ज्योति आत्महत्या प्रकरण : अझै पक्राउ परेनन् आरोपित- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्योति आत्महत्या प्रकरण : अझै पक्राउ परेनन् आरोपित

कान्तिपुर संवाददाता

राजविराज — गत असार २ मा प्रेमी कृष्ण मिश्रले प्रेमिका ज्योति पासवानलाई लहानको पुष्पाञ्जली होटलमा राखेर कोठा खोज्ने बहाना पार्दै बाहिर निस्किए । प्रेमिका दलित भएकै कारण परिवारको दबाबमा परेका कृष्ण त्यसपछि होटल फर्किएनन् ।

प्रहरीले ज्योतिको उद्धार गरी माइतीको जिम्मा लगायो । तर ज्योति साउन २३ मा माइतीकै भान्सा कोठामा पासो लगाई आत्महत्या गरेको अवस्थामा भेटिइन् । उक्त प्रकरणमा सप्तरी प्रहरीले अत्महत्या दुरुत्साहनको मुद्दा चलाए पनि आरोपितलाई पक्राउ गर्न सकेको छैन ।

सप्तरीको सुरुङ्गा–७ पोखरियाकी २० वर्षीया ज्योतिका बुबा प्रमोद पासवानले कृष्णविरुद्ध आत्महत्या दुरुत्साहनमा इलाका प्रहरी कार्यालय कडोरवनामा जाहेरी दिएका थिए । तर एक महिना बितिसक्दा प्रहरीले आरोपित कृष्णलाई पक्रिन सकेको छैन । जिल्ला अदालतसप्तरीबाट कृष्णका नाममा पक्राउ पुर्जी जारी भए पनि उनी फेला पर्न नसकेको प्रहरी निरीक्षक वीरेन्द्र पासवानले बताए । ‘खोजी जारी छ तर फेला पर्न सकेका छैनन्,’ उनले भने ।

पोखरियाकै अखिलेश मिश्रका छोरा कृष्ण १ वर्षदेखि ज्योतिसँगको प्रेममा थिए । उनले फागुनमा ज्योतिसँग बिहे गरेका थिए तर ज्योतिलाई अपनाउन कृष्णको परिवार तयार भएन । कृष्णले छोरीलाई प्रेमजालमा फसाई यौनशोषण गरी शारीरिक र मानसिक यातना दिई छाडेकाले पीडामा रहेकी छोरीले आत्महत्या गर्न बाध्य भएको बुबा प्रमोदले जाहेरीमा दाबी गरेका छन् ।

प्रकाशित : भाद्र २८, २०७८ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्

कोही प्रक्रियामै ठगिन्छन्, कोही रोजगारस्थलमा

भवानी भट्ट

कञ्चनपुर — उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगेका सुरेन्द्र खड्का आरआर क्याम्पसमा अध्ययन गरिरहेका थिए । स्नातक तहमा अध्ययनरत खड्कालाई सार्थीहरूले एकदिन जापान जाने सपना सुनाए । त्यसपछि उनी पढाइ छाडेर जापान जाने तयारीमा जुटे । साथीहरूकै सहयोगबाट काभ्रेको बनेपास्थित एक इन्टिच्युटको सम्पर्कमा आए । शैक्षिक प्रमाणपत्रदेखि अन्य सबै कागजात जुटाएर उनी पैसा खोज्न थाले । सुरुमा ३ लाख जम्मा गरे ।

अध्ययन भिसामा जान लागेका उनलाई जापानको कुरुमी विश्वविद्यालयबाट पहिलो पत्र आयो । त्यसपछि थप १५ लाख पनि बनेपामा स्यांटिक इन्स्टिच्युटका सञ्चालक रमेश थापालाई बुझाए । थापाले एक/डेढ सातामै भिसा आउछ भनेका थिए । तर भिसा आउने दिन नआउॅदै उनी फरार भए । खड्काले जति प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । २०६९ मा १२ कक्षा पास भएपछि काठमाडौं गएका खड्काले नत माथिल्लो तह पढ्न सके न जापान जान नै सके ।

