जहिल्यै मल अभाव- प्रदेश २ - कान्तिपुर समाचार

जहिल्यै मल अभाव

अनुदान पाउनु त परको कुरा सिजनकै बेला कृषि सामग्री कम्पनीमा एक बोरा पनि मल मौज्दात छैन
ओमप्रकाश ठाकुर

सर्लाही — दुई बिघा जमिनमा धान खेती गरेका छन् । फूल खेल्दै गरेको धानमा रासायनिक मल हाल्नुपर्ने भए पनि पाएका छैनन् । सरकारले अनुदान दिएको मल त परको कुरा, निजी एग्रोभेटमा पनि मल उपलब्ध नरहेको सर्लाहीको कविलासी नगरपालिका–१ पिपरियाका किसान बद्री पण्डित बताउँछन् ।

यो समस्या यहाँका सबैजसो किसानले भोगिरहेका छन् । यो यस वर्ष आइपरेको नयाँ समस्या पनि होइन । बर्सेनि किसानले मल नपाएर सास्ती खेप्दै आए पनि सरोकारवालाको ध्यान पुग्न सकेको छैन ।

किसानहरू मल नपाएर धान उत्पादन घट्ने चिन्तामा छन् । कतिपयले अवैध रूपमा भारतबाट कमसल मलसमेत ल्याएर धानबालीमा हालिरहेका छन् । अनुदानको मल दोब्बरभन्दा बढी मूल्य तिरेर निजी एग्रोभेटबाट किन्ने किसान पनि छन् ।

सामान्यतया प्रतिकिलो १८ रुपैयाँमा पाउने युरिया मल अहिले किसानहरूले प्रतिकिलो ४० रुपैयाँमा किन्न बाध्य भएको पण्डित बताउँछन् । मल छर्ने मुख्य समयमै नपाउँदा किसानको बिजोग भएको उनले सुनाए । ‘साविकको भन्दा दोब्बर बढी मूल्यमा मल किन्नुपर्दा धान खेतमा छर्ने होइन, छर्कने अवस्था मात्रै छ,’ उनले भने, ‘सहकारीबाट ५० किलोको बोराको ९ सय रुपैयाँमा पाउने मल अहिले २ हजार तिर्नुपरिरहेको छ । उब्जनी कम हुने भए पनि मल नपाएपछि हामी के गर्न सक्छौं र ?’

जिल्लामा भारतीय मलको पनि कालोबजारी भइरहेको छ । ७ सय रुपैयाँमा पाउने भारतीय मलको बोरालाई अहिले १८ रुपैयाँ भन्ने गरेका उनले जानकारी दिए । ‘धानमा मल हाल्ने यो अन्तिम पटक हो । यतिबेला हालिएन भने उत्पादन सोचेअनुसार हुँदैन तर मल कतै पनि पाइरहेको छैन,’ उनले भने, ‘किसानलाई धानखेतमा मल हाल्नै पर्ने बाध्यता छ, यसको फाइदा व्यापारीले उठाइरहेका छन् । कालोबाजारी पनि भइरहेको छ ।’ किसानको समस्या बुझेर मल उपलब्ध गराउन स्थानीय सरकार उदासीन बनेको उनको आरोप छ ।

कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा मल आपूर्ति नगर्दा मल अभाव भएको हो । गौरका किसान नन्दलाल झाले युरिया मल नपाएर धानमा मल हाल्न नपाएको गुनासो पोखे । उनले मलका लागि सहकारी संस्थामा धाउँदाधाउँदै हैरान भएको जनाए । यसबेला कृषि सामग्री कम्पनीको नवलपुर शाखामा एक बोरा पनि युरिया मल मौज्दात छैन । कम्पनीका शाखा प्रमुख दीपक थापाले असोजको पहिलो सातामा मल आउने जानकारी दिए ।

उनले बेलैमा मल आपूर्ति हुन नसक्दा धान खेतीको ३ महिना असार, साउन र भदौमा कार्यालयमा बस्नै समस्या हुने गरेको बताए । ‘धानको मुख्य सिजनमा मल पुर्‍याउनै सकिएको छैन,’ उनले भने, ‘मागअनुसारको आपूर्ति हुन नसक्दा अभाव भएको छ । अहिले किसान र सहकारीका प्रतिनिधिको चापका कारण कार्यालयमा बस्नसमेत समस्या हुने गरेको छ ।’

किसानका लागि ल्याइएको अनुदानको मल कृषि सामग्री कम्पनीको शाखाबाट लिँदा भीडभाड हुने भएपछि केही वर्षअघिदेखि कम्पनीले सहकारीमार्फत दिने नीति बनाएको थियो । तर पनि मलको सहज उपल्ब्धता किसानका लागि हुन सकेको छैन । मल अभावकै कारण कम्पनीले प्रत्येक सहकारीलाई भाग लगाएर मल वितरण गर्दै आएको छ । थोरै परिमाण पाएकोमा पनि कतिपय सहकारीले कालोबजारी गर्ने गरेका छन् । उनीहरूले किसानको माग थेग्नै नसक्ने हुनाले व्यापारीलाई बुझाउने गरेको बताउँछन् । तर व्यापारीले किसानबाट चर्को मूल्य असुल्दै आएका छन् ।

कतिपय किसानले बढी मूल्य तिरेर भए पनि मल खरिद गरिरहेका छन् । मलको सहज आपूर्ति र वितरणका लागि तीनै तहका सरकारले वास्ता नगरेको किसानको गुनासो छ । किसानका लागि आउने मल सहकारीमा नपाउनु, व्यापारीले बढी मूल्यमा मल बिक्री गर्दा पनि कम्पनीका कर्मचारी मौन बस्नुमा उनीहरूको संलग्नता रहेको किसानको आरोप छ । शाखा प्रमुख थापाले आफ्नो एकल प्रयासले मात्र मलको कालोबजारी रोक्न नसकिने बताए ।

