सडकमै बिस्कुन सुकाउँदा दुर्घटनाको जोखिम बढ्यो

सुनिता बराल

महोत्तरी — जिल्लामा पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्ग जोड्ने सहायक सडकमा बिस्कुन सुकाएको दृश्य अहिले सामान्यजस्तै छ । सडकमा असरल्ल बिस्कुन सुकाइँदा भित्री सडकमा दुर्घटनाको जोखिम बढेको छ ।

सडकमै बिस्कुन सुकाउँदा दुर्घटनाको जोखिम बढ्यो

बर्दिवास नगरपालिका–९ स्थित पशुपतिनगरको मोहन मार्गमा सवारीसाधन हिड्ने ठाउँ पनि नछोडी बिस्कुन सुकाउने गरिएको स्थानीय अमृत महतोले बताए । ‘जसका कारण सवारी दुर्घटना हुने जोखिम बढाएको छ,’ उनले भने ।

बर्दिवास–६, ७, ९ का भित्री सडकहरूमा पनि स्थानीयले धान, मकै, दाललगायतका अन्नबाली सुकाउँदा सडक अवरुद्ध बन्ने गरेको महतोले बताए । स्थानीयले पराल, गाईबस्तुलाई ओछ्याउने पतिङ्गर समेत सडकमै राख्छन् ।

सडकमा अन्नबाली नसुकाउन अनुरोध गर्दा पनि स्थानीय अटेरी गर्ने गरेको बताउँछन् वडा ९ का अध्यक्ष टेकवीर रखाल । ‘सुकाउने ठाउँ नभएकोले सडक प्रयोग गर्ने गरेको स्थानीयको भनाइ छ,’ उनले भने, ‘सडकमै बयलगाढा राख्ने, गाईबस्तु बाँध्ने गर्छन् ।’

जसका कारण ठूला सवारी साधन सञ्चालन हुन अप्ठेरो पर्ने गरेको छ । जनप्रतिनिधिका घरअगाडिकै सडक पनि स्थानीयले विस्कुन सुकाउन र गाईबस्तु बाँध्न प्रयोग गर्दै आएका छन् ।

प्रकाशित : भाद्र २२, २०७८ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?