कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

वीरगन्जका आँखा अस्पतालमा भारतीय बिरामी घटे

शंकर आचार्य

पर्सा — वीरगन्जका आँखा अस्पतालमा भारतीय बिरामीको चाप घटेको छ । नाकामा सहज आउजाउ नहुँदा भारतीय बिरामीको संख्या घटेको हो । सामान्य अवस्थामा भारतीय बिरामीको उपचार गन्तव्य रहेका यहाँका आँखा अस्पतालमा चहलपहल देखिँदैन । वीरगन्जमा झन्डै आधा दर्जन आँखा अस्पताल छन् । अरू बेला यी अस्पतालमा बढीजसो बिरामी भारतीय नै हुने गरेका थिए । 

वीरगन्जका आँखा अस्पतालमा भारतीय बिरामी घटे

दृष्टि आँखा अस्पतालमा गत आर्थिक बर्षमा उपचारार्थ ५० हजार ४ सय ६९ बिरामी आएकोमा ८० प्रतिशत नेपाली र २० प्रतिशत भारतीय थिए । अस्पतालका सञ्चालक विश्वराज गौतम सामान्य अवस्था भएको भए यो तथ्यांक ठीक विपरीत हुने बताउँछन् ।

‘सामान्य अवस्थामा हाम्रो मात्र नभई वीरगन्जका प्रायः सबै अस्पतालमा नेपालीको तुलनामा भारतीय बिरामी नै बढी हुन्थे,’ उनले भने, ‘२ वर्षयता भने स्थिति भिन्न छ, भारतीय बिरामी घटेका छन् ।’ वीरगन्ज सामुदायिक आँखा अस्पतालका मेडिकल कोअर्डिनेटर महेशसिंह धामी आफ्नो अस्पतालको अवस्था पनि यस्तै रहेको बताउँछन् । ‘हाम्रो अस्पतालमा पनि सामान्य अवस्थामा ६० प्रतिशत बिरामी भारतीय हुन्थे, तर अहिले २० प्रतिशत पनि छैनन्,’ उनले भने ।

नारायणी आँखा अस्पतालका सञ्चालक डा. पदमराज विष्ट २ पटकको लकडाउनले भारतीय बिरामीको चाप घटेको बताउछन् । ‘सीमानजिक भएकाले हालका दिनहरूमा हाम्रो अस्पतालमा भारतीय बिरामीहरू जसोतसो आइरहेका छन्, सीमाबाट टाढा रहेका अस्पतालमाहरूमा पक्कै पनि भारतीय बिरामी कम नै छन्,’ उनले भने, ‘मोटरसाइकल, टाँगा तथा निजी चारपांग्रे सवारी चढेर भारतीय बिरामीहरू सहजै यहाँ आउन नसक्ने भएकाले पहिलेकै जस्तो भने छैन ।’

कुनै समय नेपालका सीमावर्ती गाउँका बिरामीहरूको पनि आँखा उपचारको गन्तव्य भारतको सीतापुर आँखा अस्पताल हुन्थ्यो । बिस्तारै नेपालका आँखा अस्पतालहरूको गुणस्तरीय सेवाबारे चर्चा फैलिँदै गएपछि भारतीयहरू यता आउन थाले । यहाँका आँखा अस्पतालमा सामान्य अवस्थामा कुल बिरामीमध्ये करिब ६० प्रतिशत भारतीय नै हुन्छन् ।

विशेष गरी भारतको बिहार र उत्तरप्रदेश राज्यबाट बिरामी आउने गरेका छन् । सीमावर्ती भारतीय सहरहरूमा सामान्य मोतीबिन्दुको शल्यक्रिया गर्दा पनि कम्तीमा १० हजार रुपैयाँ खर्च हुने र सेवा पनि गुणस्तरीय नहुने समस्या छ । तर यहाँ सरदर २ हजार रुपैयाँ खर्च गरेर सहजै शल्यक्रिया गर्न सकिने भएकाले भारतीय बिरामीको आकर्षण नेपाली आँखा अस्पताल छ ।

प्रकाशित : आश्विन ६, २०७८ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?