कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खाल्डा–पोखरीले बढायो जोखिम

३ महिनामै १० बालबालिकाको डुबेर मृत्यु, निगरानी गर्न अभिभावकलाई आग्रह
शिव पुरी

रौतहट — तीन दिनयता रौतहटमा डुबेर ३ बालबालिकाको ज्यान गएको छ । वर्षा लागेपछि तराईका गाउँघरमा बनाइएको खाडल र पोखरीमा जमेको पानीमा डुबेर बर्सेनि बालबालिकाको मृत्यु हुन्छ । रौतहटमा मात्रै ३ महिनायता १० बालबालिकाको डुबेर मृत्यु भइसकेको छ । 

खाल्डा–पोखरीले बढायो जोखिम

रौतहटको देवाहीगोनाही नगरपालिकामा पछिल्लो ३ दिनभित्र ३ बालिकाको डुबेर ज्यान गएको हो । देवाही गोनाही–६ कर्कच करमैयाका मोहन साहको साढे दुई वर्षकी छोरी ज्योतिकुमारी साहको गएको आइतबार गाउँनजिकको नहरछेउमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । अघिल्लो दिन पनि दुई बालिकाको मृत्यु भएको थियो । घोंगी टिप्न पोखरीमा गएकी कटहरिया नगरपालिका–६ का १० वर्षीय निशु कुश्वाहा र वृन्दावन नगरपालिका–२ का १४ वर्षीय मुस्कान कुमारीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी श्रीराम भण्डारीले वर्षाका बेला गाउँघरको खाल्टो, पोखरीमा पानी जमेको हुन्छ । ‘बालबालिकाले गहिराइको हेक्का राख्न नसक्दा डुब्ने गर्छन्,’ उनले भने, ‘वर्षाको बेला अभिभावकले बालबालिकाको निरगानी राख्न जरुरी छ ।’

५ दिनअघि बौधीमाई नगरपालिका ५ का जनरेल धोबीका नाबालक छोरा अरमान धोबी घरअगाडिको सडकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको थियो । त्यस्तै, डेढ साताअघि गरुडा नगरपालिका ८ जिगंडियाका २ वर्षीया हसिना खातुनको घरनजिक खेल्दै गरेको अवस्थामा खाडलमा जमेको पानीमा डुबेर मृत्यु भयो । आँगनमा जमेको पानी बाहिर निकास दिन बनाइएको खाडलमा परेर बालिकाको मृत्यु भएको थियो । असार १६ गते गौर नगरपालिका ४ का बालकप्रमोद साहको बाटोमा जमेको पानीमा डुबेर मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले वर्षाका बेला बालबालिकालाई जथाभावी बाहिर खेल्न जान नदिन र घर वरपर, बाटोको खाडल पुर्न अनुरोध गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार असार २१ गतेयता खाल्टो, पोखरीमा डुबेर रौतहटमा १० बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरीका डीएसपी नारायण चिमरियाका अनुसार ३ महिनामा सडकको खाडलमा जमेको पानीमा डुबेर ७ जना बालिकाको मृत्यु भएको छ । पोखरीमा डुबेर १ र खोलाले बगाएर २ बालबालिकाको मृत्यु भएको छ ।

लगातारको वर्षापछि स्थानीय तहले सडक बनाउने क्रममा बनाइएका खाडलमा पानी जम्छ । सामान्य ठानेर गर्मीमा बालबालिका पौडी खेल्न जान्छन् । त्यसैमा डुबेर उनीहरूको ज्यान जाने गरेको छ । सडक विस्तारका नाममा जमिनमा जताततै ठुल्ठूला खाडल खनिएको हुन्छ । यस्तो समयमा अभिभावकले पनि आफ्ना छोराछोरी कहाँ जान्छन् र के गर्दै छन् भनेर हेक्का राख्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

प्रकाशित : आश्विन ६, २०७८ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?