सप्तरीमा डुबेर दुई बालिकासहित ३ को मृत्यु- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीमा डुबेर दुई बालिकासहित ३ को मृत्यु

अवधेशकुमार झा

राजविराज — पानीमा डुबेर मंगलबार सप्तरीमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालिका र एक महिला छन् । मंगलबार साझ सवा ५ बजेको समयमा खडग नगरपालिका ८ मुसहरनियामा रहेको पोखरीमा स्थानीय राजेशकुमार चौधरीकी ३ वर्षीया छोरी एलिजाकुमारी चौधरी डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घरभन्दा ५ मिटर पश्चिम रहेको पोखरीमा बालिका डुबिरहेको अवस्थामा परिवारका सदस्यले देखेपछि निकालेर उपचारका लागि लहान लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो ।

यस्तै महदेवा गाउँपालिका ४ परसाही टोलस्थित सार्वजनिक पोखरीमा स्थानीय अमृत सदाकी ३० वर्षीया छोरी लक्षनकुमारीको डुबेर मृत्यु भएको छ । छारे रोगबाट पीडित रहेकी लक्षनकुमारी भाडा पखाल्‍न पोखरी गएकी बेला डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार नै तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाका भतो मंसुरीकी १२ वर्षीया छोरी सवाना खातुनको नहरमा डुबेर मृत्यु भएको छ । घर नजिकैको नहरमा कपडा धुने क्रममा डुबेर उनको मृत्यु भएको हो । प्रहरीले शवलाई पोस्टमार्टमका लागि राजविराज ल्याएको थियो । मंगलबार डुबेर मृत्यु भएको तीनै घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७८ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै जानुपर्ने भएपछि देउवाले परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन् ।

खड्कालाई बुधबार बिहान नियुक्त गरिने स्रोतले जनाएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीले नेपाली टोलीको नेतृत्व गर्दै महासभामा जाने निर्णय गरेको थियो ।

उदयपुर १ बाट निर्वाचित भएका ७२ वर्षे खड्का कांग्रेसका केन्द्रीय सदस्य हुन् । अर्थशास्त्रमा विद्यावारिधी गरेका खड्का यसअघि सहरी विकासमन्त्री बनेका थिए ।

मंगलबार अपरान्ह भएको सत्तागठन्धनको बैठकमा खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए । नेकपा (एस)का माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)ले त्यस विषयमा आपत्ति नजनाएपनि परराष्ट्रमन्त्रीको आका‌क्षी रहेका रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विरोध गरेको स्रोतले जनाएको छ । तर देउवाले परराष्ट्र मन्त्रालय कांग्रेसले लिने र त्यसको जिम्मेवारी खड्काले पाउने बैठकमा जनाकारी गराएका थिए ।

प्रकाशित : आश्विन ५, २०७८ २०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×