बाराको सिम्रौनगढ नगरपालिकामा एक सातादेखि सेवा ठप्प

लक्ष्मी साह

बारा — सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरुले एक सातादेखि सेवा ठप्प पारेका छन् ।

अस्पताल तोडफोड गर्ने र कर्मचारी कुटपिटमा संग्लन्‍नमाथि कारबाहीको माग गर्दै उनीहरुले शिक्षा, स्वास्थ्य, वडा कार्यालय र नगरपालिकाबाट दिइने सबै सेवा तथा विकास निर्माणका काम बन्द गराएका हुन् ।

बाराको सिम्रौनगढ नगरपालिकामा एक सातादेखि सेवा ठप्प

माग पूरा गराउनका लागि मंगलबार प्रमुख जिल्ला अधिकारी‍समक्ष ज्ञापन पत्र बुझाइएको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार साहले बताए । उनका अनुसार क्षतिको मूल्यांकनसहित घटनाबारे छानबिन गर्न प्रमुख जिल्ला अधिकारीबाट आदेश भएको छ ।

‘घटनाको छानबिन गरी दोषीमाथि कारबाही र सुरक्षाको भरपर्दो व्यवस्था नभएसम्म काममा फर्किँदैनौं,’ उनले भने, ‘नगरका कर्मचारी, स्वास्थ्यकर्मीसँगै नगरपालिका कार्यालय तथा अस्पतालमा भौतिक सम्पत्ति तोडफोडले ठूलो नोक्सान भएको छ, कर्मचारीसमेत घाइते छन् ।’

प्रहरी नायव उपरीक्षक गौतम मिश्रले घटनाबारे अनुसन्धान गरेर दोषीमाथि कारबाही गरिने बताए ।

तर निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले प्रहरीले चासो नदिएको आरोप लगाएका छन् । ‘घटनामा प्रहरीले चासो दिएको छैन्,’ उनले भने, ‘अहिलेसम्म न कसैलाई पक्राउ गरिएको छ, न अनुसन्धान भएको छ ।’

सिम्रौनगढ नगरपालिका–२ मौवाही गाउँका सतिश साहको डेढ वर्षीय छोरालाई सर्पले डस्दा उपचार नपाएर मृत्यु भएको भन्दै मृतक परिवार र गाउँका केही समूह मिलेर गत भदौ २८ मा अस्पताल र नगरपालिका कार्यालयमा तोडफोड गरेका थिए । शव सहित प्रदर्शनमा उत्रिएको आक्रोशित समूहले कर्मचारी तथा स्वास्थ्यकर्मीलाई समेत कुटपिट गरी घाइते बनाएको थियो । त्यसक्रममा अस्पतालको कम्प्युटर, सिसाको झ्याल, फार्मेसी, नगरपालिका कार्यालयको ढोकालगायतमा क्षति पुगेको छ ।

प्रदर्शनकारीको कुटपिटबाट नगरपालिकाका अपाङ्गता शाखाका कर्मचारी प्रयाग महतो सख्त घाइते भएका थिए । उनी पनि शारीरिक अपाङ्ता भएका व्यक्ति हुन् ।

सिम्रौनगढ अस्पतालका इन्चार्ज जितेन्द्र यादवका अनुसार महतो, नगर प्रहरीसहित अन्य १२ जना समान्य घाइते भएका थिए ।

बालकको अवस्था नाजुक र अस्पतालमा भेन्टिलेटर तथा आईसीयूको व्यवस्था नभएकाले अन्यत्र लैजान चिकित्सक, स्वास्थ्यकर्मीले सल्लाह दिएका थिए । कलैया लैजाँदै गर्दा बाटोमै बालकको मृत्यु भएको आफन्त ताराचन्द साहले बताए । बीच बाटोमै बालकको मृत्यु भएपछि आक्रोशित समूह तोडफोड गरेको थियो ।

प्रकाशित : आश्विन ५, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?