरी, कलैया–९ रामपुर टोलका २४ वर्षीय सागर शुक्ला र विश्रामपुर–५ इटियाहीका २५ वर्षीय राजु कुशवाहा छन् । 

सीमामा नक्कली नोटको कारोबार

नेपाली १ हजार रुपैयाँ दरका ६४ वटा नोट, हजारकै नोट आकारको ९३ वटा गड्डी कागज (प्रतिगड्डीमा सय थान), बाइक र स्कोर्पियो एक थान बरामद भएको थियो । उनीहरुविरुद्ध प्रहरीलेखोटाचलन मुद्दा अघि बढाएको छ । पछिल्लो समय सीमा क्षेत्रमा नक्कली नोटसहित यसरी पक्राउ पर्नेको संख्या बढेको छ । नक्कली नोटको कारोबारमा संलग्न गिरोहलाई पत्ता लगाउन प्रहरीले भारतीय सुरक्षा अधिकारीसँगै वीरगन्जस्थित महावाणिज्य दूतावाससित समन्वय गर्दासमेत नियन्त्रणमा आउन सकेको छैन ।

‘कारोबार गर्ने सञ्जाल पत्ता लगाउन लामो समयदेखि भारतीय सुरक्षा अधिकारीसित समन्वय गरिरहेका छौं,’ जिल्ला प्रहरी बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले भने, ‘कहिले भारतीय नक्कली त कहिले नेपाली नक्कली नोट बरामद हुने गरेको छ ।’ उनका अनुसार तीन/चार तहबाट यो कारोबार हुने गरेको छ । ‘भरियामार्फत उनीहरूले एक ठाउँबाट अर्को ठाउँमा सार्दै भारतबाट छापेर ल्याउँदा रहेछन्,’ उनले भने ।

भारतसँगको सीमावर्ती जिल्लामा पछिल्लो एक वर्षयता नक्कली नोटको कारोबार मौलाएको प्रहरीकै अभिलेखले देखाउँछ । प्रहरीको अहिलेसम्मको अनुसन्धानबाट चोरीको मोबाइल सेट, लागूऔषध र जग्ग्गा खरिदबिक्रीमा नक्कली नोटको कारोबार हुने गरेको खुलेको छ । प्रहरीले चार वर्षयता नक्कली नोटसम्बन्धी कसुरअन्तर्गत १७ जनामाथि खोटाचलन मुद्दा चलाएको छ ।


नेपालमा महँगो अवैध मोबाइल सेट बिक्री गरेर भारततर्फ फर्किरहेको एक भारतीयसहित २ जनालाई एक वर्षअघि प्रहरीले १२ लाख १६ हजार नेपाली नक्कली नोटसहित दसगजा नजिकै सिम्रौनगढ–९ बसबरियाबाट पक्राउ गरेको थियो । बारागढी–५ का २३ वर्षीय बलिराम चौधरी र भारत मोतिहारी जिल्लाको झरोखर गाउँका २७ वर्षीय सन्दीपकुमार साहलाई बा६४प ९७०६ नम्बरको मोटरबाइक र उक्त नक्कली नोटसहित पक्राउ गरिएको थियो ।

यो घटनाको एक महिनाअघि प्रहरीलाई देखेपछि दुई जनाले महागढीमाई–७ बेनौली चोकमा १६ लाख नेपाली नक्कली नोट छाडेर भागेका थिए । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले गत साउन ४ मा लागूऔषध किन्न आएका दुई जना भारतीय युवकसहित तीन जनालाई १५ लाख ३९ हजार ६ सय नक्कली नोटसहित महागढीमाई–२ इनर्वा चोकबाट पक्राउ गरेका थियो । बाराकै आदर्शकोतवाल–६ का नरेन्द्र कुसवाहा, सिम्रौनगढ नगरपालिका–५ का मनोजकुमार साह तेली र भारत झरौखर ग्रामपञ्चायतका–१० का सुधीर कुसवाहा पक्राउ परे ।

डीएसपी मिश्रका अनुसार एक वर्षयता लागूऔषध र भारतीय अवैध मोबाइल सेट खरिदबिक्रीमा प्रयोग गरिएको ३२ लाख नक्कली रुपैयाँ बरामद गरिएको छ । प्रहरीका अनसार एक वर्षयता सुराकीका आधारमा १ करोड १० लाख नक्कली नेपाली नोट बरामद गरिएको छ । नक्कली नोट बरामद हुन थालेपछि प्रहरीले सीमा आसपासमा निगरानी बढाएको छ । केही समययता दसगजा आसपासको ठाउँमा नेपाली नक्कली नोट छ्यापछ्याप्ती पाइने गरेको छ ।

केही वर्षअघि भारतीय नक्कली नोटको बिगबिगी हुँदा भारत सरकारले नोटबन्दी गरेको थियो । त्यसपछि भारतीय नक्कली नोट बरामदका घटना कम हुन थालेको छ । तर मेला, हाटबजार र स्थानीय बजारहरूमा नेपाली नक्कली नोटको प्रयोग बढेको छ । ‘पारिबाट अवैध मोबाइल ल्याएर वारि बिक्री गर्दा वारिपट्टिकाले नक्कली पैसा दिएर ठगीसमेत गर्दा रहेछन्,’ डीएसपी मिश्रले भने, ‘दुवै गिरोहको सञ्जाल पता लगाउन विस्तृत अनुसन्धान भइरहेको छ ।’

प्रहरीले पटकपटक नक्कली नोट बरामदसहित ओसारपसार गर्ने गिरोहलाई पक्राउ गरे पनि नोट छापिने ठाउँ पत्ता लगाउन सकेको छैन । नक्कली नोट कहाँबाट ल्याउँछन् ? उनीहरू कहिलेदेखि यो धन्दामा छन् ? भन्ने प्रहरीले खुलाउन सकेको छैन । पक्राउ परेकालाई खोटा चलनअन्तर्गत मुद्दा दर्ता गरी अदालतमा पेस गरिन्छ । अदालतले उनीहरूलाई मुद्दाको थप पुष्टि गर्न पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिन्छ । तर त्यसपछि थप अनुसन्धान अघि बढ्न सकेको देखिँदैन । ‘पक्राउ परेका अभियुक्तहरूको बयानबाट भारतीय दूतावासमार्फत अनुसन्धानकै सिलसिलामा छौं,’ डीएसपी मिश्रले भने, ‘मिसन बनाएर खटेका छौं, पत्ता लगाएरै छाड्छौं ।’

प्रकाशित : आश्विन ७, २०७८ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?