कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कुहिएको दाल फेरि कोल्डस्टोरमै

एक जना पक्राउ, ८० क्विन्टल दाल बरामद
लक्ष्मी साह

बारा — कुहिएको दाल बिक्री गर्न लगेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनका साथबाट ८० क्विन्टल दालसमेत बरामद गरिएको छ । पचरौता नगरपालिका–४ बेल्दारी गाउँबाट कलैयाको ‘यादव कोल्ड स्टोर’ लगिँदै गरेको दाल रामनगरबाट बरामद गरिएको हो । 

कुहिएको दाल फेरि कोल्डस्टोरमै

‘कुहिएको दाल कुन प्रयोजनले लगिँदै थियो भन्ने विषय शंकास्पद भएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ,’ प्रहरी निरीक्षक दीपक सुवेदीले भने, ‘बिक्री गर्ने उद्देश्यले यादव कोल्ड स्टोरमा भण्डारण गरिएको दाल एक वर्षअघि लगिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

दाल लोड गरिएको ना२त ७५२५ नम्बरको ट्याक्टरसहित पचरौता–५ बेल्दारी गाउँकै चालक पन्नालाल महतोलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । ‘ट्याक्टरधनी भने चालककै गाउँका इनरदेव राय यादव हो,’ उनले भने, ‘पचरौता–४ बेल्दारीकै ओमप्रकाश यादवले कुहिएको दाल कलैया लग्दै गरेको अवस्थामा बरामद गरिएको हो । विक्री नभएपछि कोल्डस्टोरबाट ल्याइएको दाल पुन: कोल्डस्टोरमै फिर्ता लगिँदै गरेको पाइएको छ । ’

दाल कोल्डस्टोरमा फिर्ता लैजान पचरौता–४ बेल्दारीका वडाध्यक्ष कन्हैया यादवले सिफारिस गरेका छन् । ओमप्रकाशले आफ्नो घरको दाल भन्दै कोल्ड स्टोरमा राख्न वडाबाट सिफारिस मागेकाले दिएको उनले बताए ।

‘जस्तो बेहोराको निवेदन आयो, त्यस्तै बेहोराको बिहीबार सिफारिस गरिदिएको थिएँ,’ उनले भने, ‘मलाई थप जानकारी भएन । अनुसन्धान हुनुपर्छ ।’ बजारमा अहिले रहरको दाल प्रति केजी १ सय ७५ रुपैयाँ पर्छ । यो दरमा बरामद दालको कुल मूल्य १४ लाख पर्न आउँछ ।

तीन–चार वर्षदेखि घरमै भण्डार गरी राखिएको दाल लकडाउनले विक्री हुन नसकेपछि कोल्ड स्टोरमा राख्न लगिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको ओमप्रकाशले कान्तिपुरलाई बताए । ‘दाल कुहिएर गाईबस्तुलाई समेत खान नहुने अवस्थाको भएपछि कोल्डस्टोरमा राख्न लग्दै थियौँ । यो विषयमा अरू भन्न सक्दिनँ,’ उनले भने ।

गत वर्ष लकडाउनका बेला विपन्नलाई राहत बाँड्न कलैया उपमहानगरका मेयर राजेश राय यादवले आफ्नो कोल्ड स्टोरमा एक व्यापारीले लामो समयदेखि छाडेको दाल बिक्री गरेको पाइएको थियो । वडाध्यक्ष र व्यापारीसँगको मिलेमतोमा बाँडिएको उक्त दाल गुणस्तरहीन भएको भन्दै सर्वसाधारणले गुनासो गर्न थालेपछि स्थानीय प्रशासनले अनुसन्धान थालेको थियो । दाल अखाद्य भएको खाद्य तथा गुणस्तर कार्यालय हेटौंडाले पुष्टि गर्‍यो । त्यसलगत्तै स्थानीय प्रशासन र प्रहरीले कोल्डस्टोरमा ४ सय ५० (प्रतिबोरा ५० केजी) केजी दाल सिल गर्‍यो । उक्त प्रकरणमा प्रशासनले मेयर राजेशसहित १३ जनालाई हिरासतमा लिई कालोबजारीको मुद्दा चलायो ।

तर सिल लगाउनुअघि नै केही दाल लुकाइसकिएको थियो । त्यही लुकाइएको दाल ओमप्रकाशले कोल्डस्टोरबाट कम दरमा किनेर लगेको र विक्री नभएपछि अहिले कलैया फिर्ता पठाएको आशंका गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मुद्दा फाँटका अनुसार दालको मुद्दा फैसला नभई अहिले पेसीमा छ । दोषी ठहर भए अभियुक्तलाई नौ महिनासम्म कैद र २ लाखसम्म जरिवाना हुन सक्छ ।

उक्त मुद्दामा मेयर यादव र कोल्ड स्टोरमा दाल भण्डारण गर्ने व्यापारी तेजकरण शर्मालाई जनही २ लाख ८१ हजार, ९ जना वडाध्यक्षलाई जनही ६० हजार र अन्य दुई व्यापारीलाई जनही ७५ हजार धरौटीमा छाडिएको थियो ।

प्रकाशित : भाद्र २५, २०७८ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?