१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

जन्मदर्ता नहुँदा रोकियो विद्यालय भर्ना

मुसहर समुदायमा अभिभावकको विवाह दर्ता र नागरिकतासमेत नहुँदा बालबालिका पढाइबाट वञ्चित 
भरत जर्घा मगर

सिरहा — लहान नगरपालिका–१९ कटहास्थित मुसहर बस्तीका ५ वर्षीया ज्योति सदाय र उनकी बहिनी मनीषाको विद्यालय जाने उमेर भइसक्यो । तर, जन्मदर्ता नभएका कारण उनीहरू विद्यालय भर्ना हुन पाएका छैनन् । विद्यालयमा नामांकनका लागि जन्मदर्ता अनिवार्य गरिएको छ । तर ज्योति र मनीषाका बुबा सलिनको नागरिकता नै छैन । सानै उमेरमा विवाह गरेकै कारण विवाह दर्तासमेत छैन ।

जन्मदर्ता नहुँदा रोकियो विद्यालय भर्ना

कटहाकै ५ वर्षीय रामकिसुन सदाय मुसहर पनि विद्यालय जाँदैनन् । उनको पनि जन्मदर्ता छैन । उनका बुबा मोही नारायण वैदेशिक रोजगारीमा छन्, जसका कारण विवाह दर्ता हुन सकेको छैन । विवाह दर्ता नभएपछि रामकिसुनको जन्मदर्ता बन्न सकेन । कटहाकै नसिब सदाय मुसहर पनि खेलेरै दिन बिताउँछन् ।

उनी पनि जन्मदर्ता नभएकाले विद्यालय जानबाट वञ्चित छन् । लहान नगरपालिका–२४ झुटकी सिल्टोदेवी सदाय मुसहरका तीन सन्तान छन् । उनका २ छोरी ५ वर्षीया आकृति, ४ वर्षीया अनु र छोरा रितेश छन् । तर विद्यालय जाने उमेरका २ छोरी घरमै बस्छन् । कारण हो उनीहरूको जन्मदर्ता छैन । आमा सिल्टोको नागरिकतासमेत छैन ।

उक्त बस्तीका अधिकांश मुसहर बालबालिका जन्मदर्ता नभएका कारण पढाइबाट वञ्चित छन् । ‘नागरिकता नै बनेको छैन, सानै उमेरमा विवाह भयो,’ सिल्टोले भनिन्, ‘कलिलै उमेरमा बिहे भएकाले विवाह दर्ता बनेन, विद्यालयमा भर्ना गर्न बालबालिकाको जन्मदर्ता चाहिँदो रहेछ ।’ उनीहरू ऐलानी जग्गामा बसोबास गर्छन् । कोही खोलामा गिट्टी चालेर गुजारा चलाउँछन् भने कोही युवा मजदुरीका लागि भारतको मुम्बई र पञ्जाबतर्फ हानिएका छन् ।

जन्मदर्ता नभएकै कारण जिल्लाका अन्य मुसहर बस्तीका बालबालिका पनि विद्यालय जान पाएका छैनन् । अशिक्षाका कारण मुसहर समुदायमा बालविवाह चलन बढ्दो रहेको नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदा बताउँछन् । उनका अनुसार तराईका जिल्लामा दलित समुदायमध्ये पनि सीमान्तकृत, अल्पसंख्यक डोम र मुसहर समुदायमा विशेषगरी छोराछोरी जन्मनेबित्तिकै विवाहको टुंगो लगाउने चलन छ ।

मगनी भइसकेकी छोरीले उमेर पुगेपछि अन्यत्रै विवाह गर्लान् कि भन्ने डरले सानैमा विवाह गरिदिने गरिन्छ । बालविवाहका कारण विवाह दर्ता नबन्दा सरकारले उपलब्ध गराउने बालपोषण भत्ता, दलित छात्रवृत्ति र नागरिकता पनि पाउँदैनन् । सामाजिक सुरक्षा भत्ता, बिजुली बत्ती जस्ता आधारभूत सेवाबाट पनि वञ्चित हुनुपरेको सदा बताउँछन् ।

जनगणना २०६८ अनुसार नेपालमा मुसहरको जनसंख्या २ लाख ३४ हजार ४ सय ९० छ । सिरहामा दलित मुसहर समुदायको जनसंख्या ३९ हजार ९ सय २९ छ । तीमध्ये ९५ प्रतिशत भूमिहीन सुकुम्बासी छन् । मुसहर समुदायको साक्षरता दर ०.००४ प्रतिशत उल्लेख छ । तथ्यांकमा चिडिमार, डोम, मुसहर आदि मधेसी दलित समूहमा पहिलो विवाह हुने उमेर १५ वर्षभन्दा मुनि (१३.८ र १३.९ वर्ष) रहेको छ ।

सगरमाथा माविका शिक्षक जिवछ यादवले शिक्षाबाट कोही पनि बालबालिकालाई वञ्चित नगरिने भने पनि जन्मदर्ता नभएकै कारण मुसहर बालबालिका विद्यालय भर्नाबाट वञ्चित हुनुपरेको बताए । ‘सानै उमेरमा विवाह, त्यसपछि विवाह दर्ता नबन्नु र विवाह दर्ता नभएपछि जन्मदर्ता नहुनु मुसहर समुदायको मुख्य समस्या भएको छ,’ उनले भने, ‘जन्मदर्ता नभएपछि हामीले विद्यालयमा नामांकन गर्न सकेनौं, यो समस्या सुल्झाउन आवश्यक छ ।’

लहान नगरपालिकाका शिक्षा संयोजक राजकुमार साहले विद्यालय जान नपाएका बालबालिकाको गणना सुरु गरेको बताए । त्यसपछि उनीहरूलाई विद्यालयमा जसरी पनि पहुँच पुर्‍याउन वैकल्पिक उपाय खोजी गरिने उनको भनाइ छ ।

प्रकाशित : आश्विन ४, २०७८ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?