सप्तरीमा दिदीभाइको मृत्यु
काठमाडौँ — सप्तरीमा ओछ्यानमै बेहोस अवस्थामा भेटिएका दुई बच्चाको मृत्यु भएको छ । खडग नगरपालिका २ सिस्वा बेल्हीका राजेश मण्डलकी १४ वर्षीया छोरी सुनिता र ९ वर्षीय छोरा कृष्ण मंगलबार मृत्यु भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
उनका अनुसार खाना खाएर सोमबार राति एउटै ओछ्यानमा सुतेका दिदीभाइ मंगलबार बिहान दुबैको ओछ्यानमै मुखबाट फिज आइरहेको देखेपछि परिवारका सदस्यले लहान अस्पताल लगेका थिए । लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचारका क्रममा सुनिताको मृत्यु भएको नायव उपरीक्षक काफ्लेले बताए । यस्तै कृष्णलाई थप उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको काफ्लेले बताए । दिदीभाइको मृत्युको कारण भने खुलेको छैन ।
ओछ्यानमा सर्पले डसेर उनीहरुको मृत्यु भएको आशंका गरिए पनि पोस्टमार्टम रिपोर्ट नआएसम्म यकीन नहुने काफ्लेले बताए । ‘पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ, अनुसन्धान पनि सुरु गरेका छौं’, काफ्लेले भने, ‘चाँडै मृत्युको कारण खुल्ने छ ।’
प्रकाशित : आश्विन ६, २०७८ १५:४३