कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मलेसियामा परिवारको सहारा गुमेपछि...

अवधेशकुमार झा

राजविराज — तेस्रो पटक रोजगारीका लागि विदेश गएका तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका ४० वर्षीय शिवचन्द्र खंग मंसिरमा घर फर्किने तयारी गर्दै थिए । अतिविपन्न परिवारका उनी परिवारका एक्ला सहारा थिए ।

मलेसियामा परिवारको सहारा गुमेपछि...

पाँच छोरीका बुवा शिवचन्द्रको घर फर्किने सपना मात्र भयो । एक महिनाअगाडि कोरोना संक्रमणका कारण मलेसियाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि अहिले उनको परिवार बिचल्लीमा परेको छ ।

उनी मंसिरमा चार वर्ष पुगेपछि फर्किने तयारीमा थिए । ‘अब ३–४ महिना मात्र बाँकी छ । म फर्किहाल्छु । अब विदेश जादिन गाउघरमै ब्यापार गरेर गुजारा गर्छु,’ निधन हुनुभन्दा केही दिनअघि श्रीमती दसनीदेवी खंगलाई उनले फोनमा यसरी ढाडस दिएका थिए । ‘तर कहिल्यै नफर्किने गरी उहाँ जानुभयो । अन्तिम पटक अनुहारसमेत हेर्न पाएनौ,’ उनले भनिन् । शिवचन्द्रको अवस्था गम्भीर भएपछि १० दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो । उपचारको एक महिनामा उनको मृत्यु भयो ।

शिवचन्द्र मलेसियाको शाहआलम सहरमा सेक्युरिटी गार्डमा कार्यरत थिए । उनका ५ छोरीमध्ये दुईको विवाह भइसकेको छ । तीन छोरी क्रमश कक्षा १०, ८ र ४ मा अध्ययनरत छन् । ‘परिवार पाल्ने सहारा नै गुम्यो,’ दसनीदेवीले भनिन्, ‘अब आफ्नो र छोरीहरूको पेट पाल्नै समस्या छ । कहाँबाट यिनीहरूलाई पढाउन सक्नु ? त्यसमाथि ऋण पनि छ ।’

अहिले शिवचन्द्रको इन्सोरेन्सलगायतका केही क्षतिपूर्ति आउँछ कि भन्ने आसमा परिवार छन् । ‘कागजपत्र दिएका छौ, केही इन्सोरेन्ससहित क्षतिपूर्तिको रकम आउँछ कि भन्ने आसमा छु,’ दसनीदेवीले भनिन् ।

प्रकाशित : भाद्र ३०, २०७८ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?