कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जग्गा बेच्न नदीको धारै परिवर्तन !

भूषण यादव

वीरगन्ज — हुलाकी सडकसँग जग्गा जोड्न नदीको धार नै परिवर्तन गर्न प्रयोग भएका ३ वटा एक्स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको विन्दवासिनी गाउँपालिका–२ बहुअर्वाभाठामा जग्गा कारोबारीले ढंगई नदीको धारपरिवर्तन गर्न शनिबार बिहान ३ वटा एक्स्काभेटर प्रयोग गरिरहेका थिए ।

जग्गा बेच्न नदीको धारै परिवर्तन !

करिब २ किलोमिटर उत्तर पश्चिम हुँदै दक्षिणतर्फ बग्ने ढंगई नदीलाई ५० मिटर मात्र पश्चिम बग्ने बनाई दक्षिणतिर मोडिएको थियो । जहाँ विगतमा दुई किलोमिटर नदी घुमेर आउने गरेको थियो । नदीको बहाव परिवर्तनपछि १२ बिघा जग्गाको मोहडा हुलाकी सडकसँग जोडिन्छ । स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय पोखरियाले ती एक्स्काभेटर र चालकलाई नियन्त्रणमा लिएको हो ।

गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु (मोदी) ले नदीको बहाव परिवर्तन गरी सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई प्रहरीले स्पटबाटै नियन्त्रणमा लिएको पुष्टि गरे । ‘जग्गा कारोबारीले आफ्नै खर्चमा नदीको बहावलाई पुरानै अवस्थामा फर्काउनुपर्छ,’ उनले भने, ‘अबदेखि सार्वजनिक जग्गा अतिक्रमण नगर्ने लिखित प्रतिबद्धतासमेत गर्नुपर्छ ।’

जग्गा कारोबारीले नदीको पुरानो धार पुर्नका लागि नदी किनारमा टिपरले माटो थुपारेका थिए । शनिबार बिहान एक्स्काभेटर लगाई त्यही माटो नदीमा पुरिरहेका थिए । स्थानीय विकास साहका अनुसार २०७७ साउन २५ मा पनि नदीको बहाव परिवर्तन गर्न उनीहरूले प्रयास गरेका थिए । तर गाउँलेले विरोध जनाएका थिए । ‘नदीको पुरानै बहाव कायम गर्नुपर्ने हाम्रो माग थियो,’ उनले भने, ‘चौतर्फी विरोध भएपछि गाउँपालिका अध्यक्षले भदौ पहिलो साता आफ्नै अगुवाइमा डोजर लगेर नदीमा पुरिएको माटो काट्न लगाएका थिए । त्यसपछि नदी फेरि पुरानै धारमा फर्किएको थियो ।’

दुई महिनाअघि मात्रै फेरि जग्गा कारोबारीले बाँध बाँधेर नदीको बहाव परिवर्तन गरिदिएका थिए । ‘उत्तर, पश्चिम र दक्षिण हुँदै करिब २ किलोमिटर बगेर आउने नदीको पुरानो बहाव परिवर्तन गरिएको छ,’ बहुअर्वाभाठा निवासी कृष्णराज ठाकुरले भने, ‘जग्गा सडकसँग जोड्न कारोबारीले नदीको बहाव दोस्रो पटक परिवर्तन गरेपछि गाउँपालिका मौन बसेको छ ।’ बहाव परिवर्तन भएपछि करिब ५ सय बिघा खेतमा सिँचाइको समस्या हुने ठाकुर बताउँछन् ।

‘विगतमा बहुअर्वा र गर्दौलका खेतहरूमा नदीकै पानीले सिँचाइ गरिन्थ्यो,’ उनले भने, ‘नदीछेउमा मसान घाटसमेत थियो, अब अन्तिम संस्कारसमेत प्रभावित भएको छ ।’ वीरगन्जको सिर्सिया खल्वाटोला निवासी जग्गाधनी रामनारायण ठाकुरले उद्योग स्थापना गर्ने उद्देश्यले नदीको बहाव परिवर्तन गर्न खोजेको स्रोत बताउँछ । ‘विभिन्न व्यक्तिको जग्गा खरिद गरी उनले करिब १२ बिघाको प्लट बनाएका छन्,’ स्रोत भन्छ, ‘नदीको बहाव परिवर्तन गरेपछि जग्गा सडकसँग जोडिन्छ, खेतको मूल्यमा खरिद गरिएको जग्गा महँगो मूल्यमा उद्योग स्थापना गर्ने उद्योगीलाई बिक्री गर्ने योजना उनको छ ।’

गत आर्थिक वर्षमा ढंगई नदीको बहावलाई पुरानै अवस्थामा राख्ने भनेर बिन्दवासिनी गाउँपालिकाको बोर्ड बैठकले निर्णय नै गरेको थियो । जग्गा कारोबारीले धार परिवर्तन गरेको ठाउँमा जाली र बोल्डरसहितको संरचना निर्माणका लागि ५ लाख रुपैयाँसमेत विनियोजन भएको थियो । तर आर्थिक वर्ष सकिए पनि उक्त रकम खर्च हुन सकेन । गाउँपालिका अध्यक्ष कानुले ढंगई नदीको बहाव साविक अवस्थामै फर्काउने बताए ।

प्रकाशित : भाद्र २८, २०७८ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?