१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वीरगन्ज नाकाबाट बढ्दै अवैध आयात

भारतसँगको खुला नाकाको फाइदा उठाएर व्यापारीले तस्करीमार्फत सामान ल्याएर वीरगन्जबाट बिलबिजक जारी गरी नारायणगढ, पोखरालगायत सहरमा सामान पठाइने दाबी
भूषण यादव

वीरगन्ज — आयात गरिएका सामानको स्रोत देखाउन नसकेपछि वीरगन्जको जया एन्ड जिया इम्पेक्सलाई राजस्व अनुसन्धान कार्यालय पथलैयाले भदौ पहिलो साता ४२ लाख रुपैयाँ जरिवाना गर्‍यो । साउन २३ मा वीरगन्जबाट धाराका सामान ट्रकमा लोड गरेर काठमाडौँ लैजाने क्रममा प्रहरीलाई शंका लागेपछि नियन्त्रणमा लिई अनुसन्धान गर्न राजस्व कार्यालय पठाएको थियो । 

वीरगन्ज नाकाबाट बढ्दै अवैध आयात

राजस्व कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टंकप्रसाद पाण्डेयका अनुसार जया एण्ड जियाले आयातित वस्तुको स्रोत देखाउन नसकेपछि जरिवाना असुल गरि थप अनुसन्धान अगाडी बढाइएको छ । ‘राजस्व छलीका वस्तु बोकेको शंका लागेपछि प्रहरीले उक्त फर्मको सामान लोड भएको ट्रक राजस्व कार्यालयमा बुझाएको थियो,’ उनले भने, ‘जया एन्ड जियाले सामानको कागजात पेश गर्न नसकेपछि ४२ लाख रुपैयाँ जरिवाना गरिएको छ, अनुसन्धान जारी छ ।’

वीरगन्ज भन्सार कार्यालयसँग फर्मको आयात सम्बन्धी कागजात मगाइएको उनले बताए । भन्सार कार्यालयले समेत उक्त फर्मलाई कारवाही गरेको छ । आयातीत वस्तुको मूल्य ढाँटेको पाइएपछि साढे १० लाख रुपैयाँ जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जनाए ।

भदौ २० गते राति साढे ९ बजेको समयमा वीरगन्ज महानगरपालिका–१४ गण्डकबाट प्रहरीले चितवन जाँदै गरेको ना.३.ख ५१६५ र ना.३.ख ५५२५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा ७ महिना पुरानो मितिको प्रज्ञापनपत्र फेला पर्‍यो । पर्साका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेका अनुसार एउटा ट्रकमा २०७७ माघ २२ र अर्को ट्रकमा साउन २२ को प्रज्ञापनपत्र फेला परेको थियो । सामानको बिलबिजक चाहिँ भदौ १८ र भदौ १९ मा काटिएको थियो । ट्रकमा कपडा, मोटर पार्ट्स, इलेक्ट्रोनिक्स आइटम लोड भएका थिए । दुबै गाडीमा प्रज्ञापन पत्र र बिलबिजकको मितिमा धेरै फरक देखिएकाले भन्सार राजस्व छलीका वस्तु पुरानो मितिको प्रज्ञापनपत्रमा पठाउन लागिएको आशंकामा ट्रक नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको एसपी पाण्डेले जनाए ।

यसैगरि, भदौ २३ मा वाराको इलाका प्रहरी कार्यालय अमलेखगन्जले इट्टा बोकेको ना.५.ख ८८४६ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा त्यसमा १५ लाख मूल्य बराबरको ९ पोका कपडा बरामद गर्‍यो । काठमाडौंका लागि कलैयाबाट इँट्टा बोकेको ट्रकले वीरगन्जको आदर्शनगर क्षेत्रबाट कपडा पनि लोड गरेको सूचना आएको आधारमा बुधबार विहान ३ बजे अमलेखगन्जमा नियन्त्रणमा लिइएको चौकी इर्न्जाच सई सागरशमशेर राणाले जनाए । ‘९ पोका कपडाका कुनै कागजात फेला परेन,’ उनले भने ।

