१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बालमन्दिरको भवनमा निजी स्कुलको रजाइँ

मूल्यांकन नै नगरी सस्तो दरमा २७ वर्षलाई लिजमा दिइएको ९ वर्षपछि खुलासा
भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिका–१० स्थित बालमन्दिर भवनसहितको १० कट्ठा जग्गा कम मूल्यांकन गरी २७ वर्षका लागि लिज (भाडा) मा दिइएको पाइएको छ । जग्गा र भवनमा बोर्डिङ स्कुल सञ्चालनमा ल्याइएको छ । आर्थिक नियमावलीविपरीत मूल्यांकन नगराई नै जग्गा भाडामा दिइएको हो । पर्सामा बालमन्दिरको नाममा एक बिघा ५ कट्ठा १० धुर जग्गा छ । 

बालमन्दिरको भवनमा निजी स्कुलको रजाइँ

बाल संगठन पर्साका तत्कालीन अध्यक्ष अशोककुमार जयसवालको कार्यसमितिले २०६८ असार १० मा वीरगन्ज–१३ का संकल्प शाक्यलाई बालमन्दिरको जग्गामध्ये मुख्य भवनसहित १० कट्ठा जग्गा २७ वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो । निज संकल्प समितिकै सदस्य डा. दीपक शाक्यका छोरा हुन् । २०६८ असार २१ मा संगठनका तत्कालीन अध्यक्ष जयसवाल र संकल्पबीच भएको सम्झौता पत्रमा दुई वर्ष भवन निर्माण अवधिपश्चात् २५ वर्ष गरी जम्मा २७ वर्षको लागि बहालमा दिने उल्लेख छ ।

दुई पक्षबीच भएको सम्झौताअनुसार निर्माण अवधिमा प्रतिमहिना घर जग्गाको १६ हजार एक सय रुपैयाँ भाडा कायम गरिएको छ । सम्झौता भएको दुई वर्षपछि तीन वर्षका लागि प्रतिमहिना २१ हजार एक सय रुपैयाँ भाडा कायम गरिएको छ । त्यसको तीन वर्षपछि प्रत्येक तीन वर्षमा दिँदै आएको भाडामा १० प्रतिशतले वृद्धि गर्ने उल्लेख गरिएको छ । ‘दोस्रो पक्षले प्रथम पक्षलाई भाडा बुझाउँदा त्रैमासिक रूपमा पहिलो किस्ता वैशाख मसान्त र चौथो किस्ता माघ मसान्तमा बुझाउने र उक्त रकम प्रत्येक किस्ताको अग्रिम बुझाउनुपर्नेछ,’ सम्झौता पत्रमा भनिएको छ, ‘यदि अग्रिम नआएमा सुरु महिनाको अन्तसम्म भाडा नबुझाएमा जरिवाना स्वरूप १० प्रतिशत थप गरी बुझाउनुपर्नेछ । सम्झौता भएदेखिको नौ वर्षसम्म दोस्रो पक्षले भाडाबापतको रकम संगठनको खातामा दाखिला गरेको थिएन ।

बाल संगठन पर्साका अध्यक्ष रामकिशोर सिंहका अनुसार दोस्रो पक्षले सम्झौता भएपछिको झन्डै नौ वर्षसम्म भाडा नै बुझाएको थिएन । २०७७ असोजमा नेपाल बाल संगठन पर्साको कार्यसमितिमा आएको नयाँ नेतृत्वले भाडा बुझाउन ताकेता गर्न थालेपछि दोस्रो पक्षले तीन पटक गरी जम्मा १२ लाख ३० हजार रुपैयाँ संगठनको खातामा दाखिला गरेको छ ।

संगठनका सभापति सिंहले बालमन्दिरको भवन र जग्गा भाडामा लिएका संकल्पले सम्झौताबमोजिम भाडा तिर्न आनाकानी गरेपछि पटक–पटक पत्राचार गरिएको बताए । ‘सम्झौताअनुसार दोस्रो पक्षले हालसम्म बाल संगठनलाई एक करोड ३८ लाख २५ हजार ३ सय ५८ रुपैयाँ भाडाबापत बुझाइसक्नुपर्थ्यो,’ सभापति सिंहले भने, ‘तर, जम्मा १२ लाख ३० हजार रुपैयाँ मात्र खातामा जम्मा गरेको छ ।’ गत आइतबार पनि बाल संगठनले संकल्पलाई पत्र लेख्दै सम्झौताअनुसार भाडाको बाँकी रकम बुझाउन आग्रह गरेको छ । ‘संगठनले गरेको सम्झौताअनुसार भाडाको हिसाबसमेत पत्रसँगै पठाएका छौं,’ उनले भने, ‘त्यसमा केही फरक देखिए कारणसहित १५ दिनभित्र बाल संगठन पर्साको कार्यालयमा सम्पर्क गर्न जनाएका छौँ ।’ यसअघि २०७८ वैशाख ६ मा जिल्ला प्रशासन कार्यालय पर्सामा समेत बाल संगठनले बक्यौता भाडा असुलउपर गराइदिनका लागि निवेदन दर्ता गराएको थियो । तर, हालसम्म कुनै सुनुवाइ भएको छैन ।

