उपचार गर्न जाने भन्दै ‘पतिलाई भारत पुर्‍याएर हत्या’

भदौ १८ गते शव भेटिएका सिरहाका दुखरन यादवको हत्या आरोपमा पत्नी हरिहरदेवी पक्राउ, ६० हजार रुपैयाँ ‘सुपारी’ दिएर प्रेमीमार्फत हत्या गराएको प्रहरीको दाबी
भरत जर्घामगर

सिरहा — सिरहाको गोलबजार नगरपालिका–४ निपनियाका ३९ वर्षीय दुखरन महरा मोचीको हत्यामा संलग्नता देखिएको भन्दै प्रहरीले उनकै पत्नीलाई पक्राउ गरेको छ । हत्याको मुख्य योजनाकार नै दुखरनकी पत्नी हरिहरदेवी रहेको प्रहरीको दाबी छ ।

हरिहरदेवीले उपचारको बहानामा भारत, जयनगर पुर्‍याई भारतीय नागरिक मुकेश यादवको समूहलाई ६० हजार रुपैयाँ दिएर पतिको हत्या गराएको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

दुखरन भारत, बिहारको जयनगर बजारनजिकै बरही गाउँमा भदौ १८ गते मृत फेला परेका थिए । धारिलो हतियारले घाँटी रेटिएको र अन्य विभिन्न भागमा चोट लागेको अवस्थामा शव भेटिएको थियो । ‘३८ वर्षीया हरिहरदेवीले भारतीय नागरिक २६ वर्षीय मुकेश यादवसँग मिलेर पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ बुढाथोकीले भने । हरिहरदेवीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ ।

प्रेमीसँग मिलेर हत्या योजना

दुखरन र हरिहरदेवीका ४ सन्तान छन् । पति १० वर्ष कतारमा काम गरे फर्केपछि गाउँमै फर्निचर र किराना पसल व्यवसाय गरिरहेका थिए । प्रहरी अनुसन्धानले देखाएअनुसार विदेशमा कमाएको रकम बचत नभएको भन्दै पति–पत्नी बीच बारम्बार झगडा हुने गथ्र्यो । दुखरन मादक पदार्थ सेवन गर्थे । पैसा कहाँ खर्च गरेको भन्दै पत्नीलाई कुटपिट गर्ने, पसलका सामान फालिदिने तथा आगो लगाइदिने गर्थे । बारम्बारको यातनाबाट छुटकारा पाउन हरिहरदेवीले हत्या योजना बुनेको प्रहरीले जनाएको छ ।

दुई वर्षअघि हरिहरदेवी पाठेघरको अप्रेसन गर्न एम्बुलेन्समा भारत, जयनगरस्थित अस्पताल गइन् । त्यही बेला चिनजान भएका एम्बुलेन्स चालक मुकेश यादवसँग उनको प्रेम बस्यो । प्रहरीका अनुसार हरिहरदेवीले प्रेमी मुकेशसँग पतिको हत्या गर्ने सल्लाह गरिन् ।

‘प्रेमीले भारतीय १ लाख रुपैंयाँ लाग्छ भनेको र मसँग त्यति धेरै पैसा छैन, ४०–५० हजार सम्म दिन सक्छु भनेपछि हत्याको योजना बनाएको देखिन्छ,’ डीएसपी बुढाथोकीले भने, ‘आवश्यक रकम व्यवस्थापन गर्नका लागि घरखर्चको अभाव भएकाले ऋण निकाल्नु पर्‍यो भनेर श्रीमान्सँग सल्लाह गरी गत भदौ १७ गते गोलबजारस्थित छिमेक लघुवित्तबाट ६० हजार ऋण लिइन् ।’

बुढाथोकीका अनुसार ऋण लिएपछि हरिहरदेवीले आफूलाई सन्चो नभएको र जयनगर गई उपचार गर्नुपर्ने भन्दै श्रीमान्लाई फकाइन् । उनीहरू भदौ १७ गते नै भारत पुगे । त्यसअघि नै हरिहरदेवीले सिरहाको माडरबाट प्रेमी मुकेशलाई आफूहरू आउँदै गरेको फोनबाट जानकारी दिइन् । योजनाअनुसार हत्याका लागि आवश्यक रकम पतिको खल्तीमै रहेको खबर पनि दिइन् ।

साँझ ६ बजे जयनगर रेल्वे स्टेसन पुगेपछि उनीहरू पसलमा चिया खान बसे । मुकेश पनि त्यहीँ आए । चिया खाएपछि मुकेशले दुखरनलाई बुलेट मोटरसाइकलमा राखेर लगेको र अन्य दुई भारतीयको सहयोगमा उनलाई बरही गाउँको नहरमा पुर्‍याई हत्या गरेको प्रहरीले जनाएको छ । घाँटी रेटेर हत्या गरेपछि उनीहरूले दुखरनको साथमा रहेको ६० हजार रुपैयाँसमेत लगे ।

हरिहरदेवी भदौ १८ गते बिहान जयनगरबाट आफ्नो घर निपनिया पुगिन् । प्रहरीले उनलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति लिएको छ । एम्बुलेन्स चालक मुकेशलाई भारतीय प्रहरीले पक्राउ गरी जयनगर थानामा राखेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७८ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?