कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

महोत्तरीमा तौल पुल संचालन

सुनिता बराल

महोत्तरी — महोत्तरीको बर्दिवास ३ स्थित बीपी राजमार्ग छेउमा निर्मित तौल पुल स्टेसन संचालनमा आएको छ । शुक्रबार किराना सामान बोकेको जिपको तौल जाँच गरी पुलको उद्घाटन गरिएको बर्दिवास यातायात सेवा कार्यालय बर्दिवासका प्रमुख पोषण थापाले जानकारी दिए ।

महोत्तरीमा तौल पुल संचालन

उनका अनुसार तौल पुलमा तौल गरिएको पहिलो सवारीको नाप तौल गर्दा २६ सय २० किलो बोक्ने क्षमता भएको जिपले २३ सय ५० किलो सामान बोकेको पाइएकोले चालक शिव भट्टराईलाई धन्यवादसहित जाँचपास दिएर पठाइएको हो ।

बीपी राजमार्गको बनावट र क्षमता मध्यनजर गर्दै निर्माण गरिएको तौल पुल प्रदेश २ को पहिलो तौल पुल भएको मन्त्रालयले जनाएको छ । पुल बीपी राजमार्गमा हिँड्ने सवारीमात्रै नभएर महेन्द्र राजमार्गमा हिँड्ने सवारीको समेत भारवहन नियन्त्रणको काम गर्न प्रदेश २ भौतिक पूर्वाधार मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालय प्रदेश २ का सचिव दिपककुमार दासले सडकको आयु बचाउने, दुर्घटना कम गराउने र राजस्व संकलनमा वृद्धि गर्ने उद्देश्यसहित बीपी राजमार्ग सँगै महेन्द्र राजमार्गको समेत भारवहन नियन्त्रण गर्ने गरी तौल पुल स्टेसनको प्रयोग गर्न यातायात कार्यालय र ट्राफिक प्रहरीलाई आग्रह गरे ।

जिल्ला ट्राफिक कार्यालय बर्दिवासका प्रमुख राजु ढकालले तौल पुल संचालनले ट्राफिक नियम लागू गराउनसमेत मद्दत गर्ने विश्वास व्यक्त गरे । बढी लोड बोकेका सवारी अनियन्त्रित भएर दुर्घटना हुने सवारीको संख्यामा कमी आउनेमा विश्वास व्यक्त गर्दै ढकालले तौल पुल स्टेसनमा नियमित २ जना ट्राफिक प्रहरी खटाइसकिएको जानकारी दिए । बढी भारवहनका कारण कारबाही गर्नुपर्ने सवारीलाई यातायात कार्यालयमा सिफारिस गरिने ढकालले बताए ।

तौल पुल संचालनमा आएकोमा यातायात व्यवसायीले स्वागत गरेका छन् । बीपी राजमार्गमा संचालन हुने ४ सय २५ सवारी भएको सुनौलो बीपी यातायात प्रालिका अध्यक्ष कान्छामान बलले व्यवसायीले बढी लाभ कमाउने लोभमा बढी भारवहन गरी हिँड्दा हुने सवारी दर्घटनामामा कमी आउने भएकाले पुल स्वागतयोग्य भएको बताए ।

धेरै पैसा कमाउने लोभमा पर्ने व्यवसायीका सवारी दुर्घटनामा हुँदा झन उठ्नै नसक्ने गरी थलिने व्यवसायीलाई यस पुलले सचेत गराउने बलले बताए । अप्ठ्यारो र साँघुरो सडक भएकाले बढी भारवहन बोक्दा बीपी राजमार्गमा हुने दुर्घटना कम गराउन तौल पुलले सहयोग पुग्ने अपेक्षा व्यवसायीले राखेका बलले बताए ।

बढी भारवहन र अनुमति बेगरका सवारीलाई २ हजारदेखि थप जरिवानासहित कारबाही हुने यातायात कार्यालय बर्दिवासले जनाएको छ । स्टेसन संचालनमा आएपछि मानवीय र सवारी सुरक्षा पनि हुने र डिजिटल पुल भएकाले जो कोहीले कर छल्न नसक्ने महोत्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।

प्रकाशित : आश्विन १, २०७८ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?