सिम्रौनगढ आधारभूत अस्पतालमा तोडफोड

लक्ष्मी साह

बारा — सिम्रौनगढ नगरपालिकास्थित नगरस्तरीय आधारभूत अस्पतालमा तोडफोड भएको छ । सर्पदंसका डेढ वर्षीय बालकको समयमा नै उपचार नपाएर मृत्यु भएको भन्दै पीडित परिवार र स्थानीयले सोमबार अस्पताल तोडफोड गरेका हुन् ।

सिम्रौनगढ आधारभूत अस्पतालमा तोडफोड

आक्रोशित स्थानीयले नगरपालिकाका कर्मचारीलाई समेत कुटपिट गरेका छन् ।कुटपिटबाट अपांगता शाखाका कर्मचारी प्रयाग महतो घाइते भएको छ । उनको वीरगन्जस्थिती इन्डो अस्पतालमा उपचार भइरहेको छ

आइतबार राति सिम्रौनगढ नगरपालिका–२ मौवाही टोलका सतिश साहको छोरालाई सर्पले टोकेपछि नगरपालिकाले सिम्रौनगढ बजारमा सञ्चालन गर्दै आएको आधारभूत अस्पतालमा ल्याएका थिए । बालकको अवस्था गम्भीर रहेको भन्दै त्यहाँबाट थप उपचारका लागि अन्यत्र लैजान स्वास्थ्यकर्मीले सिफारिस गरेका थिए ।

उपचारको लागि कलैया लैजाने क्रममा बालकको बाटोमै मृत्यु भएको आफन्त ताराचन्द साहले बताए । ‘सिम्रौनगढमै सुई लगाएपछि बच्चा जोगिन सक्थ्यो,’ उनले भने, ‘अस्पतालका स्वास्थ्यकर्मी गैरजिम्मेवार भए । उपचारै गर्न मानेनन् ।’

बालकको मृत्यु भएपछि सोमबार बिहान आक्रोशित आफन्त र गाउँलेले अस्पताल तोडफोड गर्नुका साथै नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेका थिए । घटनामा नगर प्रहरीसहित अन्य १२ जना समान्य घाइते छन् । उनीहरुको पनि इन्डो अस्पतालमा उपचार भइरहेको सिम्रौनगढ अस्पतालका इन्चार्ज जितेन्द्र यादवले जानकारी दिए ।

‘बच्चाको अवस्था गम्भीर भइसकेकाले सुविधासम्पन्न अस्पतालमा लान सल्लाह दिइएको थियो,’ उनले भने, ‘हामी कसैको ज्यान जाओस् भन्ने चाहँदैनौ । जीवन जोगाउने हाम्रो प्रयास हुन्छ ।’

आक्रोशित गाउँलेहरुले नगरपालिकको ढोका फोड्नुको साथै अस्पतालको झ्याल,फार्मेसी, ल्याब, कम्प्युटरसमेत तोडफोड गरेका छन् ।

प्रकाशित : भाद्र २८, २०७८ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?