कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मध्यरातमा पेस्तोल देखाएर लुटपाट

शिव पुरी

रौतहट — रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित मत्सरी गाउँमा सोमबार मध्यरातमा हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ । उक्त समूहले घरमूलीको नवजात शिशुको टाउकोमा पेस्तोल राखेर नगद तथा गरगहना लुटेको हो ।

मध्यरातमा पेस्तोल देखाएर लुटपाट

मत्सरीका सरोजानन्द झाको घरमा डाँका समूहले डेढ महिनाको शिशुको टाउकोमा पेस्तोल राखेर झण्डै एक घण्टासम्म बसेर नगद, सुन–चाँदीका गरगहना लुटेको पीडित मुकेश झाले बताए । मुकेश सरोजानन्दका माईला छोरा हुन् । मास्क लगाएर आएका हतियार समूहले मध्यरातमा झाको घरबाहिरबाट भर्‍याङ लगाएर भित्र पसेका थिए ।

पीडित मुकेशका अनुसार उक्त समूहले बुबाआमा सुतेको कोठालाई बाहिरबाट लक गरेका थिए । त्यसपछि भाउजुको कोठा खोलेर डेढ महिनाको बच्चाको टाउकोमा पेस्तोल राखेर दराज फुटाई बहुमूल्य समान लगेका थिए । सानो बच्चाको कन्चटमा पेस्तोल राखेपछि घरमूली लगायतका मानिस चुप बसे । केही बेरपछि झ्यालबाट गुहार मागेका थिए । छिमेकीहरु होहल्ला गर्नासाथ हतियारधारी समूह पछाडिको ढोकाबाट भाग्न सफल भयो । नजिक रहेको इलाका प्रहरी कार्यालय मत्सरीलेसमेत लुटपाटको पत्तो पाएन । जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी नारायणप्रसाद चिमोरियाले इलाकाको गस्ती टोली राति मत्सरी बजार क्षेत्रमा खटेको बताए ।

चोकबाट केहीभित्र घर भएकाले प्रहरीले चाल पाएन । बिहान घटनास्थल पुगेका डिएसपी चिमिरयाले सुक्ष्म तवरबाट अनुसन्धान भइरहेको र लुटपाटमा संलग्न चाँडै पक्राउ पर्ने बताए । प्रहरीका अनुसार हतियारधारी समूहले नगद,गरगहना गरी ४ लाख ६५ हजारको लुटेको छ । तर पीडित परिवारले १० लाख बढीको दाबी गरेका छन् ।

प्रकाशित : भाद्र २२, २०७८ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?