अशक्तलाई घरमै नागरिकता 

राजविराज — शारीरिक रूपमा अशक्त एक महिला र उनका श्रीमान्लाई जिल्ला प्रशासन कार्यालय सप्तरीले घरमै गएर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि हस्तान्तरण गरेको छ ।

सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीकी ७० वर्षीया श्रीमती दसनीदेवी खत्वे र उनका श्रीमान् ७४ वर्षीय मुसहरू खत्वेलाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आइतबार बिदाकै दिन घरमा पुगेर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिएका हुन् । प्रजिअ गौतमको टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह र प्रशासकीय अधिकृत कल्पना मानन्धर पनि सँगै गएका थिए ।

दम र पक्षघातबाट पीडित दसनी हिँडडुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकताको प्रतिलिपि प्रदान गरेको प्रजिअ गौतमले बताए । अपाङ्गता भएकी र बिरामी ज्येष्ठ नागरिकलाई घरमै सीडीओ आएर नागरिकता प्रदान गरेकोमा खुसी लागेको उनकी बुहारी तारादेवीले बताइन् । द

सनी २० वर्षदेखि पक्षघात भई हिँडडुल गर्न असमर्थ रहेको र राजविराज पुगेर प्रतिलिपि निकाल्न नसक्ने भन्दै तारादेवीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्दै आएकी थिइन् । तारादेवीले श्रीमान् उत्तिम खंगको १० वर्ष अघि मलेसियामा मृत्यु भएपछि सासूससुरालाई स्याहार गरेर बस्दै आएकी छन् । तारादेवीका दुई छोरा एक छोरीमध्ये जेठा छोरा पढाइ छाडेर काठमाडौंमा सिलाइकटाइको काम गरिरहेका छन् । अर्का छोरा कक्षा ८ मा र छोरी कक्षा ९ मा गाउाकै विद्यालयमा अध्ययनरत छन् ।

आर्थिक रूपमा गरिब र विपन्न खत्वे दम्पतीका अन्य तीन छोरा घर छाडेर बाहिर ज्याला मजदुरी गरिरहेको स्थानीयवासी मुसहरूले जानकारी दिए । पक्षघात भएपछि दसनीको उपचारको लागि धेरै खर्च गरे पनि निको नभएको मुसहरूले बताए । मुसहरूले २०३९ माघ २१ गते ३५ वर्षको हुँदा नागरिकता लिएका थिए । उनकी श्रीमती दसनीले २०३९ माघ २५ गते ३१ वर्षको हुँदा नागरिकता लिएकी थिइन् ।

तत्कालीन जिल्ला प्रशासन कार्यालयका कर्मचारीको लापर्बाहीले दुवै जनाको नागरिकता नम्बर एउटै भएकाले राष्ट्रिय वाणिज्य बैंकले कारोबार गर्न असमर्थता जनाएपछि उनीहरूलाई समस्या परेको थियो । सामाजिक सुरक्षा भत्ताबाट घर चलिरहेको बताउँदै तारादेवीले बैंकले पैसा दिन अस्वीकार गरेपछि रुदै कराउँदै जिल्ला प्रशासन कार्यालय धाइरहेको जनाइन् । नागरिकता नम्बरका कारण बैंकको खाता नम्बरमा समेत समस्या आएपछि मलेसियाबाट आउने पैसासमेत रोकिएको उनीहरूको भनाइ छ ।

अहिले नागरिकताको प्रतिलिपिमा नम्बर फरक पारेपछि मलेसियामा मृत्यु भएका छोरा कार्यरत कम्पनीबाट बिमाबापत पाउने सात लाख रुपैयाँ आउने बाटो खुलेको तारादेवीले बताइन् । जिल्ला प्रशासन कार्यालयले मुसहरूको नागरिकता नम्बर ७९०३३१७५ र दसनीको ७९०३३१७६ बनाएर प्रतिलिपि हस्तान्तरण गरेको छ ।

प्रकाशित : आश्विन ४, २०७८ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?