कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रशासनका फाँट चहार्दाचहार्दै हैरान

सन्तोष सिंह

धनुषा — जिल्ला प्रशासन कार्यालय धनुषाको नागरिकता फाँटका कर्मचारीले सेवाग्राहीलाई दिनभर हैरानी दिने गरेका छन् । नागरिकता लिन मात्रै चारपटक लाइनमा उभिनुपरेको सेवाग्राहीको गुनासो छ । कर्मचारीले झर्कोपर्को गर्ने र घूस नदिए कामै अड्काइदिने सेवाग्राहीको आरोप छ ।

प्रशासनका फाँट चहार्दाचहार्दै हैरान

वडा कार्यालयबाट सनाखत गराउने क्रममै झन्झटिलो प्रक्रियाले दिक्क सेवाग्राहीलाई जिल्ला प्रशासनले झन् वाक्क बनाउँछ । वडाको सिफारिस बोकेर जिल्ला प्रशासन पुग्ने सेवाग्राहीले अभिभावकसहित पुनः सनाखत गराउन लाइन लाग्नुपर्छ । सनाखतपछि तोक लगाउन अर्को झ्यालनिर लाम लाग्नुपर्छ । नागरिकतामा फोटो र छाप लगाउन फेरि तेस्रो झ्यालमा झुन्डिनुपर्छ । यतिमा मात्रै सेवाग्राहीको धपेडी सकिँदैन । स्रेस्ता मिलानका लागि अर्को एकाध घण्टा लाममै लाग्नुपर्छ । ‘एक जनाको नागरिकता लिन दिनभर तीन जनाले दौडधुप गर्नुपर्छ,’ जनकपुर–९ का विमल मण्डलले भने, ‘सबै प्रक्रिया पुर्‍याउँदासम्म कर्मचारीको रुखो व्यवहारले झन् बिझाउँछ ।’

धनुषामा नागरिकतासम्बन्धी काम गर्न जिल्ला प्रशासन कार्यालयमा एक सातासम्म लाइन लाग्नुपर्ने बाध्यता छ । प्रशासन कार्यालयमा बुधबार भेटिएका मुखियापट्टि मुसरनिया–६ वैरियाका ५० वर्षीय भजु यादव निराश देखिन्थे । छोरा अमरदीपको नागरिकता बनाउन दुई दिन लगातार जिल्ला प्रशासन धाएका यादव कर्मचारीको व्यवहारबाट दिक्दार मानेको बताए । ‘नागरिकताका लागि सबै प्रक्रिया पुरा गरेको छु,’ यादवले भने, ‘कर्मचारीले कागजात बुझाएको पहिलो दिन त तोक पनि लगाएनन् । घण्टौं लाइनमा बसेर कागजात बुझाएँ । पालो पर्खिंदै दिन बित्यो ।’ कर्मचारीलाई घूस दिनेले एकैछिनमा नागरिकता पाएका तर आफूले नदिँदा एक टेबुलबाट अर्को टेबुलमा पठाएर दुई दिन लगाइदिएको उनको आरोप छ ।

‘नागरिकता पाउनु युद्ध जित्नुजस्तै छ,’ यादवले भने, ‘सबै कागजात भएर पनि सर्जमिन गर्न लगाएर १५ दिनसम्म हैरानी दिइन्छ । वडा कार्यालय, जिल्ला प्रहरी हुँदै प्रशासनसम्म आउन १५ दिन लाग्छ ।’ मिथिला–८ का राममोहित यादवले पत्नी रितादेवीको नागरिकता बनाउन दुई दिन जिल्ला प्रशासनमा दिनभर लाइनमा उभिए । तर अन्त्यमा कागजातमा त्रुटि देखाएर नागरिकता नबन्ने भन्दै उनलाई कर्मचारीले फर्काइदिए ।

‘कर्मचारी त बोल्दै–बोल्दैन । बोल्यो भने झर्केर बोल्छन्,’ उनले भने, ‘कागजातमा एक दिन लाइन लागेर तोक लगाएँ । दोश्रो दिन नागरिकता पाउने बेलामा प्रक्रिया नै नपुगेको भने । यही कुरा पहिलो दिन नै भनेको भए के बिग्रिन्थ्यो ?’ जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा उमेशकुमार चौधरीलाई मंगलबार घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेपछि धनुषामा नागरिकता बनाउन कर्मचारीले हाकाहाकी घूस लिने गरेको खुलेको हो । चौधरी पक्राउ परेपछि प्रशासकीय अधिकृत कन्हैया मिश्रको समेत संलग्नता खुलेपछि बिहीबार पर्सा सरुवा गरियो ।

यसअघि पनि घूस प्रकरणमै मुछिएका मिश्रलाई जिल्ला प्रशासन धनुषाबाट हटाइएको थियो । मिश्रको कार्यशैलीमा प्रश्न उठेपछि उनलाई सरुवा भएकै ठाउँ पर्सा पठाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बाँस्तोलाले बताए । ‘नागरिकता बनाउन घूस लिने जनगुनासो आएपछि कर्मचारीको जिम्मेवारी हेरफेर गरी निगरानी बढाइएको छ,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालय धनुषामा नक्कली स्रेस्ता खडा गरी घरमै किर्ते नागरिकता बनाउने गिरोहलाई २०७५ मंसिर २७ गते पक्राउ गरी तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले प्रहरीमा बुझाएका थिए । जिल्ला प्रशासन धनुषाको नामबाट किर्ते नागरिकतालगायतका सरकारी प्रमाणपत्रहरू बनाउने, विदेशी नागरिकबाट मोटो रकम लिएर सरकारी छाप र कागजात किर्ते गरी नागरिकता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइँसराइलगायतका सरकारी प्रमाणपत्रहरू बनाउने जिल्ला प्रशासन कार्यालयका सहयोगी महावीर मण्डलसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित : भाद्र २५, २०७८ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?