कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

वीरगन्ज–रक्सौल : पैदल निस्फिक्री, यात्रुवाहक गाडीलाई मात्र रोक

यात्रुवाहक गाडीलाई प्रवेश नदिइँदा भारतीय पर्यटक नआएकाले होटल व्यवसाय थलिएको भन्दै व्यवसायीले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र
भूषण यादव

वीरगन्ज — भारत, दिल्लीको एक निजी अस्पतालमा ‘माइग्रेन’को उपचार गराएर सोमबार वीरगन्ज फर्किने क्रममा ४५ वर्षीय राजेन्द्र साह रक्सौलको रेल्वे स्टेसनदेखि मितेरी पुलसम्म अटो रिक्सामा आए । सीमावर्ती वीरगन्ज र भारतीय बजार रक्सौल जोड्ने मितेरी पुल कट्नेबित्तिकै रिक्सा चालकले यात्रुलाई ओर्लिन भने । त्यहाँबाट राजेन्द्र भाइ रमेशसँगै सुटकेस गुडाउँदै वीरगन्ज भन्सार एरिया पुगे । करिब ५ सय मिटर पैदल हिँडेपछि फेरि वीरगन्ज आउने इरिक्सा चढे । 

वीरगन्ज–रक्सौल : पैदल निस्फिक्री, यात्रुवाहक गाडीलाई मात्र रोक

भारत, विहारको पूर्वी चम्पारण, छपरा माइती भएकी वीरगन्ज–१६ गहवाकी पुनम देवी सोमबार बच्चा र ब्याग च्यापेर रक्सौलतर्फ लागिन् । वीरगन्ज भन्सारबाट मितेरी पुलसम्म हिँडेर गएकी उनी त्यहाँबाट इरिक्सा चढिन् ।

वीरगन्ज–रक्सौल नाकाबाट अहिले यसै गरी दिनहुँ सयौं मानिस निस्फिक्री दुई देश आउजाउ गरिरहेका छन् । सरकारले डेढ वर्षयता कोरोना नियन्त्रणका लागि सीमानाकामा कडाइ गरे पनि मालवाहक सवारी, साइकल, मोटरसाइकल आवतजावतमा कुनै रोकतोक छैन । तीनचक्के र चारचक्के गाडीलाई भने केही कडाइ गरिएको छ । नाकास्थित इनर्वा प्रहरी चौकीमा ३ महिना बसेका सई विनोद सिंहका अनुसार यात्रुवाहक सवारी निषेध हुँदा पनि दैनिक करिब एक लाख मानिस आवतजावत गर्ने गरेका छन् ।

नेपालीहरू बिनारोकटोक मोटरसाइकल लिएर किनमेलका लागि रक्सौल बजारसम्म पुग्छन् । इरिक्सा/टेम्पो चढेर जानेहरू वीरगन्ज भन्सारअगाडि ओर्लिन्छन् । अनि करिब ५ सय मिटर हिँडेपछि रक्सौल जाने इरिक्सा/टेम्पा चढ्छन् । प्रहरीका हाकिमसँग चिनजान हुनेहरू नेपाली नम्बरको चारचक्के सवारीसाधनै लिएर जान्छन् ।

नाकामा खटिएका सुरक्षाकर्मीले कहिलेकाहीँ मुख्य सडकबाट आवतजावतमा निषेध गरे सर्वसाधारणले भन्सार पूर्वपट्टिको बाटो प्रयोग गर्छन् । नेपालबाट जानेहरू निस्फिक्री आउजाउ गरिरहे पनि भारतबाट भने यात्रुवाहक सवारी आउन रोक लगाइएको छ । सामाजिक अभियन्ता ओमप्रकाश सर्राफका अनुसार सरकारको अदूरदर्शी निर्णयका कारण यस क्षेत्रका जनताले सास्ती भोगिरहेका छन् । ‘भारत सरकारले नाका खालेपछि नेपालीहरू सीमावर्ती भारतीय बजारमा किनमेल गर्न गएका छन्, हाम्रो पैसा उता गइरहेको छ,’ उनले भने, ‘तर, नेपाली नाका नखुलेकाले भारतीय गाडीले अधिकारिक प्रवेश पाएका छैनन्, जसले गर्दा नेपालको पर्यटन क्षेत्र प्रभावित बनेको छ ।’

निषेधाज्ञाअघि नेपालका सीमावर्ती क्षेत्रमा सञ्चालनमा रहेका आँखा अस्पतालमा समेत हजारौँ भारतीय आउने गरेका थिए । तर अहिले यात्रुवाहक सवारी सहज नभएकाले पारिबाट आउने बिरामीको संख्या घटेको अस्पतालले जनाएका छन् ।

यसैबीच सोमबार होटल तथा पर्यटन व्यवसायी संघ पर्साको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर भारतीय यात्रुवाहक गाडी प्रवेशमा लगाइएको रोक तत्काल हटाउन माग राख्दै ज्ञापनपत्र बुझाए । वीरगन्ज र आसपासका होटल ७० देखि ८० प्रतिशतसम्म भारतीय पर्यटकमै निर्भर रहेकाले करिब २ सय होटल प्रभावित बनेको व्यवसायीले जनाएका छन् । ‘कोरोना महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध अन्य सम्पूर्ण क्षेत्रबाट हटाइए पनि नाकाबाट मालवाहक सवारीबाहेकका सवारी साधनको आवागमनमा लगाइएको रोक भने डेढ वर्षदेखि कायमै छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसले गर्दा भारतबाट तीर्थाटन र घुमफिरका लागि पर्यटक आउन छाडेका छन् । परिणामस्वरूप वीरगन्ज आसपासका क्षेत्रमा मात्रै रहेका २ सयभन्दा बढी होटलले सञ्चालन खर्च पनि धान्न सकिरहेका छैनन् ।’

संघका अध्यक्ष हरि पन्तका अनुसार आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सीमा–नाकाबाट भारतीय यात्रुवाहक सवारी साधनहरूको आवागमन तत्काल खुला गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । ‘प्रधानमन्त्री हाम्रो मागप्रति सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘भारतीय यात्रुवाहक सवारी नेपाल आवागमनमा तत्काल निर्णय लिने बताउनुभयो ।’

गत माघ ११ मा गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा कोरोना संक्रमणका कारण बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाका खुला गरिएको जनाएको थियो । त्यसअघि १४ नाका खोलिएका थिए । घोषणा गरिए पनि आवागमन अझै सहज भएको छैन । प्रदेश २ का आठवटै जिल्ला भारतसँग जोडिएका छन् । वीरगन्ज नाका केही सहज भए पनि बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको नाकाबाट पहिलेकै स्वरूपमा ओहोरदोहोर नभएको स्थानीयले गुनासो गर्दै आएका छन् । वीरगन्ज नाकाबाट मालवाहक भारतीय गाडी र नागरिकले प्रवेश पाए पनि निजी नम्बरका भारतीय सवारीले अझै प्रवेश अनुमति पाएका छैनन् । अन्य जिल्लाका नाकाबाट भारत प्रवेश गर्दा पनि मुख्य नाकाछाउका आली प्रयोग गर्नुपर्ने बाध्यता छ ।

वीरगन्ज–रक्सौल नाकामा सोमबार ओहोरदोहोर गर्दै सर्वसाधारण । तस्बिर : भूषण यादव/कान्तिपुर

प्रकाशित : आश्विन ५, २०७८ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?