३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

निर्माण नसकिँदै चर्कियो पुल

डिजाइन परिवर्तन गरेर पिलर र माथिको भाग बनाइँदै
शिव पुरी

रौतहट — रौतहटको गढवा पुल निर्माण नसकिँदै चर्किएको छ । पुल प्रयोग नै गर्न नमिल्ने गरी बीचमा चर्किएपछि डिजाइन परिवर्तन गरेर पिलर र माथिको भाग बनाउन लागिएको छ ।

गौर नगरपालिका–६ गढवामा बन्दै गरेको पुलको समस्या देखिएको भाग अहिले भत्काएर बनाउन लागिएको हो । प्रिस्टेट प्रविधिको पुलको लट्ठा तन्काउन लाग्दा मुख्य भाग नै चर्किएपछि झन्डै एक वर्ष निर्माण नै रोकिएको थियो ।

निर्माण अन्तिम चरणमा पुगेका बेला बीचमै चर्किएपछि डिजाइन फेरेर बनाउन लागिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर यादव कोइरालाले बताए । ‘डिजाइनकै कारण पुल बीचमा चर्किएको हो । अब पिलर थपेर पुनः बनाउन लागेका छौं,’ उनले भने, ‘प्राविधिक कारणले पुल सञ्चालनमा आउन नपाउँदै भत्काउनुपर्‍यो ।’

चन्द्रनिगाहपुर र सदरमुकाम गौर जोड्ने यो पुलको कन्काई इन्टरनेसनल बिल्डर्सले ५ करोड ६३ लाख ४ हजारमा टेन्डर सकार गरेको हो । बिल्डर्सले अहिले लागत बढेकाले उक्त रकम नपुग्ने दाबी गरेको छ । पुलको लम्बाइ ४० मिटर छ । पुल निर्माणको सम्झौता २०७४ कात्तिक २८ गते भएको थियो । सोही वर्ष काम सुरु गरी २०७६ भदौ २७ मा पूरा गर्ने सम्झौता भएको थियो । निर्माणको सबै काम सकेर ठेकेदारले हस्तान्तरण गर्ने अन्तिम समय त्यही वर्ष तोकिएको थियो ।

८० प्रतिशत काम सम्पन्न भइसकेपछि पुलको बीचमै चर्कियो । समयमा पुल बन्न नसकेपछि डिभिजन सडक कार्यालयले पहिलो पटक २०७७ असोज १४ गतेसम्मका लागि म्याद थपेको थियो । विभागबाट डिजाइन रिभ्यु नभएपछि पुल पुनर्निर्माण हुन ढिला भयो । अब फेरि एक वर्ष म्याद थप्नुपर्ने ठेकेदारले माग गरेको छ ।

‘पुल बनेर सकिन लाग्दै गर्दा लट्ठा तान्ने बेला बीचमै चर्किएपछि समस्या आएको हो,’ ठेकेदार अरबिन्द जयसवालले भने, ‘डिजाइन नै गलत भएकाले फेरि बनाउनुपरेको हो । अब एक वर्षभित्र काम सकेर सञ्चालनमा आउँछ ।’ यस्तो प्रविधिको पुल निर्माण गर्दा विज्ञको आवश्यकता पर्छ । विज्ञ नभएकै कारण पुल भाँचिएको ठेकेदारको भनाइ छ । पुलको स्ल्यापलाई टुचन लगाएर माथि उठाउने क्रममा चर्किएको थियो । यसरी उठाउँदा साइडमा प्रविधि जान्ने विज्ञ हुनुपर्थ्यो । ‘तर मिस्त्रीको भरमा तन्काउन लाग्दा चर्कियो,’ जयसवालले भने ।

पुलको एकतर्फ ७ वटा प्वाल छ । एउटा प्वालमा १९ वटासम्म ठूला तारको लट्ठा लगाइएको हुन्छ । त्यसैको मद्दतले पुललाई माथि उचाल्न तन्काउनुपर्छ । पुलमा पहिले दुई वटा मात्र स्पाम थियो । अब तीन वटा राखिएको ठेकेदार जयसवालले बताए । वर्षाले सदरमुकाम गौर डुबानमा पर्दा यो पुल नजिक बनाइएको डाइभर्सनसमेत बगाएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको थियो । बाँसको भर्‍याङ लगाई स्थानीयले पुल माथिबाट वारपार गर्दै आएका थिए ।

प्रकाशित : आश्विन २, २०७८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?