नगरसभा गृहको छेउमै रहेको बालमन्दिर वीरगन्जको व्यापारिक क्षेत्र हो । त्यस क्षेत्रको जग्गाको मूल्य वीरगन्जको अन्य क्षेत्रभन्दा महँगोमा खरिद बिक्री हुन्छ । स्थानीयका अनुसार बालमन्दिर क्षेत्रमा धुरको २० लाखदेखि २५ लाख रुपैयाँ मूल्य छ । ‘नेपाल बाल संगठनको तत्कालीन कार्यसमितिले भाडामा दिनुअगाडि जग्गाको मूल्यांकन समेत गराएको छैन्,’ सभापति सिंह भन्छन्, ‘आर्थिक नियमावली बमोजिम मूल्यांकन गराउनुपर्ने थियो, बिनामूल्यांकन लामो समयका लागि सस्तो मूल्यमा लिजमा दिइएको छ ।

नेपाल बाल संगठनमा आर्थिक अभाव छ । संगठनका १० वटा बालगृह छन् । जसमा तीन सय ४४ जना बालबालिका आश्रित छन् । ‘संगठनको भवन र जग्गा सस्तो मूल्यमा भाडामा लिई निजी क्षेत्रले बोर्डिङ स्कुल चलाएका छन्,’ उनले भने, ‘हाम्रो बालगृहमा रहेका बालबालिकाको पालन पोषणमा जहिले आर्थिक अभावको समस्या देखिएको छ ।’ स्कुलले उपभोग गरेको विद्युत् महसुलसमेत बक्यौता रहेको सिंहले जनाए । बाल संगठनको पुरानो मिटर निकालेर फालिएको छ । पुरानो मिटरको २ लाख ४४ हजार र पौष्टिक आहारको मिटरको ५ लाख रुपैयाँ बक्यौता छ ।

भाडामा दिइएको बालमन्दिरको भवनमा बाल शिक्षालगायत कार्यक्रम सञ्चालन हुन्थे । खाली जग्गामा पोखरी थियो । सम्झौता भएपछि पोखरी पुरेर नयाँ भवन निर्माण गरि बोर्डिङ स्कुल सञ्चालनमा ल्याएको छ । ‘सरकारी सम्पत्तिमा निजी संस्थालाई भवन निर्माण गर्न दिने पक्षमा हामी २/३ जना सदस्य थिएनौं,’ नेपाल बाल संगठनका तत्कालीन एक सदस्यले भने, ‘पर्साका बालबालिकासँग यो अन्याय भएको छ । सम्झौता गरेको केही दिनमै हामीले समितिमा जान छाडेका थियौँ ।’ समितिका सदस्य रहेका व्यक्तिले आफ्नै छोरालाई सार्वजनिक सम्पत्ति लिजमा दिन नैतिकताले समेत दिँदैन ।

करार सम्झौता गरेका संकल्पका बुबा एवं बाल संगठनका तत्कालीन सदस्य डा.दीपक शाक्यले बालमन्दिरका नाममा खाता सञ्चालन भएको भोलिपल्ट नै भाडाबापतको रकम दाखिला गर्न थालिएको बताउँछन् । ‘स्कुलले भाडा दाखिला गर्न जाँदा खाता छैन भनियो,’ डा. शाक्यले भने, ‘नयाँ कार्यसमिति आएपछि खाता खोलेको भोलिपल्टदेखि नै भाडाको रकम जम्मा गरिएको छ ।’ आफैं समितिमा रहेको बेला छोराका नाममा बालमन्दिरको जग्गा र भवन २७ वर्षका लागि भाडामा दिने निर्णय गरिएको बारेमा डा. शाक्यले भने, ‘यो सम्झौता मैले मात्र गरेको हैन, नेपाल बाल संगठन केन्द्रीय कार्यालयको सहमति र कार्य समितिको निर्णयले सम्झौता भएको हो ।’ उनका अनुसार पोखरी पुर्न र पुरानो भवन मर्मतसम्भार गर्न १५ लाख रुपैयाँ खर्च भएको छ ।

नयाँ संरचना निर्माणमा करिब २ करोड रुपैयाँ दोस्रो पक्षको खर्च भएको उनको दाबी छ । २०६८ मा सम्झौता भए पनि २०७३ मा मात्र स्कुल सञ्चालनमा आएको उनले जनाए । ‘अहिलेको कार्यसमितिले कसरी एक करोड ३८ लाख रुपैयाँको हिसाब निकाले त्यो बुझ्न सकिएको छैन,’ उनले भने, ‘सम्झौताअनुसार हालसम्मको भाडाबापतको करिब २५ लाख रुपैयाँ हिसाब भएको छ ।’

प्रकाशित : भाद्र २३, २०७८ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?