जापान जानका लागि गाउँबाट निकालेको १८ लाख ऋण मात्रै थपियो । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा बसोबास गर्ने उनी एक दशकपछि पनि पैसा असुलीका लागि तिनै शैक्षिक प्रमाणपत्र र जापान जानका लागि गरेको प्रक्रियाका कागजात बोकेर स्थानीय तह र प्रशासनिक निकाय धाइरहेका छन् । ‘तीन लाख त बनेपामै डेरा गरेर असुल भयो, तर त्यसपछि सम्पर्क नै हुन सकेन,’ खड्काले भने, ‘पैसा असुली गरिदिन आग्रह गर्दै प्रधानमन्त्री कार्यालयसम्म धाए, तर कतैबाट केही भएन ।’

अहिले उनी जापानको सपना छाडेर गाउँमै तरकारी खेतीमा लागेका छन् । कृष्णपुरमा आधा विघा जमिन छ । त्यसैबाट अलिअलि तरकारी र अन्न उत्पादन गरेर परिवारको गुजारा चलाइरहेका छन् । ‘घरपरिवारको गुजारा त यसरी चलाए, साहुको ऋण कसरी तिर्ने,’ उनले भने, ‘जमिन बेचेर पनि ऋण तिर्न सकिने अवस्था छैन ।’ २०७० मा स्यांटिक इन्स्टिच्युटका थापालाई पैसा दिएका उनले ०७३ सम्म पैसाका लागि धाए । एकपटक जेनतेन गरेर ३ लाख दिए पनि त्यसपछि भने कुटपिटको धम्की पाएपछि उनी घर फर्केका हुन् । जापान जाने प्रक्रिया र लाग्ने खर्चलगायत बारे केही जानकारी नभएका खड्काले साथीभाइको लहलहैमा लागेर पढाइ मात्रै बिगारेनन् । उनले ऋण काढेको पैसा समेत डुबाए । आफुसंग भएको सीप र क्षमता अनुसार मूल्यांकन गरेर मात्रै वैदेशिक रोजगारीमा जानुपर्ने उनी बताउछन् ।

वैदेशिक रोजगारीमा जाॅदा लाग्ने खर्च र पाउने सेवासुविधा बारे पनि जानकार हुनुपर्ने उनी बताउछन् । यो सबै बेवास्ता गर्दा स्वदेशमै फसिने उनको अनुभव छ । दुई वर्षअघि कामको खोजीमा भारतको बेङ्लौर पुगेका कृष्णपुर–३ बाणीका वासुदेव जोशीले होटलमा काम पाए । सुरुमा राम्रै थियो । वेटरको काम गर्ने उनी मासिक १५ हजार कमाउथे । एक वर्ष काम गरेपछि उनलाई होटेल म्यानेजरले कुटपिट गर्न थाल्यो । अन्तिममा दुई महिनाको तलब नदिएरै धपायो । ‘लकडाउनको बेला होटलबाट धपायो,’ जोशीले भने, ‘दुई महिनाको तलब पनि दिएन, सँगै काम गर्नेहरूबाट समेत कुटपिट गर्‍यो ।’ सुरुमा भारत उत्तराखण्डको लोहाघाटमा काम गरेका उनी त्यसपछि दिल्ली गएका थिए । दिल्लीमा ९ महिना काम गरेपछि बेङ्लौर पुगेका हुन् ।

पारिवारिक अवस्था कमजोर भएका कारण पढाइ छाडेर कामको खोजीमा गएका जोशी यतिबेला घरमै बेरोजगार बसेका छन् । ‘अब भारत जादैन, गाउँमै केही गर्ने योजना छ,’ उनले भने, ‘कोरोना संक्रमण कम भएपछि सानोतिनो पसल चलाउॅछु ।’ वैदेशिक रोजगारीका लागि भारत तथा तेस्रो मुलुक जानेहरूमध्ये कोही जानुभन्दा अगाडी नै ठगिन्छन् भने कोही कामदारस्थलमै ठगिन्छन् । उनीहरू विदेश जाने प्रक्रियाका बारेमा पर्याप्त जानकारी नलिने र रोजगारस्थलमा पनि सबैथोकको जानकारी नहुॅदा ठगिने गरेको पाइन्छ ।

प्रकाशित : भाद्र २८, २०७८ १०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×