३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पूर्व-पश्चिम रेलमार्ग निर्माण सुस्त

शिव पुरी

रौतहट — निर्माण थालिएको ३ वर्ष भए पनि पूर्व–पश्चिम रेलमार्ग आयोजनाको काम सुस्त छ । मुआब्जा झमेला, वन क्षेत्रको रुख कटान र कोभिड महामारीको कारण देखाउँदै आयोजनाको काममा ढिलाइ भएको हो । महोत्तरीको बर्दिवासदेखि सर्लाहीको वाग्मतीसम्म ड्याम र पुल निर्माण सकिसकेको छ । तर, निर्माण कम्पनीहरूले रौतहट खण्डमा कामै नथाल्दा सम्झौता मितिमा काम नसकिने भएको छ । 

पूर्व-पश्चिम रेलमार्ग निर्माण सुस्त

राष्ट्रिय गौरवको आयोजनामध्येको पूर्वपश्चिम विद्युतीय रेलमार्गको लम्बाइ ९ सय ४५ किलोमिटर छ । रौतहटको वाग्मतीदेखि बाराको सीमाक्षेत्र धन्सारसम्म २२ किलोमिटर ट्र्याक बनाउने योजना छ । प्याकेज नम्बर १ अन्तर्गत सन्तोषी कन्टेक्टले ट्र्याक बनाउने ठेक्का लिएको छ । प्याकेज २ मा लुम्बिनी एपेक्स, खानी, प्याकेज ३ मा रौतहट हिन्दुङ थोकर र प्याकेज ४ गोल्डेन बिरुवाले ठेक्का लिएको हो । प्याकेज नम्बर १ र ४ मा वनक्षेत्र पर्छ । आयोजनाअन्तर्गत पर्ने वनक्षेत्रफल ४०.४९ हेक्टर छ । सबै प्याकेज २०७८ माघ १४ गते सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

उक्त अवधिमा मर्मत सम्भारसहितको सबै काम सक्नुपर्नेछ । तर, ठेकेदार कम्पनीले समयमा काम सम्पन्न गर्ने छाँट नदेखिएको रेल योजना कार्यालय लालबन्दीका इन्जिनियर सरेश साहले बताए । ‘वन क्षेत्रको रुख कटान, कोभिड, मुअब्जालगायत विभिन्न कारणले सम्झौता अनुसार काम सक्ने अवस्था छैन्,’ उनले भने, ‘म्याद थप्नैपर्छ ।’

सुरुमा प्याकेज २ मा सर्भे गर्ने बेला स्थानीयले मुआब्जामा चित्त नबुझेको भन्दै अबरोध गरे । रेलका कर्मचारीलाई साइटमा ढिम्किनै दिएनन् । ठेकेदारको गाडी घेरेर आक्रमणको प्रयास समेत गरे । उचित मुआब्जाको ब्यवस्था नगरेसम्म काम हुन नदिने अडान राखे । यहीबेला पूर्वी क्षेत्रमा बस्ती मासेर पूर्वपश्चिम विद्युतीय रेलमार्गको सबस्टेसन बनाउन लागेको भन्दै चन्द्रपुर ८ का स्थानीयले आन्दोलन गरे । ट्र्याक खोल्न सहमति जनाउँदै आएका स्थानीयले सिंगो गाउँ विस्थापित गरी स्टेसन बनाउन नदिने अडानसहित आन्दोलन थालेका थिए । यसभेगका झण्डै ६ सय घरधुरी विस्थापित हुने देखिएको थियो ।

झन्डै २ महिनापछि अधिग्रहण सम्बन्धि सूचना सच्याइयो । मुआब्जाबारे पनि पुनर्मूल्यांकन गरेपछि विवाद टुगिंयो र काम सुरु भयो । अहिलेसम्म २ नम्बर प्याकेजको ८० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीका प्रोजेक्टर म्यानेजर अमित रिजालले बताए । ‘कहिले स्थानीयको अवरोध, कहिले मेटेरियल ल्याउने विवाद, कहिले कोभिड कारण निषेधाज्ञा जारी यस्तै कारणले काम अगाडि बढेन,’ उनले भने, ‘केही समय थप्नैपर्छ ।’

रेल कार्यालयका अनुसार वन क्षेत्रमा पर्ने प्याकेजको काम निकै ढिला हुने देखिएको छ । वनले रूख कटानको आदेश दिएको छैन । यही कारण काममा ढिला भएको रेलवेका इन्जिनियर साहले बताए । कोभिडका कारण रोकिएको रौता र हिमदुङ थोकरले सकार गरेको प्याकेज ३ को काम भने सुरु हुने भएको छ । मुआब्जाको बिवाद टुंगिए पनि कोभिडका कारण देखाउँदै निर्माण कम्पनीले काम थालेको थिएन । ट्र्याक निर्माणका लागि चाहिने सामग्रीलगायत विभिन्न कारणले बीचबीचमा काम बन्द भएको थियो ।

यस्तै कारणले वाग्मती–धन्सार खण्डको कामले गति लिन नसकेको रेलवे कार्यालयले जनायो । कोभिड १९ का कारण साइटका मजदुर घर हिँडेपछि केही समय बन्द भएको थियो । त्यसपछि कामदार पाउन नसकेकाले ढिला हुन गएको निर्माण कम्पनिको भनाई छ । रौतहट क्षेत्रको एउटा प्याकेजको ठेक्का झण्डै ७० करोडमा लागेको हो । निर्माण कम्पनीले रेल्वेको ग्राभेल, माटो, बेस, पुल, बक्सकल्भट र हरियालीको काम गर्नुपर्छ । २०७६ साउनबाट २ र ३ नम्बर प्याकेजका ठेकेदारले काम सुरु गरेका हुन् ।

वन क्षेत्रको काम सुरु हुन अझै केही समय लाग्ने भएको छ । रुख कटान नगरेसम्म उक्त प्याकेजको काम सुरु हुने छाँट छैन । डिभिजन वन कार्यालयका प्रमुख अमरदेव यादवले प्रदेश २ सरकारको वन मन्त्रालयबाट रेलवे ट्रयाकमा परेको क्षेत्रको रूख कटानको आदेश नआएको बताए । ‘छपानको सबै काम सकिएको छ,’ उनले भने, ‘प्रदेश सरकारबाट आदेश नआएसम्म काम सुरु गर्न मिल्दैन ।’ साल, कुकाठ लगायतका जातका ५ हजार २ सय ९७ वटा रुख कटानका लागी २०७६ कातिक २८ मा वन मन्त्रालय फाइल पठाएको प्रमुख यादवले जनाए ।

प्रकाशित : आश्विन ५, २०७८ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?