सप्तरीमा डुबेर दुई बालिकासहित ३ को मृत्यु

अवधेशकुमार झा

राजविराज — पानीमा डुबेर मंगलबार सप्तरीमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालिका र एक महिला छन् । मंगलबार साझ सवा ५ बजेको समयमा खडग नगरपालिका ८ मुसहरनियामा रहेको पोखरीमा स्थानीय राजेशकुमार चौधरीकी ३ वर्षीया छोरी एलिजाकुमारी चौधरी डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घरभन्दा ५ मिटर पश्चिम रहेको पोखरीमा बालिका डुबिरहेको अवस्थामा परिवारका सदस्यले देखेपछि निकालेर उपचारका लागि लहान लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो ।

यस्तै महदेवा गाउँपालिका ४ परसाही टोलस्थित सार्वजनिक पोखरीमा स्थानीय अमृत सदाकी ३० वर्षीया छोरी लक्षनकुमारीको डुबेर मृत्यु भएको छ । छारे रोगबाट पीडित रहेकी लक्षनकुमारी भाडा पखाल्‍न पोखरी गएकी बेला डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार नै तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाका भतो मंसुरीकी १२ वर्षीया छोरी सवाना खातुनको नहरमा डुबेर मृत्यु भएको छ । घर नजिकैको नहरमा कपडा धुने क्रममा डुबेर उनको मृत्यु भएको हो । प्रहरीले शवलाई पोस्टमार्टमका लागि राजविराज ल्याएको थियो । मंगलबार डुबेर मृत्यु भएको तीनै घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७८ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?