माथिका यी प्रतिनिधिमूलक घटना मात्र हुन् । पछिल्लो समय वीरगन्ज र आसपासका क्षेत्रबाट अवैध कारोबार फस्टाएको छ । कारोबारीका अनुसार भारतबाट न्यून बिजकीकरण र भन्सार राजस्व छली भित्रिएका वस्तु वीरगन्ज ल्याएर नारायणगढ, पोखरालगायत सहरमा पठाउने गरिएको छ । ‘अवैध रूपले वीरगन्ज भित्रिएका वस्तुको बिलबिजक काटेर सपोर्टिङमा पुरानो प्रज्ञापनपत्र राखेर विभिन्न सहर पठाउन थालिएको छ,’ आदर्शनगरका एक कारोबारीले भने ।

उनका अनुसार अहिले भिसिटिएस सिस्टममा समेत व्यापारीले फर्जी इन्ट्री गरी अवैध सामान पठाउन थालेका छन् । ‘अनलाइन सिस्टिममा इन्ट्री गर्दा एकलाखको सामान छ भने एउटा सुन्ना (जिरो) मात्र हटाइयो भने त्यो सामानको मूल्य १० हजार रुपैयाँमा झर्छ,’ उनले भने, ‘व्यापारीसँग ९० हजार रुपैयाँको स्टक बाँकी रह्न जान्छ । यसरी बाँकी रहेको स्टकमा राजस्व छली भित्रिएका वस्तु पठाइन्छ ।’ भारतसँगको खुल्ला बोर्डरको फाइदा उठाएर व्यापारीले तस्करीमार्फत सामान ल्याएर वीरगन्जबाट बिलबिजक जारी गरि सामान पठाउने गरेका छन् ।

राजस्व अनुसन्धान कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा राजस्व चुहावट शीर्षकमा १ अर्ब १४ करोड ७३ लाख रुपैयाँ बिगो कायम गरि १२ वटा मुद्दा दर्ता गरिएको छ । आव ०७६/७७ मा १० वटा मुद्दामा ५९ करोड ५५ लाख रुपैयाँ बिगो कायम भएको थियो । भीसीटीएस अनुगमनबाट ३ करोड चार लाख रुपैयाँ जरिवाना गरिएको छ । राजस्व कार्यालयका प्रमुख अनुसन्धान अधिकृत टंकप्रसाद पाण्डेयले राजस्व चुहावटतर्फ आयातीत वस्तु, आन्तरिक उत्पादन तर्फका वस्तु, सुन चोरी पैठारी रहेको बताए । व्यापारीहरूले भन्सार राजस्व छल्न वस्तुको न्यून बिजकीकरण गर्ने गरेको उनले जनाए । ‘कुनै पनि वस्तुको जति मूल्य हो, त्यो मूल्य भन्सारमा घोषणा गर्नुपर्छ,’ पाण्डेयले भने, ‘तर, कतिपय अवस्थामा व्यापारीहरूले भन्सार राजस्व छली न्यून मूल्य घोषणा गर्छन् ।’

आयातमा न्यून बिजकीकरणका जोखिमका क्षेत्रमा मोटर पार्टस, कपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स आइटममा बढी न्युनबिजकीकरण हुने गरेको उनले अनुभव सुनाए । भारतबाट लोकल पैठारी भई आएका वस्तुको घोषणा समेत फरकफरक हुन्छ । ‘व्यापारीले भारतीय कस्टममा इन्ट्री गरेका वस्तुको विवरण हाम्रो भन्सारमा लिंक गरिएको छैन,’ सम्बद्ध स्रोतले भन्यो, ‘यसले गर्दा लोकल पैठारीमा रक्सौल कस्टममा गरिएको इन्ट्री र वीरगन्ज भन्सारको इन्ट्री फरक–फरक हुने गरेको छ ।

प्रकाशित : भाद्र २७, २०७८ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?