परिवार नै च्याउ खेतीमा

शिव पुरी

रौतहट — दिलमाया राईलाई यतिखेर च्याउको बीउ स्याहार्न भ्याईनभ्याई छ । चन्द्रपुर–५ चिडियादहकी ४७ वर्षीया उनले ‘दिलमाया च्याउ उद्योग’ संचालन गरेकी छन् । थुप्रै प्रजातिका च्याउको बीउ लगाउन व्यस्त राईको मिहिनेत देखेर गाउँले छक्क पर्छन् । 

परिवार नै च्याउ खेतीमा

भदौदेखि फागुनसम्म च्याउ उमार्ने र बिक्री गर्ने सिजन हो । त्यसैले दिलमाया च्याउका लागि बनाएको टनेलभित्र दिनभर व्यस्त हुन्छिन् । उनीले २०७० सालबाट च्याउ खेती थालेकी हुन् । आर्थिक अवस्था बलियो थिएन । तर, पनि उनी आँट बटुलेर यसमा होमिइन् । सुरुमा सानो टनेलबाट व्यवसाय सुरु गरेकी उनका अहिले ठूलो ४ र साना ६ गरी १० वटा टनेल छन् । च्याउप्रति राई परिवारको लगाव बढ्दो छ ।

जिल्लाकै नमुना च्याउ किसानको रूपमा चिनिएकी दिलमायाको टनेल गत वैशाखमा हावाहुरीले ढालेको थियो । हावाहुरीले ७ वटा टनेलमा क्षति पुर्‍यायो । टनेलभित्र राखिएका करिब ३ हजार पोका उम्रिन तयारी अवस्थाको च्याउ ३ दिनसम्म पानीमै डुबेर कुहियो । तर, त्यस्तो समस्याले उनी आत्तिइनन् । ‘सिजनमा खट्न सक्यौं भने राम्रो आम्दानी हुन्छ । त्यही भएर अहिले भ्याइनभ्याई छ,’ उनले भनिन्, ‘अब यसैमा जीवन बित्लाजस्तो भयो । यो व्यवसायले सन्तुष्ट छु ।’

यस वर्ष २० देखि २५ हजारसम्म टनेलभित्र च्याउको पोका झुन्ड्याउने उनको लक्ष्य छ । अहिले ७ सय बीउको पोका टनेलभित्र छ । उद्योगका लागि संरचना निर्माणको क्रममा छ । लघु उद्यम विकासबाट च्याउ खेती गर्न हौसिएको दिलमायाले सुनाइन् । च्याउबाट आर्थिक अवस्था सबल हुँदै गएकोमा राई परिवार खुसी छन् । च्याउ हुर्काउन उनका श्रीमान् इन्द्रबहादुर राई, छोरा सुनील, बुहारी रेखा र कान्छो छोरा सदिन पनि सँगै खट्ने गर्छन् ।

उनको टनेलमा किने च्याउ (अमेरिकन बैस्टर्ड) र त्यसको बीउको खेती हुन्छ । गएको सिजनमा दिलमायाले झन्डै ८ लाखको च्याउ बिक्री गरेका बताइन् । यस वर्ष अझै उत्पादन र बिक्री बढाउने लक्ष्य छ । छोरा सदिन ९ महिना दुबई बसेर फर्केका हुन् । आमाको प्रेरणा पाएर अहिले च्याउ खेतीमा सघाउन थालेको बताए । ‘हाम्रो परिवार च्याउमै आश्रित हुँदै आएको छ,’ उनले भने, ‘कोभिडले केही समस्या परे पनि अहिले ठीक हुँदै गएको छ । यो सिजन राम्रो आम्दानी गर्ने सोचमा छौं ।’ बजारमा अहिले च्याउ प्रतिकेजी २ सय ४० रुपैयाँसम्म छ ।

प्रकाशित : भाद्र ३१, २०७८ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?