प्रकाशित : आश्विन १, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्

करोडौं खर्चिएका पार्क र उद्यान प्रयोगविहीन

संरक्षण र प्रयोगमा ल्याउन नगरपालिकाले पहल नगर्दा दर्जनभन्दा बढी पार्क र बालउद्यान लथालिंग
शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिकाले वातावरणमैत्री स्थानीय शासन कार्यक्रमअर्न्तगत विभिन्न स्थानमा निर्माण गरेका पार्क र बालउद्यान प्रयोगविहीन बनेका छन् । निर्माणको काम सकिएपछि संरक्षण र प्रयोगमा ल्याउन नगरपालिकाले पहल नगर्दा पार्क र बालउद्यान बेकामे बनेका हुन् ।

नगरपालिकाले आर्थिक वर्ष ०७१/७२ र ०७२/७३ मा झण्डै २ करोड रुपैयाँ खर्चेर पार्क र बालउद्यान निर्माण गरेको थियो । तर अहिले केहीको संरचना नै भत्किन थालेको छ भने केहीको व्यवस्थापन नै लथालिंग छ । निमार्णका क्रममा कमसल सामग्री प्रयोग गरेकाले संरचना भत्किन थालेको स्थानीय प्रवीण सुनारले आरोप लगाए ।

‘नगरपालिकाका कर्मचारीले कमिसनको भरमा बिल पास गरे । अनुगमन र गुणस्तर हेरेनन्,’ उनले भने, ‘यति धेरै रकम खर्चेर बनाइएका पार्क र उद्यान कामै नलाग्ने हुन थालेका छन् । भएकाहरू समेत प्रयोगमा ल्याउन सकेका छैनन् ।’ नगरपालिकाको मुख्य चोकको सौन्दर्यीकरणका लागि निर्माण गरिएका पार्क नै प्रयोगविहीन भएका हुन् ।

यस्तै, चन्द्रपुर–१० पडहरिया र बाल्चनपुरमा २५ लाख रुपैयाँभन्दा बढी खर्चेर बनाएको पार्कका संरचना पनि भत्किन थालेका छन् । मर्मत गरिएको पोखरीको डिल क्षतविक्षत छ । चन्द्रपुर–६ मोथीयाहीस्थित पार्कको अवस्था पनि उस्तै छ । अधिकांश फलामे संरचना भाँच्चिएर कामै नलाग्ने भएका छन् । पार्क, बालउद्यानमा स्थानीय बालबालिका खेल्न र घुम्न रुचाउँछन् । अभिभावकले बिदाको दिन यस्ता पार्कमा बालबालिकालाई रमाइलो गर्न लैजान्छन् । तर व्यवस्थापन नहुँदा प्रयोगमै समस्या हुने गरेको छ ।

चन्द्रपुरको ब्रह्मस्थान, कुसुमगाछी, कोटीहोम, रैयाटोल, मरधरलगायत दर्जनभन्दा बढी स्थानमा बनाइएका पार्क संरक्षण र प्रयोगमा आउन सकेका छैनन् । नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले पार्क, बालउद्यान निर्माणको गुणस्तर र प्रयोगको अवस्थाबारे अनुगमन गर्ने बताए । ‘विभिन्न समितिमार्फत संरचना निर्माणका काम भएका छन् ।

यसको गुणस्तर र अवस्थाबारे चाँडै नै अनुगमन गर्ने तयारीमा छु,’ उनले भने, ‘अहिलेसम्म यथार्थ बजेट कति खर्च भयो भन्ने यकिन गर्छु । यसलाई प्रयोगमा ल्याउने र संरक्षण गर्न कुनै कसर बाँकी राखिँदैन ।’ एउटा पार्क निर्माण, पोखरी मर्मत र बालउद्यानका लागि नगरपालिकाले एक आवमा ५ देखि १४ लाख रुपैयाँसम्म खर्च गरेको छ । तर अवस्था लथालिंग जस्तै छ ।

नगरपालिकाले वातावरणमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत यस्ता संरचना बनाउन करोडौं खर्च गर्दै आएको छ । नगरको १० वटै वडामा वातावरणमैत्री स्थानीय शासन कार्यक्रमअर्न्तगत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातावरणमैत्री नगर बनाउन रकम दिएको थियो ।

कार्यक्रमअन्तर्गत तारबार, वृक्षरोपण, पोखरी, फूल बगैंचा, सफाइ, मर्मत र बालउद्यान निमार्णमा बजेट विनियोजन हुँदै आएको नगरपालिकाले जनायो । तर तारबार, वृक्षरोपण, फूलबारीलगायतको काम पनि योजनाअनुसार हुन सकेको छैन । नगरको पूर्वाधार विकास हेर्ने संयोजक काजीमान माझीले पहिले निर्माण भएका पार्क र पोखरी, उद्यानहरू योजना बनाएर संरक्षण र प्रयोगमा ल्याउन नगरपालिकाले छलफल चलाएको बताए । ‘पछिल्लो समय विभिन्न उपभोक्ता समितिमार्फत काम भएका छन्,’ उनले भने, ‘समितिले नै पार्क, बालउद्यानलगायतका संरचनाको संरक्षण र प्रयोगमा ल्याउने काम गर्नुपर्छ ।’

प्रकाशित : आश्विन १, २०७८ १२:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×